Ad Area

कविता : प्रेमालय


भरत रोकाय ‘एक्सन’
तपाईं स्वीकार्नुहोस्,
या नस्वीकार्नुहोस्,
हामीलाई हरेक कार्य गर्न,
योजना बनाउन
र,
ती योजना पूरा गर्न
प्रेमले प्रेरित गर्छ ।
विचार,चेतना क्षेत्रको
एउटा महत्वपूर्ण सम्पदा हो प्रेम ।
प्रेम कुनै गणित र विज्ञान होइन।
पहिले प्रयोगशालामा
प्रयोगात्मक रूपमा प्रयोग गर्ने
अनि परिणाम आएपछि स्वीकार गर्ने।
प्रेमलाई जान्ने कुनै सूत्र हुँदैन।
प्रेमलाई प्रयोग गरेर हेर्ने कुनै प्रयोगशाला छैन।
प्रेम आफैंमा एक रहस्यमय प्रयोगशाला हो।
यसलाई अनभूति मात्र गर्न सकिन्छ।
अनुभूति र अनुभवको नाम नै प्रेम हो।
जबसम्म केतुकीका पातमा
मन्दिरका भित्तामा
फेसबुकका पासवर्डमा
बाँसमा बाँधेका ध्वजाहरुमा,
हातका ट्याटुहरुमा
किताबका प्रथम पेजहरुमा
तिम्रो र मेरा नाम थियो,
जबसम्म हाम्रो जवानी थियो
तबसम्म हाम्रो प्रेमले विश्व ढाकेको थियो।
तर समयका छालसँगै
तिम्रा गाला र निधारमा मुजा पर्न थाले
जब मेरा केशमा सेतो रंगको प्राबल्य हुँदै आयो
तब प्रेम मर्दै गयो रे।
प्रेम प्रेम थिएन रे।
कुनै दमित वासना थियो रे।
प्रेमको अन्धोपना हो रे।
तर प्रिय
म यी कुरा मान्दिन।
मेरो प्रेम अझै पनि शाश्वत छ,
जीवन्त छ,पवित्र छ,
ऊर्जावान् छ, जवान छ।
“जय प्रेम,जय प्रेमी”।।
सल्यान, हाल घोराही दाङ
Blog Post Ad Blog Post Ad