Ad Area

तुलसीपुर मेट्रो कलेजको अभियान, विरुवा जोगाउनेलाई परीक्षामा अंक


तुलसीपुर,३२ असार । तुलसीपुर मेट्रो कलेजले रुख जोगाउने अभियान सुरु गरेको छ । हरेक विद्यार्थीहरुलाई रुख रोप्ने अनि जोगाउने अभिभारा सुम्पिएर अभियानको सुरुवात गरेको कलेज प्रमुख वसन्त आचार्यले बताए । “रुख लगाउने अभियान चलाएर मात्रै हुँदैन, लगाएको रुखलाई जोगाउनु पनि पर्दछ । ” कलेज प्रमुख आचार्यले भने । उनले हरेक विद्यार्थीहरुलाई एक एक वटा विरुवा संरक्षण गर्ने जिम्मेवारी सुम्पिएको जानकारी दिए ।

कलेजमा डिप्लोमा तह कृषि विज्ञान र वन विज्ञान अध्ययनरत १ सय ६० विद्यार्थीहरुले वृक्षारोपण गरेर त्यसलाई जोगाउने अभियान सुरु गरेका हुन् । “विरुवा जोगाएवाफत हामीले प्रयोगात्मक अंक पाउने छौ, परीक्षामा राम्रो अंक ल्याउनका लागि पनि हामीले विरुवा जोगाउनुपर्नेछ” कृषि विज्ञान अध्ययनरत विद्यार्थी सन्दिप मल्लले भने । उनले विद्यार्थीलाई जिम्मेवारी सहित बृक्षारोपण गरेकाले सबै विरुवा जोगिने विश्वास पनि व्यक्त गरे ।

वन विज्ञान अध्ययनरत विद्यार्थी सीता भण्डारीले प्रयोगात्मकरुपमा अध्ययन गर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले वातावरणीय सन्तुलन कायम गर्नका लागि विरुवा लगाउनु र जोगाउनु नितान्त आवश्यक भएको कुरामा जोड दिईन् । “कलेजको अभियानले हामीलाई विरुवा जोगाउनु किन आवश्यक छ भन्ने बारेमा बोध गराएको छ ” विद्यार्थी भण्डारीले भनिन् ।

१० विगाहा क्षेत्रफलमा फैलिएको कलेजको सबै किनारामा विरुवा लगाइएको हो । फलफुल र सौन्दर्यपरक विरुवाहरु रोटरी क्लब अफ तुलसीपुर सिटिले उपलब्ध गराएको थियो । “कलेजलाई हरियाली बनाउनका लागि सामाजिक उत्तरदायित्व वहन गर्दै हामीले सहयोग गरेका हौ” क्लबका अध्यक्ष यज्ञबहादुर केसीले वताए ।

अभियानको सुरुवात गर्दै नगरप्रमुख टिकाराम खड्काले वृक्षारोपणसँगै विरुवाहरुको संरक्षण पनि आवश्यक भएको वताए । “हरेक विद्यार्थीहरुलाई विरुवा जोगाउनका लागि कलेजले ल्याएको अभियान निकै सान्दर्भिक रहेको छ ” प्रमुख अतिथि समेत रहेका खड्काले भने । आजको पुस्तालाई वातावरण संरक्षणप्रति सजग गराउनु आवश्यक रहेको पनि उनको भनाई रहेको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad