Ad Area

स्थानीय तहका नेतृत्व र जनताका अपेक्षा


शंकर अतित

स्थानीय तह निर्वाचन

देशका ७६१ स्थानीय सरकार मध्य अधिकांस स्थानीय तहमा सरकार संचालनका लागि (बुढी गंगा नगरपालिका बाजुरालगायत बाहेक)  जनप्रतिनिधि निर्वाचित भइसकेका छन् । निर्वाचन नतिजा हेर्दै गर्दा केही ठाउँमा आफूलाई ठूलो दल ठान्नेहरुको गढ भत्किएका छन्, किल्ला भत्किएका छन् अनि बिरासतहरु पनि भत्किँदै गइरहेको परिणाममा देखिन्छ । स्वतन्त्र उम्मेद्वारहरुप्रति देखिएको जनलहरले मै हुँ भन्ने दलहरुलाई पनि उम्मेद्वार छनोटमा ध्यान दिनुपर्ने कुराको पाठ अवश्य सिकाएको छ । स्थानीय तहको निर्वाचनको नतिजापछि अब संघ र प्रदेशको चुनावका लागि सम्भावित हुनसक्ने नयाँ राजनीतिक कोर्शबारे अहिले नै केही छिटाहरु आइसकेका छन् ।

स्थानीय तहको नेतृत्व

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले २०७९ को स्थानीय चुनावको मिति घोषणा नहुँदै काठमाडौं महानगरमा मेयरको उम्मेदवारी दिने चर्चाले मिडियामा खुबै स्थान पायो । बाबुरामले प्रकट गरेको इच्छाले थप बल तब पायो जब केन्द्रीयदेखि प्रदेश संसद र पूर्व मन्त्रीहरुले समेत स्थानीय तहको नेतृत्व लिनेप्रति इच्छा प्रकट गरे । आखिर हाइप्रोफाइल भनिएका नेताको स्थानीय तहको नेतृत्वप्रति यति धेरै मोह किन ?

यसका पछाडि धेरै कारण होलान्, जस्तै केन्द्र र प्रदेशमा आफ्नो स्थान सुरक्षित नदेखेर, पहिलो पटक निर्वाचित स्थानीय तह प्रतिनिधिको देखेको लोभलाग्दो जीवनशैली, आफैमा स्वायत्त सरकार अझ अलि खरो भाषामा पालिकाको सिडिओ जस्तो छनक, ५ वर्षे पूर्ण कार्यकाल, निर्वाचित सिट न गुम्ला भन्ने डर, न प्रतिपक्षले टेबल ठटाउँदै राजिनामा मागिरहलान भन्ने डर, करौडोँको बजेट सञ्चालनमा प्रत्यक्ष भूमिका, काम गरेर केही देखाउँछु भन्ने हुटहुटी भएकालाई बिनादबाब काम गर्ने अवसर, आफ्नो पालिका बनाउँदै राजनीतिक यात्राको सुखःद सुरुवात तथा अन्त्य गर्छु भन्नेका रहर ।

Blog Post Ad

यी र यस्तै कारणले नै सबैको स्थानीय तहको नेतृत्व लिनेप्रति मोह बढेको हो कि भन्ने पनि लाग्छ । अब कुन प्रतिनिधि कुन मोहले आए अबको ५ वर्षभित्र आम जनताले साक्षात्कार गर्न पाउने नै छन् ।

नेतृत्वले सम्झिनुपर्ने कुरा

देश संघीय संरचनामा जानुभन्दा अगाडिका महा÷उप÷नगरपालिकाका केही हदसम्म पूर्वाधार र अन्य विकासका सवालमा अगाडि नै छन् । संघीय संरचनापछि बनेका महा÷उप÷नगरपालिका र गाउँपालिकामा पूर्वाधारका विकाससँगै अन्य क्षेत्रगत विकासका सवालमा अझै धेरै कामहरु गर्न बाँकी छ । नयाँ राज्य पुनर्संरचनाको अभ्यासका क्रममै रहँदा नै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरणको सवालमा स्थानीय तहले खेलेको भूमिका मुक्तकण्ठले प्रशंशा गर्नैपर्छ ।

यसका कारण पनि कतिपय पालिकाले सोचेजस्तो लक्ष्यमा पुग्न सकेनन् पनि । तै पनि नेतृत्वपंक्तिले निम्न कार्यहरुलाई प्राथमिकतामा राख्दा सही बाटो पहिल्याउन सक्छन् कि भन्ने मेरो ठम्याइ हो :

प्रायःजसो सबै स्थानीय तहले गएको ५ वर्षमा आफ्ना प्रोफाइल बनाएका छन्, त्यसलाई तथ्याङ्कको थुप्रोको रुपमा मात्र नलिइ अहिलेको आफ्नो पालिकाको अवस्था थाहा पाउन ठूलो सहयोगी बन्न सक्छ । त्यसै अनुसार आगामी योजना बनाउन पहल गर्दा उचित हुनेछ । प्रायः तथ्याङ्कमा बोल्ने नेतृत्व आकर्षक मानिन्छ ।

जनप्रतिनिधि आफैले प्रत्यक्ष रुपमा कार्य गर्दैनन् भन्ने कुरा बुझिराख्न जरुरी छ । जितिसकेपछि मै हुँ भन्दै दम्भका साथ अगाडि नबढेकै राम्रो होला । यदि त्यसो गरियो भने कार्यकालभरि आफ्नै कार्यपालिकाको बैठक भारी लाग्न सक्दछ । तसर्थ प्रमुख प्रशासकीय अधिकृतदेखि कार्यपालिकाका सम्पूर्ण सदस्यहरुसँग आफ्नो कार्यकालभरि नै समन्वयात्मक सम्बन्ध राख्दा काम गर्न अझ सहज हुनेछ । किनकि पालिकाको प्रमुखलाई गुनासो गर्ने छुट पक्कै पनि छैन होला ।

जनताको प्रतिनिधि निर्वाचित व्यक्ति हो भने कर्मचारीको प्रतिनिधिको रुपमा पालिकामा प्रमुख प्रशासकीय अधिकृतहरु ररहेका छन् । हरेक फाँटका कर्मचारीको क्षमता बमोजिम जिम्मेवारी दिन लगाउन प्रमुख प्रशासकीय अधिकृतसँग न्यायोचित समन्वयकारी भूमिका खेल्न सहयोगी बन्नु नै कार्यालयसँगको सम्बन्ध सुमधुर बनाउनु हो भन्ने कुरा बुझ्नु पनि जरुरी छ ।

पुराना प्रतिनिधिले केही गरेनन् भन्ने मानसिकता बोकिराख्नु खुलेका विकासे ढोकाहरु बन्द गर्नु जस्तै हो । जनताले पुराना जनप्रतिनिधिको कहानी सुनाउन नयाँ नेतृत्व चुनेका होइनन्, आफूले गर्ने कामलाई सधैँ प्राथमिकता दिँदा नै उचित हुने देखिन्छ ।

 निर्वाचित भइसकेपछि अबको ५ वर्ष आफू दलको र मेरो फलानो दल भन्ने करा बिर्सेको नै नव निर्वाचित नतृत्वलाई राम्रो । दल र कार्यकर्ता भन्दा माथि उठ्न सकिएन भने पालिकाको विकास र समृद्धिमा अप्रत्यक्ष रुपमा बाधक बन्ने सम्भावना बढी हुन्छ तर आफ्नो दलको घोषण–पत्र चााहिँ विकासे आधार बनाएको राम्रो । हरेक दलका घोषणा–पत्र कार्यान्वयन गर्न लायककै हुन्छन् पनि ।

पहिलो कार्यकाल बिताएका पालिका जनप्रतिनिधिले पूर्वाधार विकासमा उल्लेख्य काम गरेका छन् । अहिलेका जनप्रतिनिधिले अन्य क्षेत्र तथा विषयगत विकासमा ध्यान पु¥याउने बेला भयो भन्ने आवश्यकता ठानेर अघि बढ्दा नै राम्रो हुने छ ।

निर्वाचित भइसकेपछि जनप्रतिनिधिका आम रुपमा सुनिने योजना भनेका कृषिको विकास र रोजगारी सिर्जना धेरै सुनिन्छ । यो अति आवश्यक हो तर यो नारा सदियौँ देखिको हो । कृषिमा धेरै जनसंख्याको संलग्नता भन्दा पनि कृषिको क्षेत्र बढाउनेमा जोड गर्नुहोला । एक क्षेत्रले उत्पादन गरिरहँदा अर्को क्षेत्रले वितरणको काम गरोस्, जसले कृषि र रोजगारीको समस्या सँगै सम्बोधन गरोस् ।

आफूले पाएको भोटको क्षेत्रमा मात्रै बढी केन्द्रित हुँदै हुनुहुन्छ भने सोच्नुहोला कि तपाईँ छोटो राजनीतिक यात्रामा हुनुहुन्छ । लामो यात्रामा हिड्नलाई तपाईंको सोच र कार्यक्षेत्रका दायरालाई बढाउने प्रयास गरेको राम्रो न कि भोट केन्द्रित विकासे राजनीति ।

सल्लाहकारले हर जीवनमा महत्व राख्दछ, चाहे त्यो राजनीतिक होस् अथवा व्यत्तिगत, यदि सल्लाहकार नै लिनु हुँदैछ भने अलि समय लिएर सोचेर राख्नुहोला ताकि सल्लाहकारले तपाईंको राजनीतिक यात्रा छोटो नबनाइदिओस् ।

पहिलो पटक जनप्रतिनिधिको रुपमा चयन हुनु हुँदैछ भने तपाईंलाई सामान्य कर्मचारीले घुमाइदिन सक्छ । तसर्थ, आफ्नो जिम्मेवारीसँग जोडिएका ऐन, नियम, कानुन पढ्ने बानी बसाल्नुहोला, पढ्नेहरुले प्रायः हार खादैनन् ।

पानी परेपछि आफ्नो सहरको ढलको अवस्था थाहा पाउने, बाढी आएपछि किनारमा बस्ने मान्छे र जमिन कटान थाहा पाउने, धान रोप्दा मात्र मलको अभाव थाहा पाउने, असार लागेपछि विकासे बजेटको भेल बगाउनेजस्ता क्रियाकलाप अदूरदर्शी नेतृत्वका परिणतिहरु हुन् । तसर्थ आफूलाई अब्बल देखाउनलाई पूर्व तयारीमा केन्द्रित हुनुहोला ।

आम मानिसलाई समृद्धि भनेको सहरमा बसाइसराइँ गर्नुलाई ठान्छन्, तपाईंले आफ्नै पालिकाका गाउँलाई सहर बनाउनतिर लाग्नुहोला, आधारभूत स्वास्थ्य सेवाको पहुँचमा वृद्धि, आधुनिक शिक्षामा समान पहुँच, मानव स्वास्थ्य र पोषणको विकास, प्रशस्त खेलकुद मैदान, विभिन्न क्षेत्रमा युवाहरुको अधिक्तम परिचालन आदि क्रियाकलापलाई प्राथमिकतामा राख्नु नै फलिफाप हुनेछ ।

हिजो तपाईँलाई भोट दिएर नेतृत्वमा पु¥याउने जनता अब तपाईँका सेवाग्राही हुन् । जसरी तपाईँलाई सजिलै नेतृत्वमा पु¥याए अब त्यसरी नै उनीहरुलाई दिने सेवा सजिलो बनाइ आफूले मतदाताबाट लिएको ऋण तिर्ने सुनौलो अवसर सिर्जना गर्नुहोला ।

तपाईँको पालिकाको हरेक क्रियाकलाप र सूचनालाई व्यवस्थित रुपमा विद्युत्तीय माध्यम (वेबसाइट)मा अद्यावधिक गर्नुहोला । तपाईँलाई निर्वाचित गरेका सबै जनता गाउँमै छन् भन्ने छैन । यो प्रविधिको युगमा आफ्नो पालिकाको सुन्दर कार्यहरु संसारको जुनसुकै कुनामा रहेर पनि नियाल्न सक्ने व्यवस्था गर्नुहोला ।

Blog Post Ad Blog Post Ad