Ad Area

धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा जोखिम बढ्दै


दाङ, २९ जेठ । धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रभाव र नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र हेल्थ टुडे मासिकको संयुक्त आयोजनामा आइतवार भएको हो ।

कार्यक्रममा सुर्तीजन्य बस्तुको प्रयोगले मानव स्वास्थ्यमा परिरहेको क्षति र असरबारे जानकारी गराउँदै सरोकारवालाको भूमिका कार्यान्वयनका पक्षमा छलफल गरिएको थियो । हेल्थ टुडेका अध्यक्ष पदमराज जोशीले विश्वमा ८० लाख मानिसको मृत्यु धुम्रपान सेवनका कारण हुने गरेको बताए । उनले पछिल्लो तथ्याङ्क अनुसार नेपालमा २७ हजार १ सय ३७ जना मानिसको नेपालमा वार्षिक मृत्युु हुने गरेको बताए ।

नसर्ने रोगको रुपमा बिकराल बन्दै गएको सुर्तीजन्य रोगका कारण ठूलो मात्रामा स्वास्थ्य, आर्थिक, सामाजिक क्षति हुने भएको हुँदा यसको नियन्त्रण गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने उनको भनाइ रहेको थियो । नियमनका लागि राज्यले सुर्तीजन्य बस्तुमा कर वृद्धिले मात्रै नपुग्ने भन्दै स्वास्थ्य सूचना र सचेतना निरन्तर प्रवाह गर्नुपर्ने तथा ऐन कानुन कडाइँका साथ लागू गर्नुपर्नेमा उनले जोड दिए ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले सार्वजनिक स्थलमा, सार्वजनिक या निजी सवारीमा, सुर्तीजन्य बस्तुको पकेट ७५ प्रतिशत सचेतना, सञ्चार माध्यममा प्रचार–प्रसारमा रोक प्रभावकारी बनाउन सके मात्रै धेरै सफलता मिल्ने बताए । ऐन कानुन परिपालनामा कडाइँ गर्ने, सचेतना फैलाउने, प्रयोगकर्ता स्वयंले व्यवहार परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए ।

आफ्नै जीवनसँग जोडिएको नसर्ने रोग अत्यन्तै जटिल बन्दै गएकाले सबै पक्ष गम्भीर बन्नुपर्ने बताउँदै नियमन गर्ने निकायले कडाइँका साथ कारबाही गर्नुपर्ने उनको भनाइ रहेको थियो । यसमा सबैको साथ सहयोग रहनुपर्ने प्रमुख शाहीले बताए । आफ्नो तथा परिवारको स्वास्थ्यका बारेमा सचेत बन्नुपर्ने समेत उनी बताउँछन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतमले सञ्चार माध्यमहरुले सचेतना जगाउने काम गरिरहेको बताइन् । नागरिकहरुलाई सचेत बनाउने अभियानमा सञ्चार माध्यमहरुको सधै सहयोग रहने उनको भनाइ रहेको थियो । अन्तरक्रिया कार्यक्रममा दाङमा सुर्तीजन्य बस्तुको प्रयोगले पारेको असर र देखा परेका समस्याका बारेमा छलफल भएको थियो । कार्यक्रमको सहजीकरण लोकराज भट्टले गरेका थिए ।

Blog Post Ad

Blog Post Ad Blog Post Ad