Ad Area

राष्ट्रिय धान दिवस : किसानलाई मलकै समस्या


दाङ, १५ असार । आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससँगै रोपाइँ जात्राका रुपमा मनाउने गरिन्छ । यो दिन खेतमा धान रोपाइँसँगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने प्रचलन समेत छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ ।

खेतीपाती बाहेक अन्य पेशा र व्यवसाय रहेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

युवा जनशक्ति पलायन, सिमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादन सोचे अनरुप बढाउन सकिएको छैन नेपालको धान उत्पादकत्व ३.१७ मेट्रिक टन÷प्रति हेक्टर छ । तर खेती गर्ने समयमा कृषकले मल समेत पाउन सकेको अवस्था छैन ।

बर्षभरी खाने धान खेती गर्नका लागि मलको जोहो कसरी गर्ने भन्ने समस्यामा घोराही–५ निवासी किसान कृष्ण डाँगीलाई रहेको छ । खेतमा रोप्नका लागि व्याड तयार हुँदैछ । बर्षात गरिरहेकाले केही दिनमै रोपाई सुरु गरौँ भने किसान डाँगीसँग धान खेतीका लागि चाहिने रासायनिक मल छैन् ।

‘धान रोप्ने बेला भइसक्यो । तर खेतमा प्रयोग गर्ने रासायनिक मल अहिलेसम्म पाएको छैन’, किसान डाँगी भन्छन्– ‘पानी परिरहेकाले केही दिनमै रोपाई गर्ने हुने अवस्था छ । तर खेतीका लागि मल छैन’, मलका लागि सहकारी कार्यालयदेखि बजारसम्म पुग्दा पाउन सकिएको छैन ।’

बर्खे खेतीको सिजन सुरु भैसक्दा पनि मल नपाएपछि किसानस समस्यामा परेको उनी बताउँछन् । ‘किसानका लागि मानो रोपेर मुरी फलाउने समय आइसक्यो’, उनले भने– ‘तर किसानहरु मल नपाउँदा समस्यामा परेका छन् ।’ उनले जतिसक्यो चाँडो रासायनिक मलको व्यवस्था गर्न समेत माग गरे । उनको जस्तै समस्या राप्ती गाउँपालिका निवासी गोविन्द चौधरीको पनि छ । मलका लागि गाउँको सहकारी संस्थासँगै लमहीमा रहेको कृषि सामग्री कम्पनीको कार्यालयसम्म उनी धेरै पटक पुुगे तर उनले मल पाउन सकेका छैनन् ।

मल नपाउँदा कसरी खेती गर्ने भन्ने उनलाई चिन्ता छ । ‘लगभग असारको आधा गैसक्यो तर अझै हामीले मल पाउन सकेका छैनौ’, किसान चौधरीले भने– ‘मल नै नआए कसरी खेती गर्ने ?’ उनलाई मल अभावकै कारण खेती गर्न समस्या हुन्छ कि भन्ने चिन्ता छ । किसान कृष्ण डाँगी र र गोविन्द चौधरीको मात्र समस्या होइन बर्षात सुरु भैसक्दासमेत रासायनिक मल नपाउँदा जिल्लाका अधिकांश किसानहरु चिन्तामा छन् ।

कृषि ज्ञान केन्द्र दाङको तथ्यांक अनुसार जिल्लामा ३९ हजार ९ सय ५ हेक्टर जमिनमा धान खेती हुने गरेको छ । त्यसका लागि घोराही क्षेत्रमा हालसम्म युरिया १४ सय अर्थात ७६.५५० मेट्रिक टन, डिएपी ७८५ मेट्रिक टन र पोटास ५१.२५० मेट्रिक टन मल किसानलाई वितरण गरिएको छ । यसैगरी तुलसीपुर शाखाबाट युरिया १६ सय ४.१० मेट्रिक टन, डिएपी ७३४.३० मेट्रिक टन र पोटास ४२ मेट्रिकटन मल र लमही शाखाबाट युरिया ६ सय अर्थात ६.० मेट्रिकटन, डिएपी २ सय अर्थात ६६.६ मेट्रिक टन र पोटास २०.४५ मेट्रिक टन वितरण गरिएको छ ।

जिल्लामा थप बर्खे सिजनका लागि करिब युरिया २ हजार मेट्रिक टन अर्थात् ४० हजार बोरा र डिएपी १२ सय मेट्रिक टन अर्थात २४ हजार बोरा रासायनिक मलको आवश्यकता रहेको कृषि सामग्री केन्द्र घोराही शाखाले जनाएको छ । कृषि सामग्री केन्द्र घोराहीका प्रमुख टोपाराम गौतमका अनुसार यस बीचमा १ ट्रक १९ टन डिएपी मल मात्रै आएको जानकारी दिएका छन् । त्यसैगरी साल्ट टे«निक कर्पोरेशन घोराही शाखामा पनि केही मल आए पनि पर्याप्त भने हुन सकेको छैन ।