Ad Area

बंगलाचुलीको नीति कार्यक्रम : स्वास्थ्य, शिक्षा र खानेपानीलाई प्राथमिकता


दाङ,१० असार । बंगलाचुली गाउँपालिकाले नयाँ आर्थिक वर्षको लागि नीति कार्यक्रम ल्याएको छ । गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनमगरले विहीवार नयाँ आर्थिक वर्ष २०७८÷०८० को लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएका हुन् । ‘सबै मिलीजुली, हामी बनाउँछौँ हाम्रो बंगलाचुली’ भन्ने मुख्य रणनीतिसहित कार्यक्रम ल्याएको पालिकाले जनाएको छ ।

पालिकाले स्वास्थ्य, शिक्षा पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम ल्याएको अध्यक्ष पुन मगरले वताए । प्रत्येक वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्र तथा आधारभूत स्वास्थ्य केन्द्रलाइ स्वास्थ्य इकाईलाई स्वास्थ्य चौकीका रुपमा विकसित गरिने, निःशुल्क उपलब्ध हुने अतिआवश्यक औषधिहरु स्वास्थ्य परीक्षण र आवश्यकताका आधारमा वितरण गरिने, अतिविपन्न तथा मजदूरहरुका लागि परिचय–पत्रका आधारमा निःशुल्क उपचारको ब्यवस्था मिलाइने उल्लेख छ ।

सरकारले अघि सारेको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरुपले अघि बढाउने र विपन्न घरधुरीलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने उल्लेख छ । वडास्तरमा नागरिकको आकस्मिक स्वास्थ्य सेवालाई ध्यानमा राखी सुत्केरी एम्बुलेन्स सेवालाई विस्तार गरिने, जनताको आधारभूत मौलिक हकको रुपमा रहको स्वास्थ्य सेवालाई सर्वसुलभ तथा गुणस्तरीय बनाई सबैको सहज पहुँच सुनिश्चित गरिने, बंगलाचुली अस्पताललाई विशेषज्ञ सहितको सेवा प्रवाह गर्ने अस्पतालको रुपमा विकास गर्न अस्पतालको क्षमता अभिवृद्धि गरी फार्मेसी सञ्चालनमा ल्याइनेछ छ ।

त्यसैगरेर आदर्श उद्यमी कार्यक्रम सञ्चालन गरिने, उद्योगहरुको स्थापना र सञ्चालनमा वातावरणीय प्रभाव मूल्यांकनलाई विशेष गरी ठूला उद्योगहरुलाई व्यवस्थित गरिने छ । ‘एक घर एक रोजगारी’ कार्यक्रम अगाडि बढाइने छ । रोजगारी सिर्जना गर्न स्वरोजगारमूलक काम सञ्चालन गर्ने उल्लेख छ ।

एक वडा, एक लघुउद्यम कार्यक्रम सञ्चालन गरिनेछ । उद्योग मैत्री वातावरण निर्माण गरी उद्योगलगायत उत्खनन् भइरहेका खानीहरुलाई व्यवस्थित गरिने छ ।

त्यसैगरेर कृषि क्षेत्रको प्रबर्धनका लागि ‘कृषिका लागि सहज रुपमा अनुदान र ऋण,बंगलाचुलीमा फेरिनेछन् अब किसानका दिन’ भन्ने नारा तय गरी निम्न नीति तथा कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाउने र कृषक परिचय–पत्र बनाई कृषि विमा र संघिय सरकारले अघि सारेको कृषक पेन्सन कार्यक्रमलाई प्रभावकारिताका साथ कार्वान्वयन गरिने छ ।

स्थानीय तहमा सार्वजनिक, सहकारी र निजी क्षेत्रको सहकार्यमा कृषि हाट बजार, कोशेली घरस्थापना तथा सञ्चालन गर्न प्रोत्साहित गरिनेछ । बाँझो छोडिएका खेतीयोग्य जमिनलाई विकास तथा उपयोग गर्न सामूहिकरुपमा कृषि उत्पादन गर्ने किसानहरुलाई प्रोत्साहन गरिने छ । गह्रो सुधार कार्यक्रम सञ्चालन गरिने छ ।

गाउँपालिका क्षेत्रभित्रका हरेक घर परिवारलाई उज्यालो कार्यक्रम मार्फत जोडिने छ । गाउँपालिकामा हालसम्म विद्युतीकरण हुन नसकेका स्थानमा आगामी ५ वर्षभित्र विद्युत विस्तार गरिने छ ।

गाउँपालिकाको भित्री सडकको रुपमा रहेको वडा नं. २ मर्पेस खाडा–पुरुङछेडा–फाँटा–बागी–काभ्रे–पन्त टोल–श्रीवारी–दाङबाङ–भुटनेटा हुँदै मुकुर्टी–घरीचौर–लाहापे–कोरइराले–विर्खे– बगरखुट्टी–ठुलोगैरा–झुन्डी–सालबास–हाँसीपुर–मुलाबारी–गहतेरा–जौँलेवाद ( बंगलाचुली गाउँपालिको रिङ रोड) जोडने सडकलाई गाउँपालिकाको गौरवको योजनाका रुपमा विकास गरी नियमित गरिने र हालसम्म पनि सडक पुगेका र पुग्न नसकेका वडाहरुमा प्राथमिकताका साथ स्तरीय सडक निर्माण गरिने छ ।