Ad Area

जिससकाे सार्थक प्रयास- दाङमा पहिलो पटक अन्तरपालिका स्तरीय समन्वयात्मक बैठक थालनी


घोराही, १९ साउन । दाङका १० वटै पालिकाहरु बिच पहिलो पटक घुम्ती समन्वयात्मक बैठक थालनी गरिएको छ । जिल्ला समन्वय समिति दाङको आयोजनामा सबै पालिकाका जनप्रतिनिधिहरुसँग अनुभव आदानप्रदानसहित समन्वयात्मक बैठक शुरु गरिएको छ ।
समन्वय समिति प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा बिहीबार दंगीशरण गाउँपालिकाबाट शुरु भएको बैठकले पालिका पालिकाबीचको सम्बन्ध बलियो बनाउन तथा असल अभ्यासलाई अरु ठाउँमा पनि कार्यान्वयन गर्न सहज होस् भन्दै अनुभवमा आधारित बैठक थालनी गरिएको हो । पालिकाका जनप्रतिनिधिहरुले आफ्नो पालिकामा अहिलेसम्म गरिएका असल अभ्यासका बारेमा जानकारी गराउनुका साथै व्यवहारिक कठिनाईका बारेमा सहजीकरण गर्न अपिल गर्नुभएको थियो ।
सो अवसरमा, घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले   विद्यालयमा खानेपानी र शौचालय व्यवस्थित गर्न कार्यपालिकाबाट पहिलो निर्णय भएको बताउनुभयो । यस्तै, उहाँले कृषिमा आधुनिकिकरण, न्यायीक समितिको पनि छलफल गर्दै काम गरिरहेको बताउनुभयो । उहाँले घोराहीमा स्वास्थ्य र शिक्षालाई पनि विशेष प्राथमिकता दिँदै काम अघि बढाएको जानकारी गराउनुभयो । अब जिल्लाका सबै पालिका मिलेर समृद्ध जिल्ला बनाउन भावनात्मक एकता गरेर अघि बढ्न आग्रह गर्नुभयो ।
‘विद्यालयमा खानेपानी र शौचालय व्यवस्थित गर्न कार्यपालिकाबाट पहिलो निर्णय भएको छ’ उपप्रमुख डिसीले भन्नुभयो, ‘हामीले अरु क्षेत्रमा पनि प्रभावकारी कार्ययोजना बनाउँदै काम अघि बढाएका छौँ । कृषिमा आधुनिकिकरण, स्वास्थ्य र शिक्षामा पनि हाम्रो विशेष ध्यान गएको छ ।’
तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी स्यानी चौधरीले पालिकामा अहिले पनि छाडा गाईको समस्या रहेको बताउनुभयो । यसको समाधानका लागि सबैले पालिकास्तरमा छलफल चलाउँदै निकास खोज्न आग्रह गर्नुभयो । गुणस्तरीय र निशुल्क शिक्षाको ब्यबस्थापन गर्नुपर्नेमा आफ्नो विशेष जोड रहेको बताउँदै उहाँले  बहुआयामिक संग्रहालयलाई दाङमा ब्यबस्थापन गर्नु अवस्यक रहेको पनि चर्चा गर्नुभयो ।
‘यहाँ भन्न मिल्ने होकी होईन तर अहिले हामीले एउटा समस्या भोग्न बाध्य भएका छौँ, त्यो हो छाडा गाई । दिनभर व्यवस्थापन गर्यौ रातारात फेरी अरु  गाई थपिने क्रम जारी छ,’ उहाँले भन्नुभयो, ‘अरु पालिकाबाट पनि गाई तुलसीपुरमा पठाईने गरिएको छ भन्ने सुनिन्छ ।’ राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले सरकारी कार्यालय र विद्यालयमा जंक फुड निशेष गर्दै स्वस्थ नागरिक उत्पादनमा जोड दिएको बताउनुभयो ।
बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले पालिकाको सुरक्षालाई चुस्त दुरुस्त पार्न प्रमुख जिल्ला अधिकारीसँग सहयोग माग्नुभयो । आफुहरुसँग ५ जना नगर प्रहरी रहेकाले  समन्वय गरी पालिकाको सुरक्षा प्रबन्ध बयिलो बनाउन आग्रह गर्नुभयो । पालिकाको प्रमुख राजश्वको श्रोत खानीजन्य बस्तु भएपनि यसको व्यवस्थित रुपमा काम हुन नसकेकाले अरु पालिकाबाट आवश्यक समन्वयको अपेक्षा गर्नुभयो ।
यस्तै, आफु निर्वाचित भएर काम गर्न थालेपछि  एक घर एक धाराको अवधारणालाई सार्थक बनाउन कोशिस भईरहेको बताउनुभयो । हाम्रो ठाउँमा भूगोलले पनि समस्या दिएको छ । ‘बस्ती माथि छ पानी तल खोलामा छ, कसरी व्यवस्थापन गर्दा सहज र कम बजेटमा गर्न सकिएला भन्ने लागेको छ, कुनै पालिकाले यस प्रकारको अभ्यास गर्नुभएको छ भने अनुभव साट्न अपेक्षा गर्छौँ,’ उहाँले भन्नुभयो, ‘आगामी ५ वर्षमा पालिकाका सबै नागरिकको घरघरमा खानेपानी पुर्याउन कोशिस गरिरहेका छौँ ।’
शान्तीनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई शुन्य दशमलव ५ प्रतिशत जरिवाना गर्ने काम भएको बताउनुभयो । ठेक्काको जिम्मा लिने अनि काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गर्न थालिएपछि कामले गति लिएको अनुभव सुनाउनुभयो ।  यस्तै, यसअघि आफ्नो पालिकाको  सीमा क्षेत्रमा भएका समस्या समाधानका लागि सीमा जोडिएका ३ वटै पालिकासँग छलफल गरी समस्या समाधानका लागि पहल हुने बताउनुभयो ।
राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले  बेरोजगारको समस्या बढ्दै गएकाले युवालाई रोजगारमा आधारित सीप दिन पहल हुनुपर्ने बताउनुभयो । ‘बुढापाका तास खेलेर दिन काट्छन्, युवाहरु गाउँमा बरालिन्छन्, यो गम्भीर समस्या बन्दैछ, अब युवाहरुलाई सीपमा आधारित ज्ञान दिन ढिला गर्नुहुँदैन, यो जिल्लाका सबै पालिकाको समस्या हो, यसका लागि संयुक्त पहल गरौँ,’ उहाँले भन्नुभयो, ‘आफ्नो केही ब्याबसाय गरेर आत्मनिर्भर गराउन उनीहरुलाई हौसला दिनुपर्छ ।’
उपाध्यक्ष धनपती यादवले आफ्नो दोस्रो कार्यकाल भएकाले अब परिणाममुखी काममा विशेष ध्यान दिएको बताउनुभयो । लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले  शिक्षा क्षेत्रको उत्थानका लागि सबै वडा तहमा काम  भईरहेको बताउनुभयो ।
दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले नागरिकता लगायतका ६ वटा शीर्षकमा सिफारिस निशुल्क गरेर नागरिकलाई सहुलियत प्रदान गरेको बताउनुभयो ।
उहाँले आफ्नो पालिकामा रहेका जग्गाको वर्गीकरण गरी सोही आधारमा राजश्व लिने गरिएको बताउनुभयो । यस्तै, अशक्त, जेष्ठ नागरिकहरुको समस्यालाई मध्येनजर गर्दै सामाजिक सुरक्षा भत्ता घरमै गएर वितरण गर्ने कामको थालनी गरिएको बताउनुभयो । यस्तै, छोरी र आमा सम्मान कार्यक्रम पनि ल्याएको बताउनुभयो । यसका लागि साउनबाट छोरी जन्मेमा ३ सय रुपैयाँ मासिक रुपमा खातामा  राखिदिने व्यवस्था मिलाउनुका साथै सुत्केरी आमालाई पोषणका लागि ५ हजार भत्ताको व्यवस्था मिलाएको बताउनुभयो ।
बैठकमा जिल्लाका अरु पालिकाका प्रमुख, उपप्रमुखहरुले पनि आफ्नो पालिकामा  गरिएका असल अभ्यासको बारेमा अनुभव साट्नु भएको थियो । प्रमुख प्रशासकका रुपमा रहनुभएका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विषयगत रुपमा छलफल गर्नुपर्ने, अन्तरपालिका बीच अनुभव आदान प्रदान गर्नुपर्ने, समान उद्देश्य भएका विषयमा सहअस्तित्वको भावना विकासमा सहकार्य गर्नुपर्ने, अनुकरणीय कामको अनुशरण गर्न तत्परता देखाउनुपर्ने, पालिका बिच भएका राम्रा अभ्यासलाई अरु पालिकामा आवश्यकताको आधारमा अग्रसरता ल्याउन सकिए सुशासन र समृद्धिको यात्रा तय गर्न सहज हुने हुँदा आगामी दिनमा समृद्ध दाङ बनाउन सबै पालिकाले एक आपसमा हातेमालो गर्न थप अभ्यास आवश्यक रहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रेग्मीले पालिकाबीच सम्बन्ध बलियो बनाउन तथा जिल्लाको विकासका लागि सुरक्षा व्यवस्थालगायत कर्मचारी प्रशासनबाट हुने कामलाई थप स्तरीय बनाउन पहल हुने बताउनुभयो । जिल्लामा पहिलो पटक थालनी गरिएको यो अभ्यास अब नियमित रुपमा हुने भएको छ । जसका लागि घुम्ती बैठकका रुपमा पालिका पालिकामा बस्ने भएको छ ।
अब हरेक महिनाको १९ गते अन्तरपालिका बैठक बस्ने गरी निर्णय गरिएको हुँदा पालिकास्तरमा प्राप्त गरिएका उपलब्धीसँगै चुनौति समाधानका बारेमा छलफल गर्ने सहमति पनि भएको छ । जस अनुसार आगामी बैठक भदौ १९ गते राप्ती गाउँपालिकामा बस्ने निर्णय भएको छ ।
पालिकाले प्रदान गर्दै आएको सेवा तथा शैलीका बारेमा, घरेलु तथा लैंगिक हिंसाको अवस्था कस्तो छ ?, प्रहरी र नागरीक बीचको सम्बन्ध कस्तो छ?, पालिकामा गौरवका योजनाहरु के कती छन् ?। शिक्षा, स्वास्थ्य, खानेपानी तथा कृषिको समग्र अवस्था कस्तो छ ?, बजेट फ्रिज भयो वा भएन ?, योजनाको बाँडफाँड कसरी भैरहेको छ?, कर्मचारी र जनप्रतिनिधिहरु बीचको सम्बन्ध कस्तो छ ?,  पर्यटकीय सम्भावना बोकेका स्थलहरु के कति छन् ? भन्ने लगायत यावत विषयमा छलफल गर्दै देखा परेका समस्या समाधानमा केन्द्रित रही यो प्रयासको थालनी गरिएको जिल्ला समन्वय समिति प्रमुख शर्माले बताउनुभयो । समन्वय समितिले शुरु गरेको यो अभ्यासले आगामी दिनमा जनप्रतिनिधिबीचको  सम्बन्ध सुमधुर बनाउन तथा जिल्लाको समग्र विकासमा कोशेढुंगा सावित गर्न सहज हुने अपेक्षा गरिएको उहाँको भनाई छ ।