Ad Area

दाता खोज्दै मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र


घोराही, ५ भदौ । आध्यात्मिक, शैक्षिक र पर्यटकीय केन्द्र बनाउने उद्देश्यसहित २०७६ मंसिर २१ गते लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले भव्यरुपमा घोराही १५ स्थित ब्रह्मकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रको शिलान्यास गर्नुभयो । निकै ठूलो आशा र अभिलाषाका साथ शुरु गरिएको आध्यात्मिक केन्द्रको शुरुवाती चरणमा काम उत्साहजनक नै भयो । त्यही बीचमा कोरोनाले काममा प्रभाव पार्यो ।

दाताहरुको साथ सहयोग र उत्साहका बीच यस प्रदेशको पहिलो र राष्ट्रिय स्तरको पनि सुगमता र पहुँचका हिसाबले पनि नेपालकै केन्द्रका रुपमा रहने गरी काम थालिएको ब्रह्मकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रले आर्थिक अभाव झेल्ने अवस्थामा आईपुगेको छ । मनकारीहरुको पर्खाइमा रहेको केन्द्रको अहिले काम रोकिने अवस्थामा पुगेको छ । आर्थिक संकट झेलिरहेको केन्द्रले हालसम्म दाताहरुको परुा साथ पाईरहेको छ भने सरकारी तवरबाट अपेक्षित साथ पाउन सकिरहेको छैन ।

जिल्लाको केन्द्रका रुपमा रहेको आध्यात्मिक केन्द्रले सभागृह भवन, आवास निवास भवन, शौचालय भवन, बगैचा निर्माण, पर्खाल र प्रवेशद्वार निर्माणलगायतका सुविधा सम्पन्न पूर्वाधार निर्माणका लागि डिपीआरका आधारमा काम अघि बढाएको हो । सो केन्द्रमा युवाहरुमा देखिने कुलत र तनाब व्यवस्थापनका लागि परामर्श केन्द्रसँगै अनौपचारिक शिक्षाका लागि विभागको समेत स्थापना गर्ने तयारी गरिएको छ ।

केन्द्रको कुल अनुमानित २२ करोड ६९ हजार ९० हजार रहेकोमा हालसम्म विभिन्न दाताबाट उठेको रकम, संघ, प्रदेश र स्थानीय तहले उपलब्ध गराएको ३ करोड १० लाख बजेटबाट गरिएको कामले आवासीय सामुदायिक भवनको दुई तला उभिएको छ । अरु काम पूरै बाँकी रहेको छ । आध्यात्मिक, शैक्षिक र पर्यटकीय केन्द्र बनाउने उद्देश्यसहित मधुवन टोलमा रहेको साढे कट्ठा अर्थात २५७३ वर्गमीटर जमीन घोराही १५ का दानबीर देवराज पाण्डेबाट दान भएपछि ब्रह्मकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र निर्माणको काम अघि बढाईएको हो ।

दाताहरुबाट उठेको १ करोड २० लाख, संघीय सरकारको सघन सहरी विकास कार्यक्रम अन्तरगत गत आर्थिक वर्ष २०७७–०७८ र २०७८–०७९ मा दुई आर्थिक वर्षमा क्रमश ४०–४० लाख गरेर ८० लाख, लुम्बिनी प्रदेशका उर्जा, सिंचाई तथा जलश्रोत राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठको पहलमा आर्थिक वर्ष २०७७–०७८ मा ५० लाख र आर्थिक वर्ष २०७८–०७९ मा ४० लाख र घोराही उपमहानगरपालिकाबाट आर्थिक वर्ष २०७७–०७८ र २०७८–०७९ मा २ पटक गरेर क्रमश १०–१० लाख गरी २० लाख गरेर ३ करोड १० लाखको काम मात्रै भएको छ ।

Blog Post Ad

यद्यपि, त्यसमध्ये, सामुदायिक भवनको तेश्रो तलाका लागि ठेक्का लिएको कश्यप निर्माण सेवा लालमटिया दाङले काम अधुरै छाडेको ब्रह्मकुमारीज ईश्वरीय विश्वविद्यालय घोराहीका प्रवक्ता माधव तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार, सो कामका लागि ५० लाखको टेण्डरमा करसहित ४३ लाखको ठेक्का लिएकोमा ७ लाख बराबरको मात्रै काम भएको छ ।

३५ लाख ५२ हजार २ सय ९९ रुपैयाँ ७१ पैसामा मुल्य अभिवृद्धि करबाहेक ठेक्का लिएकोमा काम नसकेर अधुरै छाडेको उहाँले बताउनुभयो । गत आर्थिक वर्षको असार १५ गतेसम्म काम सक्ने लक्ष्य थियो । उहाँले काम रोकिएको विषयमा केन्द्रले असार २८ गते पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयलाई जानकारी गराई सकेको बताउनुभयो ।

यस्तै, घोराहीले चालु आर्थिक वर्ष २०७९–०८० मा थप ८ लाख विनियोजन गरिदिएको छ । बजेट पाएर काम शुरु गरेकोमा अपेक्षित काम नहुँदा केन्द्रलाई मार परेको उहाँले बताउनुभयो । ‘काम छाडेर अलपत्र पार्यो, हामीले यो बारेमा सम्बन्धित मन्त्रालयमा पनि जानकारी गराई सकेका छौँ, हेरौँ अब के हुन्छ, ठूलो आशा र अभिलाषाका साथ यस क्षेत्रको गरिमा बढाउने गरी काम अघि सारिएको छ, सबैले सहयोग गर्नुहुनेछ,’ प्रवक्ता तिमिल्सिनाले भन्नुभयो ।

आवासीय सामुदायिक भवन तर्फ ७ हजार स्क्वायर फिटमा करिव २ सय ५० जना अट्ने तीन तलाको र ट्रष्ट समेतको काम भईरहेको छ । यस्तै, बहुउद्देश्यीय सभाहल करिव ५ सय ५० जनाको क्षमता भएको अन्डर ग्राउन्ड पार्किङसमेतको गरेर सबै काम सम्पन्न गर्न अनुमानित २२ करोड ६९ हजार ९० हजार रहेको उहाँले बताउनुभयो । यद्यपि यो लागत बढ्न सक्नेछ ।

आवासीय भवनतर्फ दुई तला प्लास्टर भई सकेको छ भने फिनिसिङ र फर्निसिङ गर्न बाँकी रहेको छ । सोही भवनको तेस्रो तलाको प्रदेश मन्त्रालय पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयबाट टेण्डर भएको र ठेकेदार कम्पनीले काम नगर्दा बजेट खेर गएको उहाँले बताउनुभयो ।

मुख्य भवनको काम अझै हुन सकेको छैन । यसो हुनुमा आर्थिक अभाव रहेको ब्रह्मकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रका उपभोक्ता तथा भवन निर्माण समिति अध्यक्ष यज्ञबहादुर भण्डारीले बताउनुभयो । ‘हिजोका दिनमा नेपालका सबै क्षेत्रका व्यक्तिले आर्थिक, नैतिक भौतिक साथ दिँदै आउनुभएको हो, अहिले पनि यो अभियान जारी छ, हामीले दाताहरुको अपनत्व होस् भनेर गच्छे अनुसार दान गरेर अध्यात्म केन्द्र निर्माणमा सहभागी गराई रहेका छौँ,’ उहाँले भन्नुभयो, ‘जिल्लाका सबै तह, वर्ग, निकाय, व्यक्तिहरुले पनि आफ्नै संस्था ठानेर सहयोग गर्नुपर्ने अवस्था आएको छ ।’

पाँच वर्षभित्रमा काम सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य राखिएको केन्द्रको पूर्वाधार निर्माणको काम ३ वर्ष बित्नै लाग्दा पनि भौतिक प्रगति हुन सकेको छैन । जसका कारण केन्द्र दाताको खोजीमा जुटेको छ । विभिन्न व्यक्ति, स्वेच्छिक, विभिन्न संघ संस्था र ब्रह्मकुमारी संस्थाका सदस्यहरुबाट अहिलेसम्म उठेको रकम जुन प्रयोजनका लागि संकलन गरिएको हो, सबै रकम सोही शीर्षकमा खर्च भएको अनुगमन समिति संयोजक नारायणप्रसाद श्रेष्ठले बताउनुभयो ।

‘धनभन्दा मनको कुरा ठुलो हो, मन फुकाउन सक्ने हो भने रकम संकलनमा समस्या नहुनुपर्ने हो किनकी, यो ठाउँ स्थानीयको हो, स्थानीयले नै बनाउने हो भन्ने विचार स्थापित गराउनु जरुरी छ,’ उहाँले भन्नुभयो, ‘यो सबैको संस्था हो, यसमा सबैले अपनत्व गर्नेछन् । सभ्य र सुन्दर मानव बनाउने महान् अभियानमा अघि बढेको आध्यात्मिक केन्द्र जिल्लाको शान हुनेछ भने जिल्लाबासीको पहिचानका रुपमा उभिनेछ ।’
आध्यात्मिक केन्द निर्माणका लागि सरकारी तवरबाट अपेक्षित लगानी हुन नसकेपनि सम्बन्धित निकाय र मन्त्रालयमा अहिले पनि बजेटका बारेमा बारम्बार ध्यानाकर्षण गराउँदै आएको केन्द्रले जनाएको छ । समुदाय स्तरमा पनि अहिले दाता खोज्ने काम भईरहेको केन्द्रका प्रवक्ता तिमिल्सिनाले बताउनुभयो ।

‘हामी कहाँ अध्यात्मको माध्यमबाट जोडिनुभएका हजारौँ महानुभावहरु हुनुहुन्छ, अहिलेसम्म अधिकांश रकम दाताबाटै उठाएका छौँ, यसको दायरा अझ बढोस् भन्ने हामीले चाहेका छौँ, संस्थाले सबैलाई संगठित गर्ने हो, मानिसमा सचेतना र सभ्यता भर्ने हो’ उहाँले भन्नुभयो, ‘यो अभियान अहिले पनि जारी छ । यसमा बाहिरी जिल्लाका शुभेच्छुकबाट सहयोग भएको छ । सबैले आफ्नै आध्यात्मिक केन्द्रका रुपमा अग्रण गरेर निर्माण अभियानमा जुट्न अपिल छ ।’

प्रवक्ता तिमिल्सिनाका अनुसार, केन्द्रका सबै काम चाँडै सम्पन्न गर्न श्रोत संकलनका लागि सबै निकायमा ध्यानाकर्षण गराउँदै आएपनि काम हुन सकेको छैन । राष्ट्रिय स्तरको पनि सुगमता र पहुँचका हिसाबले पनि नेपालकै केन्द्रका रुपमा रहेको ब्रह्मकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र निर्माण भएमा यसले निकै ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

शान्ति, विकास र सम्वृद्धिको आधारका रुपमा भवनलाई प्रयोगमा ल्याएर साझा सम्पत्तिको रुपमा विकास गर्ने लक्ष्यका साथ थालिएको कामका सबै दाङबासी, शुभेच्छुक, दाता, संघसंस्था, सरकारी कार्यालय, निकायले ध्यान दिनुपर्ने बेला आएको ब्रह्मकुमारीज राप्ती क्षेत्रका क्षेत्रीय प्रमुख राजयोगिनी गिता दिदीले बताउनुभयो । उहाँका अनुसार, ब्रह्मकुमारीज ईश्वरीय विश्व विद्यालयमा राप्ती क्षेत्रमा ६ वटा जिल्ला (लुम्बिनी र कर्णाली प्रदेश) लाई समेट्ने गरेको छ ।

जहाँ हजारौँ सदस्य आवद्ध रहेका छन् । महिला वा नारी प्रधान संस्थाका रुपमा रहेको यो संस्थाका शाखा विश्वका १ सय ४५ भन्दा बढी देशमा रहेको छ । नारी सशक्तीकरण, आध्यामिक जागृति, युवामा सकारात्मक चेतनाको विकास, मानव सेवाका लागि स्थापित संस्थाले सबै मानवजाति, धर्म, संस्कारलाई अपनत्व लिँदै मानव धर्मका रुपमा मानिसलाई प्रस्तुत हुन सिकाउने गरेको उहाँले बताउनुभयो ।

कुनै पनि विदेशीको सहयोग बिना संचालन गरेको केन्द्र दाताहरुको आशिर्वादले चलेको उहाँले बताउनुभयो । उहाँका अनुसार, ब्रह्मकुमारीज ईश्वरीय विश्व विद्यालयका दाङमा ८ वटा शाखा छन् । २०५० सालमा तुलसीपुर यो केन्द्र खुलेको थियो । घोराहीमा भने २०५५ सालमा स्थावना भएको हो ।

राप्ती क्षेत्र अन्तर्गत प्युठान २, सल्यान २, पूर्वि र पश्चिम रुकुममा १–१ वटा रोल्पामा १ वटा केन्द्रको शाखा रहेको राजयोगिनी गिता दिदीले बताउनुभयो । निर्माणाधीन केन्द्रका लागि सहयोगको परिमाणलाई दाताहरूले निर्माण कार्यका लागि आवश्यक सामग्री दिएर पनि सहयोग गर्न सकिने ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र घोराहीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad