Ad Area

घोराहीमा डेंगुको प्रभाव, दुई सातामा ८५ जना बिरामी


घोराही, १४ भदौ । डेंगुको संक्रमण यो वर्ष सुरुवाती समयमै उल्लेख्य रुपमा बढेको छ । विशेषगरी बागमती र लुम्बिनी प्रदेशका जिल्लाहरूमा संक्रमण बढेपछि अस्पतालका इमर्जेन्सी वार्ड भरिन थालेका छन । लामखुट्टेको टोकाइबाट फैलिने डेंगु सामान्यतया भदौबाट देखिने भए पनि यो वर्ष सुरुवाती समयमै अत्यधिक देखिएको चिकित्सकले बताएका छन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म देशभर दुई हजार पाँच सय ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा सन् २००४ देखि पुष्टि भएको डेंगु सन् २०१९ मा आएर अत्यधिक बढेको थियो । पछिल्लो दुई वर्षमा संक्रमण नियन्त्रणमा रहे पनि यो वर्ष अत्यधिक बढिरहेकाले सजग रहनुपर्ने चिकित्सकको सुझाव छ ।  देशभरि नै डेंगुको संक्रमण देखिए पनि बागमती, लुम्बिनी र प्रदेश १ का १० जिल्लामा अधिक छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सबैभन्दा धेरै ललितपुरमा आठ सय ५८, रुपन्देहीमा तीन सय ६३ र काठमाडौंमा पाँच सय ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, दाङमा पनि केही दिनयता डेंगुको संक्रमण बढ्दै गएको स्वास्थ्य संस्थाहरुले जनाएका छन् । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १४ अटो भिलेजलगायत केही स्थानमा डेंगुको संक्रमण निकै बढेको पाइएको छ । जसका कारण अहिले स्वास्थ्य सचेतनासँगै परिक्षण दर पनि बढाइएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । जिल्लामा हालसम्म ८५ जनामा डेंगु पुष्टि भईसकेको छ । अटो भिलेजका काम गर्नेमा शुरुमा डेंगु पुष्टि भएको थियो । अहिले भित्रै समुदाय स्तरमा समेत यसको प्रभाव बढ्दै गएको चिकित्सकको भनाई छ । पछिल्लो दुई सातामा गरिएकोमा परिक्षणमा संक्रमितको संख्या अस्वाभाविक रुपमा बढ्दै गएको देखिएको छ ।

जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२ जना, गोरखा पब्लिक हस्पिटल प्रालिमा १३, बिएस डाईग्नोस्टिक एण्ड पोलिक्लिनिक प्रालिमा १८ जना, शिव मेडिकल हलमा १२ जनामा डेंगु पोजिटिभ देखिएको छ । गोरखा हस्पिटलका दिनेश आचार्यका अनुसार दैनिक रुपमा बिरामीहरु परिक्षणका लागि आउनेमध्ये प्रायमा संक्रमण देखिनुले समस्या बढ्दै गएको छ । बिएस डाईग्नोस्टिकका ल्याव ईन्चार्ज शिशिर सुवेदीका अनुसार, दैनिक रुपमा डेंगु परिक्षणका लागि आउने बिरामीमा संक्रमण पुष्टि हुने गरेको छ । उता, शिव मेडिकलका बिनोद पन्थीले पनि ल्यावमा परिक्षण गरिएका नमूनामा दैनिक डेंगु पोजिटिभ भेटिने गरेको बताउनुभयो ।

दैनिक रुपमा डेंगुको संक्रमण बढ्न थालेको भन्दै घोराही उपमहानगरपालिका र स्वास्थ्य कार्यालयले स्वास्थ्य सचेतनासँगै लामखुट्टेको बासस्थान नष्ट अभियान चलाएको छ । केही समय अघि बुटवल, नारायणघाटबाट आएकाहरुमा डेंगु पुष्टि भएपछि घोराहीमा यसको जोखिम बढेको हो । उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी बेस्सरी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने र शरीर कमजोर हुने लक्षण देखिएका बिरामी बढ्न थालेपछि शंका लागेर रगत परीक्षण गर्दा डेंगु पहिचान भएको थियो ।

घोराहि उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीका अनुसार, पालिकाको अटो भिलेज टाउनमा मुख्य रुपमा समस्या देखा परेको छ । अहिले अटोभिलेज आसपासका मानिसमा दुई हप्तामै ५० जना भन्दा बढि डेंगु पुष्टि भएको छ । यसले गर्दा यसको संक्रमण दर अझ बढ्न सक्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

Blog Post Ad

‘यो एक व्यक्तिबाट अर्कोमा सर्न समय लाग्दैन, लामखुट्टेको टोकाईबाट सर्ने हुँदा संक्रमित मान्छे धेरै ठाउँमा डुल्दा त्यसको प्रभाव धेरै ठाउँमा पर्ने सम्भावना हुन्छ,’ घर्तीले भन्नुभयो, ‘हामीले सचेतना फैलाउँदै नियन्त्रणको प्रयास शुरु गरिसकेका छौँ ।’ यसका लागि संचारमाध्यमबाट डेंगु रोगबारे जनचेतना फैलाउने, सरसफाईमा ध्यान दिन आग्रह गर्नेलगायत काम भईरहेको उहाँले बताउनुभयो । ‘ डेंगु रोग मात्रै होईन अरु रोग पनि फैलिन नदिन स्थानीय बासिन्दा, सरोकारवालासँग औषधि छर्कने, बिरामीलाई उपचारका लागि अस्पताल पठाउने तथा त्यस रोगविरुद्ध जनचेतनामूलक कार्यक्रम अघि सारिएको छ,’ उहाँले भन्नुभयो, ‘अबका दिनमा यसलाई पालिकाका सम्भावित ठाउँमा पनि अभियानका रुपमा अघि सारेका छौँ, सबै सतर्क हुनुपर्ने बेला छ ।’

स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले पनि डेंगु नियन्त्रणका लागि काम थालनी भएको बताउनुभयो । बाहिरी जिल्लाबाट आएका केहीमा यो संक्रमण देखिएकोमा अहिले अटो भिलेजमा रहेका धेरैमा समस्या देखिएकाले सतर्क हुनुपर्ने बेला आएको बताउनुभयो । हाल घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र केही नीजि स्वास्थ्य संस्थामा डेंगु रोग परिक्षण हुने गरेकोमा परिक्षणका दायरा बढाउने तयारी भएको बताउनुभयो । तर, यसका लागि जिल्लामा कीट अभाव भएको उहाँको भनाई छ । ‘अहिलेको अवस्थामा डेंगुको संक्रमण देखा परेकाले सतर्क हुने बेला आएको छ, कसलाई कतिबेला सर्छ थाहा हुँदैन, हामीसँग परिक्षणका लागि कीट अभाव छ, प्रदेश स्वास्थ्य निर्देशनालय र ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराएका छौँ,’ स्वास्थ्य कार्यालय प्रमुख शाहीले भन्नुभयो, ‘कीट आउना साथ व्यापक रुपमा परिक्षण हुनेछ आशा छ एकदुई दिनमै कीट आउने छ ।’

डेंगु रोग परिक्षणसँगै सरसफाई र सचेतना फैलाउनु पर्ने भएकाले स्थानीय सरकार, वडा कार्यालय र टोलविकास संस्थाहरुलाई विशेष ध्यान दिन सचेत गराइएको उहाँले बताउनुभयो । डेंगुकै संक्रमण भएको मानिसको रगत चुसेको लामखुट्टेले अर्को मानिसलाई टोक्दा संक्रमण भइहाल्ने उहाँको भनाई छ । डेंगुले सामान्यतया हुनुपर्ने १० देखि १५ हजार प्लेटलेट्स घटाएर रगत नै चढाउनुपर्ने स्थिति समेत बनाइदिने उहाँले बताउनुभयो ।

प्रत्येक हप्ता टोल सफाई गर्ने, टायरमा पानी जम्न सक्ने हुँदा व्यस्थापन गर्ने, झुल प्रयोग गर्ने, मछडधुप प्रयोग गर्ने, ज्वरो आएका बिरामीलाई अस्पताल पुर्याउर्ने, जथाभावी औषधि प्रयोग नगर्ने तथा सचेतना फैलाउने कामको थालनी भएको घोराहीका स्वास्थ्य शाखा प्रमुख घर्तीले बताउनुभयो ।

संक्रमण भएका व्यक्तिले अधिकतम झोल पदार्थ पिउनुपर्ने चिकित्सकको सुझाव छ । बाहिर हिंड्दा पूरा शरीर ढाक्ने लुगा लगाउने, घर आसपास पानी जम्ने स्थान पुर्न उनीहरूको सुझाव छ । कुनै ठाउँमा सफा पानी दुई दिनदेखि तीन दिनसम्म रहे डेंगु फैलाउने एलिड एजिप्टाई लामखुट्टेले फुल पार्न सक्ने र त्यसरी जन्मने सबै लामखुट्टेमा भाइरस हुने हुँदा त्यसको बासस्थान नष्ट गर्नु सबैभन्दा उत्तम हुने स्वास्थ्य कार्यालयको भनाई छ ।

Blog Post Ad Blog Post Ad