Ad Area

अखिल नेपाल शिक्षक संघको प्रदेश अध्यक्षमा भण्डारी निर्वाचित


घोराही, २८ साउन । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल शिक्षक संघको दोश्रो लुम्बिनी प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । दाङको भालुवाङमा प्रदेश अध्यक्ष बालाराम पोख्रेलको अध्यक्षतामा शनिबार दोश्रो लुम्बिनी प्रदेश स्तरीय भेला सम्पन्न भएको हो ।

प्रदेश भेलाले लालबहादुर भण्डारीको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण बन्जाडे, महिला उपाध्यक्षमा देवा बिष्ट, सचिवमा कल्याण खड्का, सहसचिवमा कमलराज भट्टराई, कोषाध्यक्षमा रुमाल बस्याल सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

यस्तै, सदस्यहरुमा ओमकला खनाल, बुद्धि बन्जाडे, कमला गिरी, बिनोद बोहरा, विष्णमाया भुसाल, प्रेम अर्याल, शिव शाही, निरु थापा, ईश्वरी ज्ञवाली चयन हुनुभएको छ । उक्त भेलाले डिलाराम पौडेल, मधु पण्डित, मीना गौतम, खेमराज पोख्रेल र ईश्वरी आचार्यलाई प्रदेश सल्लाहकार चयन गरेको छ ।

सो अवसरमा वक्ताहरुले नेपालको शिक्षा प्रणाली सुधारका लागि शिक्षा ऐनमा भएको व्यवस्थामा शिक्षकले विगतदेखि उठाउँदै आएका माग र समस्याका बारेमा राज्यले चासो नदिएको गुनासो गर्नुभयो । समाजलाई चेतना प्रदान गर्न दिनरात नभनी शिक्षा सेवामा खटिएका शिक्षकहरुको व्यावसायिक सुरक्षाका सवालमा राज्यले अझै पनि उदार हुन नसकेको नेपाल शिक्षक संघका केन्द्रीय समिति महासचिव चक्रपाणी पौडेलले बताउनुभयो ।

भेलाको प्रमुख अतिथिसमेत रहनुभएको महासचिव पौडेलले राज्यले शिक्षकहरुलाई अहिले पनि उपेक्षाको दृष्टिकोण हेर्दा यसको असर शिक्षा क्षेत्रमा परेको बताउनुभयो । दक्ष जनशक्ति उत्पादनको आधार थलोका रुपमा रहेका शिक्षकहरुको समस्या समाधानमा लामो समयदेखि शैक्षिक आन्दोलन गर्दै आएकाले यसविषयमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गणेश आचार्य, प्रदेश सल्लाहकार सूर्य थापा, अखिल नेपाल शिक्षक संघका उपमहासचिव तारा बेल्बासे, केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, पूर्व केन्द्रीय सदस्य कपीलदेव खनाललगायतले बोल्नुभएको थियो । प्रदेश उपाध्यक्ष ईश्वरी आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रदेश सचिव रुमाल बस्यालले गर्नुभएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad