Ad Area

मुक्त कमलरी छात्राहरुको सबै खर्च व्यवस्थापन स्थानीय सरकारले गर्ने


घोराही ५, कार्तिक । दाङमा रहेका मुक्त कमलरी किशोरीहरुको पठनपाठनलगायत आवासीय खर्चको व्यवस्थापनमा लमही नगरपालिकाले चासो लिएको छ ।

लमही नगरपालिका वडा नम्बर १ नर्तीमा रहेको लावाजुनी छात्राबासमा बस्दै आएका मुक्तकमलरी छात्राहरुको पठनपाठन र आवासीय खर्चको जोहो कसरी गर्ने भन्ने समस्या भईरहेका बेला लमही नगरपालिकाले चालु आर्थिक वर्षको सबै खर्च व्यहोर्ने प्रतिवद्धता जनाएको हो ।

मुक्त कमलरीहरुको विषयमा पैरवी गर्दै आएको मुक्तकमलरी विकास मञ्चले शुक्रबार लमहीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख कुलबहादुर केसीले छात्राहरुको बसाईमा भईरहेको समस्यालाई मध्यनजर गर्दै सबै खर्च व्यहोर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

‘संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको शिक्षाको ग्यारेन्टी गर्नु स्थानीय सरकारको दायित्व हो, त्यसैले हामीले यसको खर्च व्यवस्थापनमा अग्रसरता लिएका हौँ,’ नगरप्रमुख केसीले भने, ‘अब अरु पालिकासँग पनि समन्वय गरेर छात्राहरुको पठनपाठन र आवासीय खर्च कसरी व्यवहोर्ने भन्ने बारे निचोड निकाल्छौँ ।’

विगत वर्षहरुमा नेपाल सरकारले ती छात्राहरुको छात्रवृत्ति र छात्राबास खर्चको व्यवस्थापन गर्दै आएको थियो । तर, चालु आर्थिक वर्ष २०७८–०७९ मा केन्द्र सरकारले बजेट विनियोजन नगरेपछि मुक्तकमलरी छात्राहरुको पठनपाठन र छात्राबास बसाई के हुने हो भन्ने अन्यौल भईरहेको थियो । छात्राबासमा विद्यालय तहदेखि उच्च शिक्षा अध्ययनरत ४३ जना बस्दै आएका छन् ।

हाललाई लमही नगरपालिकाले आफ्नो पालिका अन्तगर्तका छात्राहरुको खर्च व्यवस्थापन गर्ने र अरु पालिका अन्तर्गतका छात्राहरुको खर्च व्यवस्थापनका लागि सम्बन्धित पालिकासँग समन्वय गरी अघि बढ्ने योजना तय भएको मुक्त कमलरी विकास मञ्चका प्रबन्धक माधवराज चौधरीले जानकारी दिए ।

Blog Post Ad

जिल्लाको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिका अन्तर्गतका छात्राहरु पनि सो छात्रावासमा बसेर पढ्दै आएकाले उनीहरुको खर्च व्यवस्थापनका लागि सम्बन्धित पालिकासँग समन्वय गरी अघि बढ्ने तय भएको उनको भनाई छ ।

अबको केही दिनमा सरोकार सबै पालिका प्रमुखहरुसँग संयुक्त बैठक बसेर छात्राहरुको पठनपाठन र छात्राबास खर्चको व्यवस्थापनका लागि भईरहेको समस्या समाधान निकालिने भएको प्रबन्धक चौधरीले बताए । मुक्त कमलरी विकास मञ्चले मुक्त कमलरीहरुको वृहत्तर विकास र सचेतनासँगै उनीहरुको भविष्यका बारेमा पैरवी गर्दै आएको छ ।

Blog Post Ad Blog Post Ad