Ad Area

घोराहीका सामुदायिक विद्यालयमा थारू भाषा पढाइ हुने


सन्तोष दहित
दाङ,२१ असार । दाङको घोराही उपमहानगरपालिकाको सामुदायिक विद्यालयमा थारू भाषाको पढाइ हुने भएको छ। उपमहानगरपालिकाले पठनपाठनका लागि पाठ्यपुस्तक तयार गरिसकेको छ।

थारू भाषा, कला, संस्कृतिको संरक्षण र विकासमा सहयोग पुर्‍याउन थारू बहुल विद्यालयमा थारू भाषाको पाठनपाठन गर्न लागिएको मेयर नरुलाल चौधरीले बताए। “थारू भाषाको पाठ्यपुस्तक निर्माणको काम सम्पन्न भएको छ,” उनले भने, “छपाइको काम सकिएपछि साउनदेखि सामुदायिक विद्यालयमा पढाइ शुरू हुन्छ।”

संविधानले नै मातृभाषामा शिक्षा लिन पाउने मौलिक हकको व्यवस्था गरेकाले उपमहानगरका सामुदायिक विद्यालयमा थारू भाषाको पठनपाठन सञ्चालन गर्न लागेको मेयर चौधरीले बताए। यस वर्ष कक्षा १ मा पढाइ हुनेछ। त्यसपछि क्रमशः अन्य कक्षामा पनि पढाइ हुने उनको भनाइ छ।

उपमहानगरका शिक्षा महाशाखाका प्रमुख विनोद गौतम थारू समुदायको बालबालिकाको शिक्षामा थप सहयोग पुगोस् भन्ने उद्देश्यले कक्षा सञ्चालन गर्न लागेको बताए। घोराहीका अघिकांश सामुदायिक विद्यायमा थारू बालबालिकाको बाहुल्य छ।

थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले घोराही उपमहानगरपालिकाले थारू भाषाको पढाइ गर्न लागेको कुराले सिङ्गो थारू समुदायमा खुशी थपिएको बताए। “स्थानीय सरकार बनेपछि नेपालमा पहिलो पटक घोराही उपमहानगरपालिकाले थारू भाषाको पढाइ गर्न लागेको छ, यो प्रशंसायोग्य छ‚” उनले भने‚ “यसलाई कार्यान्वयन गराउन सभा, सहकार्य र हातेमालो गर्न तयार छ।”

घोराही उपमहानगरको तथ्याङ्क अनुसार‚ उपमहानगरको कुल जनसङ्ख्या एक लाख ५६ हजार १६४ मध्ये थारूको जनसङ्ख्या ‍२५.४९ प्रतिशत छ। यस्तै, क्षत्री २३.७०,  मगर १२.७८ प्रतिशत र अन्य समुदाय छन्। ७१.५१ प्रतिशत नेपाली, २३.४७ प्रतिशत थारू, २.२० प्रतिशत खाम र १०.८२ प्रतिशत अन्य भाषाका प्रयोगकर्ता छन्।

Blog Post Ad
Blog Post Ad Blog Post Ad