Ad Area

घोराहीको ‘भानु चोक’ की ‘घोडा चोक’ ?


घोराही, ३० असार । घोराही उपमहानगरपालिका वडा नंं १५ स्थित मुख्य चोकको ठोस नाम के हो भन्ने टुंगो छैन । कसैले तुलसीपुर चोक, कसैले घोराही चोक त कसैले भानु चोक भन्छन् । एउटै ठाउँको नाम फरक–फरक छ । स्थानीयबासीले ठाउँको नाम आ–आफ्नै दावी गरे पनि आगन्तुक कोही घोराहीको मुख्य चोकमा बसबाट ओर्लियो वा आयो भने त्यही ठाउँको नाम फरक–फरक सुन्दा अचम्ममा पर्ने गरेका छन् । धेरैले यात्रु तुलसीपुर पुग्ने भएपनि घोराहीमै तुलसीपुर चोक सुनेर ओर्लिएको उदाहरण पनि छ ।

खासमा घोराहीको मुख्य चोकको नाम केही वर्ष पहिले भानु चोक बनाईएको थियो । अहिलेको जस्तो भीडभाड कम भएको बेला स्थानीयले भानु चोक भनेरै पुकार्थे । बिस्तारै जनघनत्व बढ्दै गयो, गाडीघोडाको चाप थपिँदै गयो, सवारी साधनमा हिँड्नेहरुले सजिलो मान्दै घोराही चोकलाई ‘तुलसीपुर चोक’ भन्न थालेपछि सबैको जनजिब्रो तुलसीपुर चोक भनेर पुकारिन थालियो ।

जसले गर्दा भानु चोक भनेर निर्णय भए पनि चलन चल्तीमा ल्याउन सकिएन र तुलसीपुर चोककै नामबाट चिनिदै आयो । स्वर्गीय यज्ञबहादुर बुढाथोकी नगर प्रमुख भएको बेला २०५१ मा नै उक्त चोकको नाम भानु चोक राख्ने भनेर निर्णय भइसकेको थियो । त्यतिबेला त्रिभुवन नगर जेसिज लगायत अन्य संघसंस्थाको कार्यदल बनाएर विभिन्न चोक र सडकको नामाकरण लागि पहल गर्ने जिम्मेवारी पनि दिइएको थियो । त्यति नै बेला यस चोकको नाम भानु चोक सिफारिस भएको र नगरपालिकाबाट निर्णय पनि भइसकेको जानकारहरु बताउँछन् ।

त्यसैगरी तत्कालीन त्रिभुवन नगरपालिकाका नगर प्रमुख अमरबहादुर डाँगी र त्रिभुवननगर जेसिजको संयुक्त बैठकबाट घोराही नगरपालिकाभित्रका विभिन्न चोकहरूको नामाकरण गर्ने क्रममा तुलसीपुर जाने बाटो नेरको चौकलाई भानु चोक बनाउने भनी निर्णय भएको पाइएको छ ।

जसले गर्दा स्थानीबासीले साविककै अवस्थामा निर्णय कार्यान्वयन हुनपर्ने अडान राख्दै आएका छन् । खासमा घोराहीको मुख्य चोकको नाम र यसको अस्तित्व के भन्ने बारेमा बढी चर्चा भानु जयन्तीका बेला बढी मात्रामा हुने गरेको छ । स्थानीयबासी, साहित्यकार तथा जसले भानु चोक नामाकरणमा भुमिका खेले उनीहरु ‘भानु चोक’ हुनुपर्ने अडानका साथ आवाज उठाउँदै आएका छन् ।

तर, यो विषयको अन्तरंगमा स्थानीय सरकार पनि मुछिएको छ । धेरैले घोराहीको मुख्य चोकलाई ‘तुलसीपुर चोक’ भन्न थालेपछि नगर प्रमुख नरुलाल चौधरीले घोराहीलाई तुलसीपुर चोक भन्दा असान्दर्भिक हुने भन्दै नगर कार्यपालिबाट निर्णय गराउँदै घोराही चोक नामाकरण गराउनुभएको छ । घोराही उपमहानगरपालिकाले २०७७ फागुन ३ गते बसेको कार्यपालिका बैठकले यस चोकको नाम घोराही चोक राख्ने निर्णय गरेको हो ।

Blog Post Ad

यद्यपि, यो निर्णय कार्यान्वयन हुन सकेको छैन । घोराही चोक नामका आधारमा त्यहाँ घोडाको प्रतिमा राख्ने तयारीका साथ स्तम्भ पनि तयार गरियो । घोडा पनि बन्यो । तर, धेरैले विरोध जनाएपछि घोराहीको मुख्य चोकमा राख्ने भनिएको घोडाको प्रतिमा चेपे तालको किनारमा लगेर राखिएको छ ।

स्थानीय सरकारका रुपमा रहेको घोराही उपमहानगरपालिकालाई पनि आफैले गरेको पछिल्लो निर्णय कार्यान्वयन गर्न फलामको चिउरा चपाए जस्तै भएको छ । जसका कारण घोराहीको चोकमा कसको प्रतिमा राख्ने भन्ने कुरा अहिले सतहमा आएको छ । स्थानीयबासी, साहित्यकारलगायतको पछिल्लो आवाजले घोराहीको मुख्य चोकका आदिकवि भानुभक्त आचार्यको प्रतिमा राख्न माग गर्दै आएको छ । उता, घोराही उपमहानगरपालिका भने अहिले ‘पर्ख र हेर’ को स्थितीमा रहेको छ ।

नगर प्रमुख चौधरीले सहमतिका आधारमा अगाडि बढ्न सकिने बताउँदै आउनुभएको छ । विभिन्न कार्यक्रमहरुमा पनि उहाँले अभिव्यक्ति दिँदा स्थानीय नागरिकको आवाज र विचारको सम्बोधन गरेरै आफु अघि बढ्ने वचन दिँदै आउनुभएको भएपनि कार्यान्वयन भने हुन सकेको छैन । तर, उहाँले नामका विषयमा धेरै विवाद गर्न नहुने तर्क गर्दै आउनुभएको छ । ‘भानु चोक पनि हुन सक्छ, अरु चोक पनि हुन सक्छ । यसमा नगरपालिकाको छुट्टै भिजन, जनताको छुट्टै भिजन भन्ने हुँदैन, यो विवादको विषय नै होइन, सल्लाह सहमतिबाट यो विषय टुङ्गो लागिहाल्छ,’ उहाँ भन्नुहुन्छ ।

उता, राप्ती साहित्य परिषद, लेखक संघ सम्वद्ध एवम् अन्य साहित्यकार, नागरिक समाज, लेखकहरू, स्थानीय टोलबासीहरु भानुकै प्रतिमा राख्ने अडानमा छन् । अहिले आदिकवि भानुभक्त आचार्यको शालिक राख्न घोराही उपमहानगरपालिकालाई आग्रह गर्दै विभिन्न अगुवा व्यक्तिद्वारा भानु चोक नामाकरण गर्दै प्रतिमा स्वरुप भानुभक्त आचार्यको तस्बिर राखेका छन् । आदिकवि आचार्यको फोटो सहितको ब्यानर टाँगेर उपमहानगरलाई साङकेतिक दवाब दिदै उनीहरुले तस्बिर राखेका हुन् ।

Blog Post Ad Blog Post Ad