Ad Area

अनलाइन पत्रकारिता संवेदनशील हुनुपर्नेमा सरोकारवालाको जोड


दाङ, २ साउन । अनलाइन पत्रिका मेचीकाली अनलाइनले आफ्नो ७औँ वार्षिकोत्सव मनाएको छ । दाङको घोराहीबाट २०७२ साल साउन २ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको अनलाइनले सोमबार एक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।

अनलाइनका प्रधान सम्पादक टीका बस्नेतको अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले अनलाइन सञ्चारमाध्यमका सामाग्रीमाथि प्रश्न उठ्ने गरेको भन्दै बढी सम्बेदनशील हुन आग्रह गरेका थिए । उनले छिटो खबर दिन हतार गर्दा समाचारको विश्वसनीयतामाथि प्रश्न उठेको बताए ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि जिएमले अनलाइन सञ्चारमाध्यममा लगानी कर्तासँगै पत्रकारहरुको आशलाग्दो रुपमा आकर्षण रहेको भन्दै हिजोको दिनमा प्रिन्ट मिडियामा काम गरेका सम्पादकहरुसमेत आज अनलाइन पत्रिकाको सम्पादक बन्नु अनलाइन पत्रकारिताको विकास राम्रै भएको मान्नुपर्ने बताए ।

नेपालपत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले अनलाइन पत्रकारिताको तिब्र विकाससँगै चुनौति पनि बढ्दै गएको बताएका थिए । अनलाइन पत्रकारितामा विश्वसनीयता ठूलो चुनौतिका रुपमा केसीको भनाई थियो ।

मेचीकाली अनलाइनका फोटो पत्रकार श्रीधरकुमार राजभण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा पत्रकार महासंघ दाङकी उपाध्यक्ष बसुन्धारा गौतम, प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डप शर्मा, समानान्तर डटकमका प्रधानसम्पादक छवि पुरीलगायतले बोलेका थिए ।

Blog Post Ad

मेचीकाली अनलाइनले ७औँ वार्षिक उत्सवका अवसरमा मिडिया र पत्रकारलाई पनि सम्मान गरेको थियो । मोफसलको अनलाइन पत्रकारिताको विकासमा भूमिका खेलेको भन्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष जिएम र संस्थागत रुपमा दाङमा अनलाइन पत्रकारितामा व्यवसायिकताको खोजी गरेको भन्दै तुलसीपुर अनलाइनलाई सम्मान गरेको थियो ।

कार्यक्रममा अनलाइन पत्रकारिताका चुनौती विषयमा नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सुदिप गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यत्रपत्र प्रस्तुत गर्दै गौतमले अनलाइन पत्रकारिता सोचेको जस्तो सञ्चालन गर्न सहज नभएको भन्दै अनलाईन सत्य,तथ्य र विश्वसनिय बनाउन चुनौति रहेको बताएका थिए । कार्यक्रमको सहजीकरण अनलाइनका संवाददाता टोपेन्द्र रोकामगरले गरेका थिए ।

Blog Post Ad Blog Post Ad