Ad Area

फेरी…..घोराही–बंगलाचुली रुटका खाल्डा पुरेर टिपर चलाउन दिने सहमति


घोराही, १४ असार । यसअघि गरिएको सहमति कार्यान्वयन नगरी चुनढुंगा ढुवानी गर्न जबरजस्ती टिपर चलाउन खोजेको भन्दै आन्दोलन गर्दै आएका प्रभावित क्षेत्रका नागरिक फेरी पछि हटेको छन् ।

पटक–पटकको आन्दोलनपछि टिपर सञ्चालन बन्द भएपनि सोनापुर सिमेन्टले बंगलाचुली–१ मा नयाँ खानीमा जबर्जस्ती टिपर चलाउन खोजेको भन्दै स्थानीयबासीले सोमबार बिहानैदेखि टिपर चलाउन रोक लगाउँदै सकडमै उत्रिएपछि मंगलबार जिल्ला प्रशासनमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सहमति गर्दै चुनढुंगा बोक्ने टिपर बुधबारबाट चलाउन दिने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा मंगलबार बसेको बैठकले जुम्लेपानीसम्मको सडकलाई घोराही सिमेन्ट उद्योग प्रा.लि, सोनापुर सिमेन्ट उद्योग, सम्राट सिमेन्ट उद्योगका लागि चुनढुंगा ढुवानी गर्ने टिपर चलाउन दिने निर्णय भएको हो ।

उक्त सडकमा खाल्डा खुल्डी भएको ठाउँमा ग्राभेल गरी रोलिङ गर्ने, सडकको साइडमा सानो बकेटले नाला निर्माण गर्ने, धुलोबाट बचाउनका लागि नियमित रुपमा पानी चार्ने व्यवस्था मिलाउने, गति नियन्त्रणको लागि ट्राफिक संकेत वोर्ड राख्ने व्यवस्था गर्ने, विद्यार्थी तथा कर्मचारीहरुको चापलाई दृष्टिगत गरि उक्त सडकमा विहान ९ बजेदेखि ११ बजेसम्म र दिउसो ३ बजेको बिचमा टिप्परहरु सञ्चालन नगर्नेलगायत निर्णय गर्दै टिपर चल्न दिने बताइएको छ ।

उक्त कार्यका लागि अनुगमन समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । जसको सदस्यमा वडा नम्बर ४ का वडा अध्यक्ष मधुसुदन शर्मा, रामलौटन चौधरी, भिमबहादुर कंवर योगी, रविलाल घर्ती, डोमाकान्त शर्मा, सिमेन्ट उद्योगका प्रतिनिधि हरि पाठक, घोराही–बंगलाचुली सडक तथा सिमेन्ट उद्योग प्रभावित सरोकार समितिका तर्फबाट नारदमणी पोख्रेल, टिपर समितिका तर्फबाट भरतनाथ योगी रहनुभएको छ । यस्तै, सरोकारवालहरुसँग सम्बाद र समन्वय गर्न सबै सिमेन्ट कम्पनीहरुका तर्फबाट हरि पाठकलाई प्रतिनिधि चयन गरेको छ ।

मंगलबारको सर्वदलीय बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसी, नेकपा एमालेका सचिव मनोहर बुढाथोकी, घोराही नगर अध्यक्ष भुवन चौधरी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजाल, सिमेन्ट उद्योगका प्रतिनिधि, स्थानीय वडाबासीलगायतले हस्ताक्षर गर्नुभएको छ ।

यसअघि पटक पटक गरिएको सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले टिपर संचालनमा रोक लगाउँदै आएका थिए । स्थानीयबासीसँग कुनै सल्लाह नगरी जबर्जस्ती टिपर चलाउन थालिएपछि स्वस्फूर्तरुपमा आफुहरु आन्दोलित बनेका थिए । लामो समयदेखि घोराही सिमेन्ट उद्योगले तापा खानीबाट ढुंगा ल्याउँदा सडक तहसनहस हुनुका साथै स्थानीयबासीको जनजीवन प्रभावित बन्दै आएको छ ।