Ad Area

जिल्ला समन्वय समिति दाङका पदाधिकारीद्वारा सपथ ग्रहण


घोराही, ३० जेठ । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जिल्ला समन्वय समिति दाङमा निर्वाचित प्रमुख,उपप्रमुखलगायत सदस्यहरुले सपथ ग्रहण गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमवार घोराहीमा आयोजना गरेको प्रमाणपत्र हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित समन्वय समितिका प्रमुख,उपप्रमुखलगायतका सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण लिएका हुन ।

नवनिर्वाचित जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्मालाई मुख्य निर्वाचिन अधिकृत रितेन्द्र थापाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो भने प्रमुख शर्माले समितिका अन्य उपप्रमुख र सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

सपथ ग्रहण कार्यक्रममा बोल्दै प्रमुख शर्माले जिल्लाको समग्र विकासका लागि सबै स्थानीय तह, राजनीतिक दल, सरोकारवालासँग समन्वय गर्ने बताए । उनले विकास तथा परिवर्तनका लागि दलविशेष हेरिन नहुने भन्दै सवैको सहयोगले जिल्लाको विकास हुने बताए ।

जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख श्रीधर शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य निर्वाचित अधिकृत रितेन्द्र थापा र जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लामा देखिने जुनसुकै समस्या समाधानसँँगै जिल्लाको समग्र विकासका लागि जिल्ला समन्वय समितिको महत्वपूर्ण भूमिका हुने भन्दै त्यसका लागि नवनिर्वाचित प्रमुखलगायतको टिमले भूमिका खेल्नुपर्ने बताएका थिए ।

जिल्ला समन्वय समिति दाङको प्रमुखमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट कांग्रेसका शर्मासँगै उपप्रमुखमा कांग्रेसबाट चेतना चौधरी निर्वाचित भएका थिए । त्यसैगरी कांग्रेसबाट खुल्ला सदस्यमा कुलबहादुर बुढा, खुल्ला सदस्य हरिदेवी पोख्रेल, दलित महिला सदस्य सरस्वती नेपाली, महिला सदस्य जुनकुमारी बुढा र कल्पना शेर्पाइली, नेकपा माओवादी केन्द्रका तर्फबाट खुल्ला सदस्यमा टोपाराम चौधरी र दुर्पती चौधरी निर्विरोध निर्वाचित भएका थिए । कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समितिका इन्द्र डिसीले गरेका थिए ।

तस्वीर : नारायण नेपाल