घोराहीमा बढे डेंगुका बिरामी, सरसफाईमा विशेष ध्यान दिन आग्रह

घोराही, ११ भदौ । दाङका अस्पतालमा अहिले डेंगुका बिरामी उपचारका लागि जाने क्रम बढ्न थालेको छ । केही समय अघि बुटवल, नारायणघाटबाट आएकाहरुमा डेंगु पुष्टि भएको थियो । एक्कासि टाउको दुख्ने र वान्ता हुन थालेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षणका लागि पुगेका ती व्यक्तिमा डेंगु पुष्टि भएको थियो । उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी बेस्सरी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने लक्षण देखिएका बिरामी बढ्न थालेपछि शंका लागेर रगत परीक्षण गर्दा डेंगु पहिचान भएको थियो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले दैनिक १५ देखि २० जना बिरामी उपचारार्थ पुग्ने गरेका छन् । जसमध्ये सबैभन्दा धेरै घोराही १४ स्थित अटो टाउन भिलेजमा कार्यरत रहेका छन् । अस्पतालमा आउनेमध्ये अटो भिलेजका बिरामीमा डेंगु देखिने गरेको प्रतिष्ठानका फिजिसियन रमेश कँडेलले बताउनुभयो ।
डेंगु रोगको प्रकोप घोराहि उपमहानगरपालिकामा बढ्दो क्रममा रहेको घोराही उपमहानगपालिका स्वास्थ्य शाखाले जनाएको छ । शाखा प्रमुख नारायणप्रसाद घर्तीका अनुसार, पालिकाको अटो भिलेज टाउनमा मुख्य रुपमा समस्या देखा परेको छ । अहिले अटोभिलेजमा एक हप्तामै २०जना भन्दा बढि डेंगुका बिरामी फेला परेका छन् । यसले गर्दा यसको संक्रमण दर अ झ बढ्न सक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । ‘यो एक व्यक्तिबाट अर्कोमा सर्न समय लाग्दैन, लामखुट्टेको टोकाईबाट सर्ने हुँदा संक्रमित मान्छे धेरै ठाउँमा डुल्दा त्यसको प्रभाव धेरै ठाउँमा पर्ने सम्भावना हुन्छ,’ घर्तीले भन्नुभयो, ‘हामीले सचेतना फैलाउँदै नियन्त्रणको प्रयास शुरु गरिसकेका छौँ ।’
उता, स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले पनि डेंगु नियन्त्रणका लागि काम थालनी भएको बताउनुभयो । बाहिरी जिल्लाबाट आएका केहीमा यो संक्रमण देखिएकोमा अहिले अटो भिलेजमा रहेका धेरैमा समस्या देखिएकाले सतर्क हुनुपर्ने बेला आएको बताउनुभयो । हाल घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र केही नीजि स्वास्थ्य संस्थामा डेंगु रोग परिक्षण हुने गरेकोमा परिक्षणका दायरा बढाउने तयारी भएको बताउनुभयो । यसका लागि जिल्लामा कीट अभाव भएको उहाँको भनाई छ । ‘अहिलेको अवस्थामा डेंगुको संक्रमण देखा परेकाले सतर्क हुने बेला आएको छ, कसलाई कतिबेला सर्छ थाहा हुँदैन, हामीसँग परिक्षणका लागि कटि अभाव छ, रोग नियन्त्रण महाशाखामा जानकारी गराएका छौँ,’ स्वास्थ्य कार्यालय प्रमुख शाहीले भन्नुभयो, ‘कीट आउना साथ व्यापक रुपमा परिक्षण हुनेछ ।’
डेंगु रोग परिक्षणसँगै सरसफाई र सचेतना फैलाउनु पर्ने भएकाले स्थानीय सरकार, वडा कार्यालय र टोलविकास संस्थाहरुलाई विशेष ध्यान दिन सचेत गराइएको उहाँले बताउनुभयो । डेंगुकै संक्रमण भएको मानिसको रगत चुसेको लामखुट्टेले अर्को मानिसलाई टोक्दा संक्रमण भइहाल्ने उहाँको भनाई छ । डेंगुले सामान्यतया हुनुपर्ने १० देखि १५ हजार प्लेटलेट्स घटाएर रगत नै चढाउनुपर्ने स्थिति समेत बनाइदिने उहाँले बताउनुभयो ।
डेंगुका कारण धेरै बिरामी परेको थाहा पाएपछि घोराहीले चासो लिएको छ । वडा नम्बर १४ का वडा अध्यक्ष भानसिंह बुढाको नेतृत्वमा स्वास्थ्य कार्यालयका ल्याब टेक्निसयन, वडा प्रहरी, अटोभिलेज समितिका पदाधिकारि बिचमा डेंगु रोग नियन्त्रण सम्बन्धि अन्तरक्रिया गरी शुक्रबारबाटै नियन्त्रणको प्रयास शुरु भएको छ ।
प्रत्येक हप्ता टोल सफाई गर्ने, टायरमा पानी जम्न सक्ने हुँदा व्यस्थापन गर्ने, झुल प्रयोग गर्ने, मछडधुप प्रयोग गर्ने, ज्वरो आएका बिरामीलाई अस्पताल पुर्याउर्ने, जथाभावी औषधि प्रयोग नगर्ने तथा सचेतना फैलाउने काम थालनी भएको घोराहीका स्वास्थ्य शाखा प्रमुख घर्तीले बताउनुभयो ।
‘रोग फैलिन नदिन स्थानीय बासिन्दा, सरोकारवालासँग आपत्कालीन बैठक गरेर औषधि छर्कने, बिरामीलाई उपचारका लागि अस्पताल पठाउने तथा त्यस रोगविरुद्ध जनचेतनामूलक कार्यक्रम अघि सारिएको छ,’ उहाँले भन्नुभयो, ‘अबका दिनमा यसलाई पालिकाका सम्भावित ठाउँमा पनि अभियानका रुपमा अघि सादैछौँ ।’ संक्रमण भएका व्यक्तिले अधिकतम झोल पदार्थ पिउनुपर्ने चिकित्सकको सुझाव छ । बाहिर हिंड्दा पूरा शरीर ढाक्ने लुगा लगाउने, घर आसपास पानी जम्ने स्थान पुर्न उनीहरूको सुझाव छ ।
जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवालालाई लामखुट्टेको बासस्थानको खोजी गरी सम्भावित स्थानमै नष्ट गर्ने उद्देश्यले गरिएको कार्यक्रमलाई निरन्तरता दिने गरी अघि बढेको पालिकाले जनाएको छ । लामखुट्टेको बासस्थान सरसफाई र लार्भा नष्ट गर्ने अभियान चलाइएको स्वास्थ्य कार्यालय दाङले पनि जनाएको छ । घरको कौसी, चौर र बाटोमा जमेको पानी हटाउन सचेत गराउनका लागि माइकिङ पनि हुने भएको छ । कुनै ठाउँमा सफा पानी दुई दिनदेखि तीन दिनसम्म रहे डेंगु फैलाउने एजिप्टाई लामखुट्टेले फुल पार्न सक्ने र त्यसरी जन्मने सबै लामखुट्टेमा भाइरस हुने स्वास्थ्य कार्यालयको भनाई छ ।