Ad Area

दाङ भन्दा बाहिरका टिपरलाई चुनढुङ्गा ढुवानी गर्न रोक लगाईने


घोराही, ३० असार । स्वर्गद्वारी टिपर व्यवसायी समितिले दाङ भन्दा बाहिरका टिपरहरुलाई चुनढुङ्गा ढुवानी गर्न रोक लगाउने भएको छ ।

समितिका अध्यक्ष भरतनाथ योगीको अध्यक्षतामा घोराहीमा बसेको बैठकले दाङ भन्दा बाहिरबाट टिपर ल्याएर उद्योगले चुनढुङ्गा ढुवानी गर्दा यहाँका टिपरहरुलाई समस्या पर्नुका साथै व्यवसाय नै धरासयी पर्ने अवस्था आएकाले यस्तो निर्णय गरिएको हो ।

सरोकारवालासँग समन्वय गरेर जिल्ला बाहिरका टिपरहरुलाई दाङका विभिन्न सिमेन्ट उद्योगबाट बोक्ने चुनढुङ्गा पुर्णरुपमा ढुवानी गर्न नदीने निर्णय गरेको समिति सचिव रमेश डाँगीले जानकारी दिनुभयो ।

सचिव डाँगीका अनुसार बाहिरी जिल्लाबाट आएका टिपरहरुलाई उद्योगले पनि इन्ट्री नगर्न जिल्लास्थित सिमेण्ट उद्योगहरुलाई समितिको तर्फवाट पत्राचार गर्ने निर्णय गरेको छ । यस्तै, खानी क्षेत्रबाट सिमेन्ट उद्योगसम्म चुनढुङ्गा ढुवानी गर्दा लाग्ने टिपरको भाडा हेरफेर गर्न समितिले वार्ता समितिसमेत बनाएको छ ।

प्रतिदिन डिजेलको मल्य बढ्दो अवस्थामा रहेको र गाडीका सामग्रीको मुुल्यहरुमा वृद्धि भएपनि चुनढुङ्गा भाडादर भने पहिलेकै अवस्थामा रहेकाले सोही भाडामा चुनढुङ्गा ढुवानी गर्न नसकिने अवस्था आएकाले भाडा समायोजन गर्ने तयारी भएको छ ।

जसका लागि खानी क्षेत्र बङ्गलाचुलीको थारादेखी सम्राट सिमेन्ट उद्योगसम्मको प्रति टन एघार सय, तापादेखिको घोराहीको भाडा प्रति टन ८ सय र सोनापुरदेखि दुबिडाँडासम्मको भाडा प्रति टन ८ सय गराउने सर्वसम्मत निर्णय गरेको छ ।

ढुवानी भाडा दर कायम गराउन उद्योग पक्षसँग वार्ता गर्न समितिका अध्यक्ष भरतनाथ योगिको संयोजकत्वमा सचिव रमेश डाँगी, व्यवसायीहरु खगेन्द्र बुढा, सुरज पोखरेल, कमल पौडेल, कृष्ण रायमाझीसम्मिलित वार्ता समिति गठन गरिएको छ ।