Ad Area

ट्राफिक सचेतना फैलाउँदै दाङ महिला जेसीज


घाेराही, ८ असार । दाङ महिला जेसीजले जेसीज सप्ताह २०२२ को पाँचौं दिन आज सवारी चालक र यात्रुहरुलाई ट्राफिक सचेतना प्रदान गरेको छ।

जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरि ट्राफिक सचेतना प्रदान गरिएको हो ।

ट्राफिक सचेतना कार्यक्रमको प्रशिक्षकका रुपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक झबिन्द्र परियार रहनुभएको थियो । उहाँले बढ्दो शहरीकरणसँगै सवारी दुर्घटना बढि रहेकाले मानवीय तथा भौतिक क्षति कम गर्न र सभ्य समाज निर्माणका लागि ट्राफिक सचेतना अति आवश्यक रहेको बताउनुभयो । जसका लागि सडक अनुशासन पालना पहिलो प्राथमिकतामा राख्न सवारी चालक र यात्रुहरुलाई अनुरोध गर्नुभयो ।

निर्माणाधीन सडकका कारण दुर्घटनाको जोखिम धेरै बढेकाले अमुल्य मानव जीवन बचाउन ट्राफिक नियम पालना मेरो लागि हो भन्ने सोँचलाई व्यवहारमा उतार्न ढिलाई गर्न नहुने बताउनुभयो । उहाँले पैदल यात्रु दायाँ लेनबाट हिड्नुपर्ने, सवारी चालकले सडकको अवस्था, सवारी साधनमा यात्रुको चाप, समय सबै ख्याल गरेर सवारी चलाउनु पर्नेलगायत कुरामा विशेष ख्याल गर्न आग्रह गर्नुभयो ।

Blog Post Ad

जीवन रहेमात्रै घर परिवार आफन्त छन्, जीवननै नरहे सबै सकिन्छ भन्ने गहन सोँच राखेर आफु र अरुलाई बचाउँदै गन्तव्यमा पुग्न सकिने हुँदा ट्राफिक नियम पालनामा ध्यान दिन सहभागीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव उपरीक्षक रिजालले नियम सबै क्षेत्रमा अपरिहार्य भएकाले यो अरुका लागि नभई आफ्नो लागि हो भनेर बुझ्न आवश्यक रहेको बताउनुभयो । बढ्दो सवारी चापमा दुर्घटना स्वाभाविक रुपमा बढिरहेकाले सडक संस्कार स्थापित गर्न सबै पक्ष गम्भीर बन्नु पर्ने बेला आएको बताउनुभयो ।

एक सेकेन्डको कमजोरी वा लापरबाहीले अनाहकमा जनधनको क्षति हुने गरेको उदाहरण दिँदै ट्राफिक प्रहरीका लागि नियम मान्नुपर्छ भन्ने मान्यताले जनधनको क्षति बढेको उल्लेख गर्नुभयो ।

उहाँले चालकले सवारीसाधनको स्टेरिङ समात्दा सबैभन्दा पहिले परिवार र आफन्त सम्झेर सवारी चलाउन अपिल गर्नुभयो । मानिसलाई सचेतसँगै जिम्मेवार बनाउन यसप्रकारका सचेतनामुलक कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अटो चालक रत्नबहादुर पुनले सबै पक्षबाट ट्राफिक नियम पालना हुन नसक्दा समस्या बढेको अनुभव सुनाउनुभयो ।  चेतनाको कमि व्यापक मात्रै होईन, जाने बुझेकाले पनि सडक अनुशासन पालनामा लापरबाही गर्ने गरेको बताउनुभयो । कार्यक्रममा त्रिभुवननगर जेसीजका कार्यवाहक अध्यक्ष महेश गुप्ता, दाङ महिला जेसीजकी निवर्तमान अध्यक्ष ममता बिष्टलगायतले बोल्नुभएको थियो । ६० जना भन्दा बढी सहभागी कार्यक्रममा जेसीज सप्ताहकी मुल संयोजक बसन्ती सुवेदीले सप्ताहव्यापी कार्यक्रम बारे प्रकाश  पार्नुभएको थियो ।

कार्यक्रम संयोजक दीपा पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा आस्थापाठ सहसचिव संगिता रोकायले गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण महासचिव नारायणी भण्डारीले गर्नुभएको थियो ।

जेसीज सप्ताह अन्तर्गत पहिलो दिन उद्घाटनसँगै संस्थाको बारेमा विमर्श भएको थियो । दोश्रो दिन सर्फ बनाउने तालिम, तेश्रो दिन रक्तदान, चौथो दिन घोराही १७ चौघेरास्थित वैदिक गुरुकुलमा रहेका बालबालिकालाई सहयोग, आज ट्राफिक सचेतना कार्यक्रम गरिएको छ । अब भोलि छैठौं दिन घोराही १५ भरतपुर खेलमैदानमा स्लो स्कुटी रेस र अन्तिम दिन पर्सि अम्बिकेश्वरी मन्दिर सरसफाइसँगै जेसीज सप्ताह समापन कार्यक्रम रहेको छ ।

Blog Post Ad Blog Post Ad