Ad Area

राप्ती बाहेक दाङको ९ वटा पालिकाको बजेट ८ अर्व ८१ करोड बढी


घोराही, १० असार । दाङको राप्ती गाउँपालिका बाहेक ९ वटा पालिकाले आगामी आर्थिक वर्षको ८ अर्व ८१ करोड ३२ लाख ३७ हजार ३ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् ।

केही पालिकाले दिउँसो नै बजेट सार्वजनिक गरिरहेका छन् भने राप्ती गाउँपालिकामा कार्यपालिका सदस्यहरुले आफ्नो वडामा योजना अनुसारको बजेट नपरेको भन्दै असन्तुष्टि जनाएपछि सहमति जुटाउन समय लागेकाले शुक्रबार अबेरसम्म बजेट आउन सकेको छैन ।

जिल्लाको घोराही, तुलसीपुर, लमही, बबई, राजपुर, बंगलाचुली, गढवा, शान्तिनगर र दंगीशरण गाउँपालिकाले बजेट सार्वजनिक गरी सक्दा राप्ती गाउँपालिकाको कार्यपालिका बैठकमा भएको ढिलाईले शुक्रबार अबेरसम्म बजेट वक्तव्य हुन सकेको थिएन । संविधानमा व्यवस्था भए अनुसार असार १० गतेसम्ममा स्थानीय तहले बजेट सार्वजनिक गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ ।

दुई उपमहानगर, १ नगर र ७ गाउँपालिका रहेको दाङमा आर्थिक वर्ष २०७७–०७८ कै हाराहारीमा बजेट सार्वजनिक भएको छ । केही पालिकाले यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गरेर दफावार छलफलपछि बजेट ल्याएका छन् भने केही पालिकामा शुक्रबार नै नीति तथा कार्यक्रम र बजेट ल्याउँदा खोज्दा निर्धारित समयभन्दा ढिलो हुन पुगेको छ । राप्ती गाउँपालिकाको केही वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले बजेटका विषयमा असन्तुष्टि पोखेपछि कार्यपालिका बैठकमा सहमति जुटाउन अबेरसम्म बैठक जारी रह्यो ।

उता, जिल्लाको घोराही उपमहानगरपालिकाले बजेटको आकार सबैभन्दा धेरै प्रस्तुत गरेको छ । घोराहीमा यस पटक २ अर्व ३२ करोडको बजेट सार्वजनिक भएको छ । उपप्रमुख हुमा डिसीले चालू तर्फ १ अर्ब २५ करोड ४० लाख ८१ हजार र पूँजीगत तर्फ १ अर्ब ७ करोड ४९ लाख १० हजार गरी २ अर्व ३२ करोड ९० लाख ९१ हजारकोे बजेट प्रस्तुत गर्नुभएको हो ।

यस्तै उता तुलसीपुर उपमहानगरपालिकाले यस वर्ष बजेटको आकार उल्लेख्य रुपमा घटाएर सार्वजनिक गरेको छ । उपप्रमुख स्यानी चौधरीले १ अर्व ८६ करोड ४७ लाख ७९ हजार बजेट सार्वजनिक गर्नुभयो । उपप्रमुख चौधरीले आन्तरिकतर्फ ४४ करोड ६२ लाख, संघिय सरकार अनुदानतर्फ १ अर्व २२ करोड ९८ लाख ३ हजार, प्रदेश सरकार अनुदानतर्फ १० करोड २७ लाख ७६ हजार र अन्य संस्था अनुदन÷ऋणतर्फ ८ करोड ६० लाख गरी १ अर्व ८६ करोड ४७ लाख ७९ हजार बजेट प्रस्तुत गर्नुभएको छ । तुलसीपुर उपमहानगरले यसअघि ३ अर्व बढीको बजेट ल्याएको थियो ।

Blog Post Ad

यस्तै उता लमही नगरपालिकाले आगामी आर्थिक बर्षका लागी एक अर्ब ३९ करोड ८१ लाख १८ हजारको बजेट ल्याएको छ । नगर सभाको बैठकमा उपप्रमुख लक्ष्मी योगीले शाखागत र वडागत रुपमा बजेट विनियोजन गरेको छ । गत बर्षको तुलनामा यसपटक २७ करोड ३१ लख १८ हजारले बजेटको आकार बढेको छ । नगरपालिकाले सबैभन्दा बढी पूर्वाधार क्षेत्रमा बजेट विनियोजन गरेको छ ।

पूर्वाधार विकास शाखामा २३ करोड ७६ लाख, शिक्षा तथा खेलकुद शाखाको लागी ५ करोड ९३ लाख, स्वास्थ्य शाखाको लागी दुई करोड ८० लाख, कृषि विकास शाखामा दुई करोड, लमही अस्पतालको लागी ३ करोड ७० लाख, पर्यटन प्रबद्र्धन तर्फ एक करोड बजेट विनियोजन गरिएको छ । वडा कार्यालयहरुको लागी प्रति वडा कार्यालय एक करोड १० लाखको दरले ९ करोड ९० लाख, वातावारण सरसफाई तथा विपद् व्यवस्थापनको लागी एक करोड, पशु सेवा शाखाको लागी दुई करोड, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको लागी दुई करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै राजपुर गाउँपालिकाले आगामी आर्थिक बर्षको लागी ५३ करोड २० लाख ७१ हजारको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष धनपती यादवले गाउँसभाको बैठकमा चालुतर्फ ३३ करोड ६० लाख ३१ हजार र पूँजिगततर्फ १९ करोड ६० लाख ४० हजार सार्वजनिक गर्नुभएको छ ।

आर्थिक विकास तर्फ ३ करोड ४५ लाख ३२ हजार बजेट विनियोजन गरिएको छ । जस अन्तरगत कृषि, पशु सेवा, सिचाइ, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणको लागी ३ करोड १ लाख ६७ हजार, उद्योग पर्यटन प्रवर्धन, लघुउद्यम विकास तथा बजार व्यवस्थापन तर्फ ४३ लाख ६५ हजार बजेट विनियोजन गरिएको छ । सामाजिक विकास तर्फ २० करोड ४० लाख ७५ हजार बजेट अन्तरगत यूवा तथा खेलकूदमा १६ लाख, शिक्षामा १४ करोड ५९ लाख, स्वास्थ्यमा ३ करोड ५५ लाख ७५ हजार, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण ९० लाख २० हजार, भाषा तथा संस्कृति ५ लाख, खानेपानी तथा सरसफाइ तर्फ १ करोड १४ लाख ८० हजार बजेट विनियोजन गरिएको छ ।

यस्तै बबई गाउँपालिकाले पचास करोड बढीको बजेट सार्बजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष बमकुमारी खड्काले ११ औँ गाउँसभामा ५० करोड ६५ लाख ४३ हजार बराबरको बजेट सार्बजनिक गर्नुभएको हो ।

सार्बजनिक गरिएको बजेट अनुसार ७ करोड ८६ लाख ५० हजार चालु खर्च, २० करोड ४२ लाख ९३ हजार पुजीगत खर्च छुट्याइएको छ । यस्तै शसर्त अनुदान तर्फ १९ करोड २६ लाख, बिशेष अनुदान तर्फ १ करोड ६० लाख, समपुरक अनुदान तर्फ १ करोड ५० लाख बजेट ब्यबस्था गरिएको छ ।

उता, बंगलाचुली गाउँपालिकाले पनि ६३ करोड ५५ लाख २० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष भक्तबहादुर जिसीले शुक्रबार अपरान्ह गाउँसभामार्फत पालिकाको बजेट सार्वजनिक गर्नुभएको छ ।

यस्तै, गढवा गाउपालिकाको एघारौं गाउँ सभामा गाउपालिका उपाध्यक्ष शारदा चौधरीले कुल ६३ करोड ७९ लाख १० हजार रुपैयाँ बराबर बजेट प्रस्तुत गर्नुभएको छ । आर्थिक वर्ष २०७९÷०८० को लागि चालु तर्फ ३१ करोड ६५ लाख ७६ हजार र पूँजिगत तर्फ ३१ करोड ७९ लाख ३४ हजारको बजेट गाउँसभामार्फत सार्वजनिक गर्नुभएको हो ।

यस्तै, शान्तिनगर गाउँपालिकाले ५० करोड ९७ लाख ४८ हजार बराबारको अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँसभामार्फत गाउँपालिका उपाध्यक्ष प्रेमा कुमारी बुढाथोकीले आगामी आथिएक वर्षका लागि अनुमानित बजेट सार्वजनिक गर्नुभयो । उहाँका अनुसार शान्तिनगरमा चालु तर्फ ३१ करोड ६६ लाख ६८ हजार र पूँजीगत तर्फ १९ करोड ३१ लाख रुपैयाँका बजेट सार्वजनिक भएको छ । सो पालिकाले शुक्रबार नै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।

उता, दंगीशरण गाउँपालिकाले पनि शुक्रबार नै नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष पीमाकुमारी खड्काले गाउँसभामार्फत ४६ करोड ९४ लाख ३९ हजार ३ सय रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गर्नुभयो । दंगीशरण गाउँपालिकाका केही वडाले वडाको योजना पेश गर्न नसक्दा समग्र बजेटको पूँजीगत र चालु खर्चको बजेट विनियोजनमा प्रतिशतको दरमा अनुमानित बजेट ल्याइएको छ । पूँजीगत खर्च ७० प्रतिशत र चालु खर्च ३० प्रतिशतको आधारमा रही बजेटको आकार बनाइएको उपाध्यक्ष खड्काले बताउनुभयो ।

पालिकाले प्रशासनिक खर्चका लागि ७ करोड ६५ लाख ३१ हजार विनियोजन गरेको छ भने वडाहरुका हकमा ६५ लाखको सिलिङ तोकेको छ । दाङका १० वटै पालिकाले आर्थिक वर्ष २०७७–०७८ मा १० अर्ब ४९ करोड ६० लाख ५४ हजार २ सय ५३ रुपैयाँको बजेट ल्याएका थिए । जसमा सबै भन्दा बढी बजेट तुलसीपुर उपमहानगरपालिकाले विनियोजन गरेको थियो ।

Blog Post Ad Blog Post Ad