Ad Area

निवृत्त शिक्षक समाज राप्तीको अध्यक्षमा गिरी


घोराही, २० असार । नेपाल निवृत्त शिक्षक समाजले पालिका स्तरीय अधिवेशना अभियान जारी राखेको छ । जिल्लाका अधिकांश पालिकामा अधिवेशन गरिसकेको समाजले सोमबार राप्ती गाउँपालिका स्तरीय नेपाल निवृत्त शिक्षक समाजको अधिवेशन गर्दै नयाँ नेतृत्व चयन गरेको छ ।

समाजका जिल्ला अध्यक्ष गोविन्द पौडेलको सभाअध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष शंकरदिवश मजगैयाँको प्रमुख आतिथ्यता एवं मावि मौरीघाटका प्रधानाध्यापक बसन्तराज घिमिरेको विशिष्ट आतिथ्यतामा भएको अधिवेशनले २ सदस्य पछि थप गर्ने गरी ९ सदस्यीय कमिटी गठन गरेको छ । जसको अध्यक्षमा कृष्ण गिरी चयन हुनुभएको छ ।

महिला उपाध्यक्षमा सरस्वती न्यौपाने, उपाध्यक्षमा झग्गुप्रसाद न्यौपाने, सचिवमा कृष्णराज पौडेल, कोषाध्यक्षमा हरिप्रसाद ज्ञवाली चयन हुनुभएको छ । यस्तै, महिला सदस्यमा ओमकला न्यौपाने चयन हुनुभएको छ भने सदस्यमा रमेश अधिकारी सर्वसम्मत चयन हुनुभएको जिल्ला सचिव दामोदर पाण्डेयले जानकारी दिनुभयो ।

सो अवसरमा प्रमुख अतिथि मजगैयाँले सेवा निवृत्त शिक्षकहरुको हकहीतका बारेमा वकालत गर्नुका साथै मुलुकको शैक्षिक उन्नतिका लागि समाजले खबरदारी गर्दै आएको बताउनुभयो । समाजमार्फत समुदायमा ज्ञान, सिप र अनुभव प्रदान गर्दै समुन्नत समाज निर्माणमा समाजले सदैव पहरेदारी गर्ने पनि उहाँको भनाई थियो ।

यही अभियानमा गोलवद्ध हुन आम निवृत्त शिक्षकहरुलाई उहाँको अपिल थियो । कार्यक्रममा निवृत्त शिक्षकहरु कृष्ण गिरी, कृष्णराज पौडेल, शेषमणि शर्मा, रमेश अधिकारीलगायतले आफ्ना अनुभवसहित विचार राख्नुभएको थियो । समाजका जिल्ला उपाध्यक्ष पद्मप्रसाद शर्माको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव दामोदर पाण्डेयले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad