Ad Area

दाङ महिला जेसीजको तीज मिलन कार्यक्रम सम्पन्न


घोराही, ४ भदौ । दाङ महिला जेसीजले हरितालिका तीज पर्वको अवसर पारेर तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्य एवम् दाङ महिला जेसीजकी संस्थापक अध्यक्ष निर्मला गौतमको विशिष्ट आतिथ्यमा शनिबार तीज मिलन कार्यक्रम गरिएको हो । सो अवसरमा, महिलाहरुको विशेष महत्व बोकेको चाड तीजलाई धर्म संस्कार अनुसार वैज्ञानिक रुपमा मनाउनु पर्नेमा जोड दिइएको कार्यक्रम संयोजक भीमा डिसीले बताउनुभयो ।

रीतिरिवाज, परम्पराका नाममा समाजमा रहेका रुढीवादी संस्कारलाई समय सापेक्ष बनाउँदै यसको संरक्षण गर्नुपर्ने प्रमुख अतिथि डिसीले बताउनुभयो । यस्तै, चाड पर्वका नाममा बढी तडकभडक गर्न नहुने भन्दै आवश्यकता र अपरिहार्यतामा रहेर मितव्ययी रुपमा पर्व मनाउनु पर्ने बताउनुभयो । महिलाहरुको मिलनको पर्वका रुपमा लिईने तीजलाई तीजकै महत्व झल्कने गरी सभ्य रुपमा मनाउने अभियानमा महिला वर्ग जागरुक हुनुपर्ने बेला आएको उहाँको भनाई थियो ।

ब्रह्माकुमारी विश्वविद्यालय राप्ती क्षेत्र प्रमुख राजयोगिनी गीता दिदीले तीज ‘मिलन र नारी सभ्यता’को पर्व भएको बताउनुभयो । महिलाहरुको पहिचानका रुपमा लिईने यो पर्वलाई सबै वर्गले अपनत्व लिन सक्ने गरी सहज र सरल रुपमा पर्व मनाउनुपर्ने बताउनुभयो ।

तीज मिलनका अवसरमा दाङ महिला जेसीजले सहभागीहरुलाई दर पनि खुवाएको थियो । विभिन्न संघसंस्था, निकायबाट ५० जनाभन्दा बढी सहभागी हुनुभएकाहरुलाई महिला जेसीजको मातृ संस्था त्रिभुवननगर जेसीजको सचिवालयमा दर खुवाइएको हो ।

Blog Post Ad

जेसीज सदस्य रोजीना गिरीले आस्थापाठ गराउनुभएको कार्यक्रमको सहजीकरण महासचिव नारायणी भण्डारीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad