Ad Area

पानी झरीबिच बालापुरमा गुनासो सुन्न पुगे मन्त्री चौधरी


दाङ,१२ भदौ । पानीको झरी पर्न सुरु गरेको थियो । सहरी मन्त्री आउने कार्यक्रम वर्षातकै कारण रद्द हुने त होइन भन्ने चिन्तामा थिए स्थानीयहरु । पानी झन्झन् दर्किन थालेको थियो । वर्षौँदेखिका समस्या मन्त्रीसामु राख्ने तरखरमा रहेका स्थानीय बासीहरु तब खुसी भए जब झरीकाबिच पनि मन्त्री टुप्लुक्क झुल्किए बालापुरमा ।

मन्त्रीज्यू आउनुहुन्न कि भन्ने लाग्या थियो ।’ स्थानीय महिलाहरु अनुहारमा मुस्कान भर्दै खासखुस गर्दै थिए । फूलमालाले स्वागत गरे स्थानीयले । त्यसपछि खिमा मगरले झरीकै बिच कार्यक्रम सन्चालन गर्न थालिन् । स्थानीयका समस्या राख्न सुन्दर चौधरी अगाडि उभिए ।

‘आजसम्म हाम्रो गाउँमा कुनै मन्त्री आएका थिएनन् । तर सहरी मन्त्री आउनुभयो । धेरै खुसी लाग्यो । ५० औँ वर्षदेखि हाम्रोमा चक्लाबन्दीको समस्या छ । यो नै हाम्रो मुख्य समस्या हो । लालपुर्जा छैन । काम गर्न ऋण पाइएको छैन ।

१२० बिघा खेतियोग्य जमिन छ तर सिंचाइको समस्या छ । खरको छाना हटाउने कार्यक्रम हाम्रो गाउँमा आएन । सबै वडाका बाटो कालो पत्रे भए तर हाम्रो गाउँमा राम्रो बाटो पनि छैन । मन्त्रीज्यूले हाम्रो समस्या समाधान गरिदिनुपर्यो ।’

सुन्दर चौधरीले समस्या पस्केपछि मन्त्रीको बोल्ने पालो आयो । सहरी मन्त्री मेटमणि चौधरीले खरको छानो हटाउनका लागि तत्काल ४५ हजारका दरले व्यवस्था मिलाउने बाचा गरे । ‘चक्लाबन्दी तपाईँहरुकै सहमतिमा गर्ने हो ।

कुन मोडेलमा जाने तपाईँहरु आफैँ सल्लाह गर्नुस् । भोग चलन गरेकै ठाउँ उपयोग गर्ने या पहिला सबै हटाएर नापजाँच गर्ने । सल्लाहमै गर्नुस् । यसका लागि छ महिना लाग्नेछ । तर मैले डिजीसँग कुरा गरिसकेको छु । अब प्रकृया सुरु हुनेछ ।’

घोराही उपमहानगरपालिका–२, बालापुरमा आयोजित भेलामा मन्त्री चौधरीले बाटो, खानेपानी र सिंचाइका लागि समेत तत्काल पहल गर्ने बताए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad