किसानले उत्पादन गरेको कराेडौँ मुल्यको लसुन नबिक्दा किसान निराश
घोराही, २३ असार । घोराहीका किसानले उत्पादन गरेको करीव २४ सय क्वीन्टल लसुनले बजार पाउन सकेको छैन । घोराही ८ सेवारका किसानले गत चैतमा उत्पादन गरेको करोडौँ मुल्यको लसुनले बजार नपाएपछि निराश भएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत लसुन पकेट कार्यक्रममार्फत लसुन रोपेका यहाँका कृषकले उत्पादन गरेको यति ठूलो परिमाणको लसुनले बजार नपाउँदा निराश भएका हुन् । यति ठूलो परिमाणमा उत्पादित लसुन यहाँका किसानले एक किलो पनि नबिकेको बताएका छन् ।
स्थानीय सिर्जनशील कृषि समुहमार्फत घोराही उपमहानगरपालिकाबाट अनुदानमा लसुन खेती गर्दै आएका यहाँका किसानलाई यसअघि भने समयमै लसुन बिक्दा यस्तो समस्या भोग्नु परेको थिएन । आर्थिक वर्ष २०७७–०७८ मा १० लाखको अनुदानमा लसुन पकेट कार्यक्रममार्फत लसुन खेती गर्न शुरु गरेको किसानले राम्रै आम्दानी गर्न सफल भएका थिए ।
यस्तै, आर्थिक वर्ष २०७८–०७९ मा पनि ६ लाखको अनुदानमा लसुन खेती गरेका किसानले उत्पादन गरेको लसुन बिक्रि गर्न पाएका छैनन् । सिर्जनशील कृषि समुहका कृष्ण चौधरीले आफूहरुको मेहनत र लगानी खेर जाने होकी भन्ने चिन्ता बढेको बताउनुभयो ।
लसुन पकेट कार्यक्रममार्फत खेती गरेर उत्पादन गरेको बस्तुको बजारीकरण हुन नसक्दा आफुहरु निकै निराश भएको उहाँले बताउनुभयो । ‘हामीले निकै मेहनत गरेर खेती गर्छौँ, बल्लबल्ल उत्पादन हुन्छ, बजारमा लगेर बिक्रि गरौँ भने बिक्दैन, निकै समस्या छ,’ कृष्णले भन्नुभयो, ‘यसरी कृषकलाई निराश पार्ने काम हुँदा खेती नै नगरौँ जस्तो लाग्छ ।’
स्थानीय कृषकका अनुसार विगत वर्षमा सेवार गाउँमा उत्पादित लसुन जिल्ला बाहिर निकासा हुने गरेको थियो । व्यापारीहरु आफै खरीद गर्न आउने गरेका थिए । पोखरा, विराटनगर, जनकपुरसम्मका व्यापारीले किसानको घरमै आएर खरीद गरी लसुन लैजाने गरेकोमा यो पटक भने आएका छैनन् । जसका कारण ठूलो परिमाणमा रहेको लसुन बिक्री हुन सकेको छैन ।
दाङमा प्राय सबै स्थानमा लसुन उत्पादन हुने हुँदा स्थानीय बजारमा यसको खपत कम हुन्छ । बजार क्षेत्रमा केही खपत हुने बाहेक गाउँघरमा बिक्रि असम्भव प्राय हुने गरेको छ ।
‘गत वर्ष व्यापारी आफै आएर लसुन किनेर लगेका हुन्, लसुनको मुल्य पनि राम्रै पाइएको थियो, किलोको ८० रुपैयाँमा,’ स्थानीय कृषक भीमबहादुर चौधरीले भन्नुभयो, ‘यो पटक त व्यापारी आएनन्, कहाँ लगेर बेच्ने हो भन्ने चिन्ता छ, ढिलो भयो भने लसुन सुक्छ, उम्रन्छ अनि खेर जान्छ ।’
स्थानीयले घरमा मसलाको रुपमा प्रयोग गर्नु बाहेक एक किलो पनि बिक्रि गर्न सकेका छैनन् । जसका कारण उत्पादित लसुन खेर जाने सम्भावना बढेर गएको भन्दै किसान निरास बनेका छन् । ‘घरमा कति खानु, तरकारीमा मसलाको रुपमा प्रयोग गर्ने हो, तरकारी खान मिल्दैन, घरमै खपत गरौँ भने पनि कति होला र खै,’ उहाँले भन्नुभयो, ‘गाउँभर लसुनको थुप्रो छ, तर एक किलो बिक्दैन, के गर्नु ।’
करीव ५५ घरधुरी रहेको सेवारबासीको मुख्य पेशा नै कृषि हो । कृषि क्षेत्रलाई प्रोत्साहन गर्न स्थानीय सरकारले कृषकलाई उत्पादनसँग जोड्ने योजना ल्याएपनि उत्पादित बस्तुको बजारीकरण कसरी गर्ने भन्ने बारेमा सम्बोधन गर्न नसक्दा यस खालका समस्या हुने गरेको कृषकहरु बताउँछन् ।
‘स्थानीय सरकारले उत्पादन गर्न त सिकायो, तर उत्पादित बस्तुको बजारीकरण कहाँ कसरी गर्ने भन्ने ठाउँ दिएन, त्यसैले हामी समस्यामा पर्योँ,’ भीमबहादुरले भन्नुभयो, ‘उत्पादन गर्न सिकाउनेले बस्तुको बजारीकरण पनि गर्ने आधार बनाई दिए सहज हुन्थ्यो । नत्र कृषकले गरेको मेहनत र लगानी खेर जाने बाहेक केही हुदैन, यस्तो समस्या होला भन्ने थाहा पाएको भए बरु गहुँ, मसुरो छरिन्थ्यो ।’
जिल्लाका अधिकांश स्थानमा कृषकले उत्पादन गरेको लसुनको अवस्था उस्तै छ । व्यापारीले आर्थिक मन्दीका कारण यो पटक लसुन खरीद नगरेको बताउने गरेका छन् । लसुन महंगो पर्ने हुँदा खरीद गर्ने उपभोक्ताले आर्थिक मन्दीका कारण यसको प्रयोग कम गर्ने भएपछि लगानी डुब्ने डरले जोखिम नउठाएको बताइएको छ ।
जसका कारण उत्पादित लसुनलाई बजारसम्म पुर्याउन कठिन भएको हो । यता, घोराही उपमहानगरपालिका कृषि शाखा प्रमुख चोपनारायण खनालले कृषकले उत्पादन गरेको लसुनले बजार नपाएको बारेमा आफुलाई गुनासो आएको बारे सम्बन्धित निकायमा जानकारी गराएको बताउनुभयो ।
स्थानीय सरकारले कृषि क्षेत्रमा लाग्न युवालाई प्रोत्साहन गर्न अनुदान, यन्त्र उपकरणमा सहुलियत दिनेदेखि प्राविधिक सहयोग गर्ने गरेपनि उत्पादित बस्तुको बजारीकरणमा सहजीकरण गर्न नसकेको बताउनुभयो ।
‘हामीले कृषकलाई कृषि क्षेत्रमा लाग्न हौसला दिन्छौँ, त्यही अनुसार कृषकहरुले काम पनि गर्नु हुन्छ, उत्पादन पनि गर्नुहुन्छ, कुनै कृषिजन्य बस्तुले आफै बजार पाउँछ, कुनै बसुतले बजार नपाउँदा कृषकलाई तनाव हुन्छ,’ कृषि शाखा प्रमुख खनालले भन्नुभयो, ‘कृषिजन्य बस्तुको बजारीकरणका विषयमा हामीले बारम्बार बहस गर्दैआएका छौँ तर ठोस निकास निस्कन सकेको छैन ।’
केही दिन अघि मात्रै प्रदेश स्तरीय गोष्ठीमा पनि कृषकले उत्पादन गरेको बस्तुको बजारीकरणका बारेमा समस्या भईरहेकाले सहजीकरण गर्न आग्रह गरेको बताउँदै शाखा प्रमुख खनालले लसुनले बजार नपाएको बारेमा पनि जानकारी गराएको बताउनुभयो । तर, प्रदेश सरकारका सम्बन्धित पदाधिकारीले पनि यस बारे ठोस जवाफ नदिएको बताउनुभयो ।
किसानलाई भने अनुसार खेतीपाती गरेर उत्पादन गरेपनि त्यसको बजारीकरण मात्रै नभई लागत अनुसारको मुल्य पाउन पनि निकै संघर्ष गर्नु परेको उहाँ स्वीकार्नु हुुन्छ ।
‘दिनरात नभनी काम गरेर कृषि उत्पादन गर्ने किसानले कृषिजन्य बस्तुको मुल्य तोक्न पाउँदैनन्, त्यसको मुल्य तोक्ने अरु कोही हुन्छ,’ उहाँले भन्नुभयो, ‘काम गर्नेले श्रमको मुल्य पनि नपाउने अवस्था भएपछि कृषिमा लाग्न हौसला दिन पनि कठिन हुने गरेको छ । यसका लागि ठोस योजनासहित अब नतिजा उन्मुख कार्यमा लाग्नु पर्ने बेला आएको छ ।’