धैरेनी कुलो फुट्दा सयौँ कृषकलाई समस्या

घोराही, १३ भदौ । घोराही उपमहानगरपालिका वडा नम्बर १० धैरेनीमा कुलो फुट्दा स्थानीयबासी मर्कामा परेका छन् । लामो समयसम्म पानी नपर्दा सुख्खा भएको खेत सिंचाई गर्ने बेलामा पानीको बहावभन्दा कल्भर्ट साँधुरो हुँदा कुलो थनिएर ढिक भत्किएपछि धैरेनी कुलो सुकेको स्थानीयले बताएका छन् ।
गएरातिदेखिको अविरल वर्षाका कारण पानीको बहाव बढ्दा धैरेनी कुलोको पानी ढिक फुटेर क्षति गर्दै तल अर्को खोलामा पसेको वडा नम्बर १० का अध्यक्ष दीपक पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार, गत आर्थिक वर्षमा नगरबाट विनियोजित ७ लाख रुपैयाँबाट कल्भर्ट बनाउँदा बचेको पैसाले अर्को कल्भर्ट बनाउँदा प्राविधिक रुपमा कमजोरी हुँदा समस्या भएको हो । जसका कारण पानीको बहावभन्दा कल्भर्टमा लगाईएका ह्युम पाईपले पानी थेग्न नसक्दा कुलो फुटेर ठूलो क्षति गरेको उहाँले बताउनुभयो ।
यसैबीच, कुलोले क्षति गरेको बारेमा जानकारी पाउनासाथ अनुगमनमा पुग्नुभएकी घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले कुलोको अवस्था, पानीको बहाव अनुसार ह्युमपाईप सानो प्रयोग गर्दा क्षति भएको बताउनुभयो । पानीको बहाव अनुसार ठूलो ह्युमपाईप राख्नुपर्ने भएपनि ६० र ९० ईन्चको ह्युमपाईप प्रयोग भएकाले कुलामा पानी भरिँदै जाँदा कुलो फुटे्दा स्थानीय कृषक सिँचाई सुविधाबाट वन्चित भएका छन् । उक्त कुलाको पानी अम्राईबासीले प्रयोग गर्दै आएका छन् । लामो समय खडेरी हुँदा सिचाँई गर्नु पर्ने खेतमा कुलो फुटेपछि समस्या भएको स्थानीयको भनाई छ ।
कुलो फुटेर पानी अन्यत्र जाँदा त्यसको असर घोराही १० कै बागेश्वरी टोल डुबानमा परेको छ । उक्त टोलका केही घरमा पानी पसेको वडा अध्यक्ष पाण्डेले बताउनुभयो । कुलोमा क्षति भएपछि नगरपालिकाले तत्काल मर्मत गर्न डोजर पठाएपनि सोमबार काम हुन नसकेको उपप्रमुख डिसीले बताउनुभयो । पानीले कुलोको बहाव परिवर्तन गर्दै गहिरो बनाएरपछि कुलो सुकाएर मर्मत गरिने उहाँले बताउनुभयो ।