Ad Area

अतिक्रमण हटाएर समुदायलाई वन


हेमराज शर्मा
दाङ, ५ साउन । डिभिजन वन कार्यालय दाङले घोराही उपमहानगरपालिका वडा नं. १६ मघैमा बर्षौदेखि अतिक्रमणमा परेको वन क्षेत्रलाई अतिक्रमण हटाएर स्थानीय समुदायलाई सामुदायिक वनका रुपमा हस्तान्तरण गरिएको छ ।

दाङको सदरमुकाम घोराहीको नजिक रहेको र पर्यापर्यटनको सम्भावना बोकेको उक्त क्षेत्रलाई आगामी दिनमा डिभिजन वन कार्यालय, स्थानीय तह तथा समुदायको संयुक्त पहलमा शहरी पार्कका रुपमा विकास गरी आन्तरिक पर्यापर्टनलाई प्रवद्र्धन गर्दै लैजाने लक्ष्य रहेकोे डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

कार्यालयको यो कार्यक्रमबाट अतिक्रमित क्षेत्र पुनः वन क्षेत्रमा परिणत भई खाली क्षेत्रमा नयाँ वृक्षारोपण तथा बाँकी वन क्षेत्रलाई वन व्यवस्थापनका माध्यमबाट हरियाली बढ्ने, बजारको नजिक भएकाले आन्तरिक पर्यटकसमेत बृद्धि हुन गई स्थानीय समुदायको जीविकोपार्जनमा समेत उल्लेखनीय सहयोग पुग्ने कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ ।

डिभिजन वन कार्यालयले अतिक्रमण हटाई ब्यवस्थापन कार्यक्रमबाट बस्तीको बीचमा रहेको अतिक्रमणका दृष्टिले अन्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको र बर्षौदेखि अनाधिकृतरुपमा अतिक्रमण गरी जोतभोग समेत भइरहेको ३.८५ हेक्टर वनमा काँढे तारबार गरेर स्थानीय समुदायलाई मघै सामुदायिक वनका रुपमा हस्तान्तरण गरेको छ ।

उक्त क्षेत्रलाई पर्यापर्यटकीय क्षेत्रको साथसाथै विभिन्न प्रजातिका वन तथा वनस्पतिको विकास गरी सम्बन्धित विद्यार्थीलाई अवलोकन भ्रमण गर्ने स्थान र कृषि वन प्रणालीअन्र्तगत कुरिलोलगायतका जडिबुटीलाई अन्तरबालीको रुपमा ब्यावसायिक खेती प्रवद्र्धन गरी समुदायका बिपन्न बर्गको जीपिकोपार्जनमा उल्लेखनीय योगदान गर्न सक्ने सम्भावना रहेको कार्यालयको भनाइ छ ।

वन क्षेत्रलाई खन–जोत गरी उपभोग गरिएको उक्त क्षेत्रलाई अतिक्रमण हटाएर करिब ८ सय मिटर तारबार गरी २ हजार ४ सय बिरुवा रोपिएको र अरु पनि बिरुवा रोप्ने क्रममा रहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिएका छन् । उक्त स्थानमा कपुर, कल्की, तेजपात, असना, खयर, सिसौलगायतका प्रजातिका बिरुवा लगाइएको छ ।

Blog Post Ad

सो वन क्षेत्रबाट अनाधिकृतरुपमा ठूलो परिमाणमा डोजरको प्रयोग गरी माटो उत्खनन् गरी अवैधरुपमा बिक्री वितरण गर्न लागेको अवस्थामा डिभिजन वन कार्यालयले उक्त कार्य नियन्त्रण गरेको थियो । वन कार्यालयले अतिक्रमण हटाउन थालेको प्रयास रोक्नका लागि अतिक्रमणकारीहरुले धेरै प्रयास गरे पनि आफूहरुको निरन्तर प्रयासबाट पुनः वन क्षेत्र बनाउन सफल भएको प्रमुख श्रेष्ठले बताए ।

जोतभोग गरी खाईपाई आएको वन क्षेत्र खाली नगराउन प्रत्यक्ष–अप्रत्यक्ष धेरै दबाव पनि आफूहरु विचलित नभएको श्रेष्ठको भनाइ छ । डिभिजन वन कार्यालय दाडले पछिल्लो एक बर्षमा अतिक्रमणको चपेटामा परेको करिब ७ हेक्टर वन क्षेत्र अतिक्रमण हटाई पुनः वन क्षेत्र कायम गराएको कार्यालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad