Ad Area

पर्यटकीय केन्द्र बन्दै कुलपानी


दाङ, २९  जेठ । पछिल्लो समय बढेको गर्मीका कारण जनजीवन प्रभावित भइरहेको बेला देउखुरीको कुलपानी हरित पार्कमा भने घुम्न जाने तथा पिक्निकका लागि जाने मानिसका कारण भीडभाड लाग्ने छ । पछिल्लो समय कुलपानी सामुदायिक वन क्षेत्र एउटा पर्यटकीय पखेराका रुपमा स्थापित हुन थालेको छ ।

पार्कमा बनेका घोडामा चढ्ने, गैडा, र बाघ, जरायो, मयुरसँगै फोटो खिच्ने काठको भ्युटावरमा चढेर वरिपरिको वातावरण नियाल्ने र गर्मीको समयमा डुङ्गामा चढेर पोखरी घुम्ने पर्यटकको भीढभाड हुने गरेको छ । जंगल क्षेत्रमा पर्ने धार्मिक एवं सिमसार क्षेत्र भएकाले घुमफिरसँगै केही समय गर्मी छल्ने र पर्यटकीय क्षेत्रमा रमाउनका लागि दिनहुँ सयौंको संख्यामा आन्तरिक पर्यटकका रुपमा मानिसहरु कुलपानी पुग्ने गरेका छन् ।

कुलपानीमा पर्यटकलाई तान्नका लागि काठको भ्युटार, देउखुरी क्षेत्रमा पहिले प्रयोग गरिने काठको लडिया, राप्ती नदीमा पुल नहुदा चलाएको डुङ्गा, काठको कोल, ढिकीलगायतका परम्परागत रुपमा मानिसले प्रयोग गरेका तर अहिले लोप हुने अवस्थामा रहेका सामग्रीलाई समेत हेर्नका लागि राखिएको छ । तर आर्थिक अभावका कारण व्यवस्थित गर्न नसकेको व्यवस्थापन समितिले जनाएको छ ।

पर्यटन प्रवद्र्धनका लागि स्थानीयसँगै डिभिजन वन कार्यालयलगायतका निकायबाट केही पूर्वाधार बिकास भएपछि कुनै समय सुनसान रहने देउखुरीको गढवा गाउँपालिका–१ बडहरामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्रमा भीडभाड लाग्ने गरेको हो । धार्मिक एवं सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा बिकास गर्नका लागि हरित पार्क निर्माणसँगै जलबिहार गर्नका लागि पोखरी निर्माण गरेर डुङ्गाको व्यवस्था गरेपछि कुलपानी देउखुरी क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा बिकास हुन थालेको कुलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवराज शर्माले बताएका छन् ।

अहिले १२ हेक्टर क्षेत्रमा फैलिएको धार्मिक एवं सिमसार क्षेत्रको बिकासका लागि प्रदेश पूर्वाधार प्राधिकरण कार्यालयले डिपिआर निर्माणको काम गरिरहेको छ । बाल उद्यान, पिक्निक स्पट, पोखरी व्यवस्थितसँगै तारबार गर्ने गरी डिपिआर निर्माणको काम भइरहेको उनले बताए ।
कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्माले स्थानीयलाई सहयोग गर्दै कुलपानीको बिकासमा सहयोग गर्ने बताए । त्यसका लागि स्थानीय समुदायले सहयोग गर्नुपर्न भन्दै उनले प्राकृतिक स्रोत र साधनको संरक्षणसँगै बिकास गर्नुपर्ने बताए ।

पर्यटनको बिकास गर्न सके आर्थिकरुपमा समृद्ध बनाउन सकिने बताए । उनले कुलपानीसँगै गाउँपालिका अन्य धेरै ठाउँहरु रहेको बताएका थिए । प्राकृतिक स्रोत र साधनको संरक्षण र पर्यटनका रुपले बिकास गर्न सकिने बताए । संविधानसभा सदस्य रश्मीराज नेपालीले सिमसार क्षेत्रको संरक्षण गर्दै कुलपानीलाई पर्यटन प्रबद्र्धनका रुपमा अघि बढाउन सकिने बताए ।

उनले अहिले भइरहेको कामले कुलपानीमा पर्यटन विकासका लागि परिवर्तनको सुत्रधारका काम भएको भन्दै यसले राम्रो सन्देश दिएको बताए । उनले सबैको सहयोगमा कुलपानीको विकास भएर अहिलेको अवस्थामा आइपुगेको भन्दै थप विकासका लागि स्थानीय र प्रदेश सरकारले सहयोग गर्न आवश्यक रहेको बताए ।

प्रदेश पूर्वाधार बिकास प्राधिकरणका इन्जिनियरले कुलपानीमा बाल उद्यान, पिक्निक स्पोर्टस् र धार्मिक तथा सिमसार क्षेत्रको संरक्षण गर्ने गरी डिपिआर निर्माणको काम भइरहेको बताए । उनले अहिले क्षेत्रलाई बढाएर करिब २० हेक्टर क्षेत्रमा पर्यापर्यटनको बिकासका लागि गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । कार्यक्रममा सामुदायिक वन महासंघका केन्द्रीय सदस्य बिष्णमाया घिमिरेले कुलपानीको सम्भावना रहे पनि सरकारी व्यवस्थाका पछि परेको बताइन् ।

नेपाल स्तम्भकार समाजको आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले धार्मिक तथा पर्यटकीय क्षेत्रको बिकासका लागि सबैको सहयोग आवश्यक रहेको बताएका थिए । कार्यक्रममा कुलपानी हरित पार्कमा विभिन्न जनावर तथा पंक्षीहरुको मूर्ति बनाएर कुलपानी धार्मिक तथा सिमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न महत्वपूर्ण योगदान पु¥याउने मुक्तिकार भीमबहादुर विश्वकर्मा र कुलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवराज शर्मालाई सम्मान गरिएको थियो ।

नेपाल स्तम्भकार समाज दाङका अध्यक्ष केबी मसालको अध्यक्षतामा भएको कार्यक्रममा स्तम्भकार समाज दाङका हरिप्रसाद पाण्डे, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, नागरिक समाज देउखुरीका संयोजक निमबहादुर थापा, नेपाल पत्रकार महासंघका प्रदेश परिषद् सदस्य महेश रिजाल, स्थानीय चित्र एमसी, शिक्षक रामसुरत यादव, भानु जोशीलगायतका वक्ताहरुले खोलाभन्दा ५ सय मिटर बाहिर राख्ने नियम छ । नेपाल स्तम्भकार समाजका सचिव नारायण भण्डारीको स्वागत मन्तव्य सुरु भएको कार्यक्रमको सहजीकरण डा. लोकराज पराजुलीले गरेका थिए ।