Ad Area

सुगम पालिकाभित्रको दुर्गम पीडा, उपचारका लागि २४ घण्टा कुर्नुपर्ने बाध्यता !


घोराही, १५ भदौ । घोराही उपमहानगरपालिका वडा नम्बर १२ मा पर्छ, गुरौँ गाउँ । जहाँ अहिले पनि बाटो, बिजुली, खानेपानी र आधार सेवा सुविधा केही पनि छैन । जसले गर्दा उपमहानगरपालिकाबासी भएर पनि अनागरिक जस्तै बाँच्नु परेको छ ।

मंगलबार बेलुकी गुरौँ गाउँका १२ जना महिला, बालबालिकाहरु चट्याङमा परेपछि उपचारका लागि अस्पतालसम्म पुग्न गरेको संघर्ष निकै पीडादायी छ । तीजको रौनक जताततै थियो । तीजमा माईती मान्न घर आएका तथा गाउँकै रहेका महिला दिदीबहिनी चेलीबेटी जम्मा भएर दिउँसो गाउँको सालडाँडामा पुगेर नाचगान गरेर बेलुकी घर फकिँदै गर्दा चट्याङले उनीहरु एकै चिहान बनाउने कोशिस गर्यौ ।

मंगलबार बेलुकी करीव साढे पाँच बजे चट्याङ लागेर दुई जनाको ज्यान गयो । अरु १० जना घाईते भए । ‘दिनभर नाचगान गरेर बेलुकी घर फर्किँदै थियो, पानी पनि परिरहेको थियो । बाटो साँघुरो भएकाले लाईन लागेर लम्किरहेका बेला ठूलो आगोको झिल्को आयो, हामी ढल्यौँ,’ बेलकुमारी घर्तीले भन्नुभयो, ‘उठ्दा सबै खत्तम भईसकेको रहेछ । आगोको झिल्कोले दीपा र मनिषाका प्राण पखेरु उडिसकेका थिए, अरु भने बेहोस भएर यत्तिकै ढलेका थिए, बलबुताले जे जति सकेँ, तुरुन्तै उठाएर उठाउने कोशिस गरे ।’

घटनामा पर्नुभएकी बेलकुमारी घर्तीलाई चट्याङले त्यति नोक्सान गरेन । राप्ती स्वास्थ्य विान प्रतिष्ठानको आकस्मिक कक्षमा छोरीसँगै भटिनुभएकी उहाँ अहिले अरु भन्दा टाठै हुनुहुन्छ । उहाँले घटना भएलगत्तै सँगै लस्करै हिँडेका छोरी चेलीलाई ढलेको देखेपछि अर्धचेत अवस्थामै उद्धार गर्नुभयो । झरीमा उद्धार गर्दा उहाँले सबै अचेत भएकाहरुलाई ओत लगाउनुभयो । तर, दीपा र मनिषालाई बचाउन सक्नुभएन । उहाँकी छोरीलाई भने चट्याङले अचेत बनायो ।

प्रतिष्ठानको आकस्मिक कक्षको बेड नम्बर २३ यमकुमारी शाह उपचाररत भेटिनुभयो । उहाँलाई चट्याङ लागेको करीव २४ घण्टा बितिसकेको थियो । गुरौँ गाउँबाट उहाँसहित ९ जना बिरामीलाई घोराही बजार ल्याउन लामो समय लाग्यो । उहाँलाई चट्याङले हान्दा आफुसँगै रमाईलो गर्न गएकी १९ वर्षीया छोरी मनिषा शाहको घटना स्थलमै ज्यान गयो ।

Blog Post Ad

यमकुमारीकी जेठी छोरी मनिषसँगै अर्का १६ वर्षकी दीपा घर्तीले पनि अकाल ज्यान गुमाउनु परेको छ । यमकुमारीका चार छोरीहरु सबै चट्याङको चपेटामा परे । उहाँकी दुई महिनाकी छोरी, जेनिसा, दिलकुमारीलाई पनि चट्याङले घाईते बनाएको छ । ‘नाच गर्ने रमाईलो गर्ने भनेर साल डाँडाको मुनि नयाँ बस्तीमा दिउँसो गएका थियौँ, ठूलो पानी पर्न थालेपछि साँझ घर फर्किने बेलामा अचानक घटना भयो, हामी सबै ढल्यौँ, होस आउँदा नजिकै रहेकी छोरी जलेर प्राण त्यागिसकेकी थिईन्,’ यमकुमारीले भन्नुभयो, ‘पानीले सबै भिजेका थियो, त्यसले गर्दा पनि हामीलाई थप क्षति भएन ।’

आकस्मिक कक्षको बेड नम्बर २२ मा उपचाररत दिलकुमारी शाहले पनि घटनाले निकै पीडा दिएको बताउनुभयो । चट्याङले अहिले शरीर थलिएको बताउँदै टाउको दुख्ने गरेको जानकारी दिनुभयो । अस्पतालको बेडमा एकै परिवारका आमा छोरी लस्करै उपचाररत देख्दा लाग्थ्यो, दैवले पनि निकै पीडा दिएको छ । जेठी छोरी पोष्टमार्टमका लागि शव गृहमा रहेका बेला उनीहरु भने आफ्नो जीवन बचाउन प्रयासररत छन् ।

घटना भएको करीव २४ घण्टापछि मात्रै उपचार पाउन सम्भव हुने ठाउँका नागरिकको जीवन सहज छैन भन्ने दृष्टान्त बनेको छ । जसका कारण गुरौँबासी अब सहज आधाभूत सेवाको प्रतिक्षामा छन् । ‘हामीलाई सबैले ठगेको छ, के गर्नु पहिलेबाट यही बसियो, तर हाम्रा दिन कति दुखका साथ बितेको छ हामीलाई मात्रै थाहा छ,’ बेलकुमारीले भन्नुभयो, ‘अरुको दुख सामाजिक सन्जालमा हेरेका हामी आज त्यसरी नै दुखका पात्र हुन बाध्य भएका छौँ ।’ घटना भएपछि आकुल ब्याकुल भएका गुरौँबासी रातभर सुत्न सकेन । घाईतेहरुलाई उपचारका लागि अस्पतालसम्म पुर्याउन पनि सकेन । कारण थियो, बाटो नहुनु, संचार नहुनु । घाईतेलाई अस्पतालसम्म पुर्याउन डोको र कपडाको झोलुंगा बनाएर ल्याउनु परेको हो ।

कक्षा ५ सम्मको आभारभूत विद्यालय रहेको गुरौँका बालबालिका थप पढाईका लागि कि त हापुर झर्नुपर्छ कि त रोल्पा लाग्नुपर्छ । घटनामा घाईते भएका किशोरीहरु मध्ये धेरै रोल्पाको डुब्रिङमा रहेको श्री नेपाल राष्ट्रिय माविमा कक्षा ८, ९ र १० मा पढ्ने विद्यार्थी हुन् । उनीहरुलाई विद्यालय पुग्न दैनिक ३ घण्टाको पैदल यात्रा गर्नुपर्छ । हरेक दिन खुट्टा नबजारी कामले सिद्धि पाउँदैन । हिजो आज गुरौँ पुग्नका लागि ज्यामिरे र गुरौ खोला तरेर जानुपर्ने अवस्था रहेको स्थानीय रेगबहादुर शाहले भन्नुभयो ।

‘के गर्नु हामीले त जसो तसो दुख काटेर जुनी पार गर्न लाग्योँ, अबका कलिला मुनालाई केही सुविधा दिन पाए हुन्थ्यो भन्ने लागेको छ,’ रेगबहादुरले भन्नुभयो, ‘हामीले भन्छौँ तर सुनुवाई हुँदैन ।’ स्थानीय सरकारले अघिल्लो वर्ष त्यहाँका नागरिकलाई लालपूर्जा दिन भनेर जग्गा नापजाँचको काम पनि गर्यो । तर केही ठाउँमा राष्ट्रिय वन क्षेत्र पर्ने भन्दै अवरोध भएपछि काम रोकिएको छ । गाउँका युवा, बलिया सबै रोजीरोटी र कामको सिलसिलामा घरमा बस्दैनन् ।

गाउँमा छन केवल महिला, बालबालिका अनि जेष्ठ नागरिक । एकाध बलिया पुरुष बाहेक युवा जमात भेट्न गाह्रो पर्छ । हिउँदमा जसो तसो पुग्ने मोटरबाटो बनाए पनि त्यो वर्खाले फेरी क्षतविक्षत बनाएको छ । यो पटक पालिका स्तरबाट पनि त्यहाँको. भौतिक विकासका लागि बजेट परेको छैन । वडा अध्यक्ष द्रोर्ण बहकरीले आफ्नो वडाको पीडा देखेर निकै दुखित भएको बताउनुभयो । यसका लागि नगर कार्यपालिकामा विशेष पहल गरेर दुर्गमका नागरिकको आधारभूत सेवाका लागि पहल गर्ने वचन दिनुभएको छ ।

‘केही काम पर्यो भने त्यहाँ फोन लाग्दैन, बत्ती पनि छैन, खानेपानीको समस्या पनि उस्तै छ उहाँले भन्नुभयो, अब जसरी हुन्छ गुरौँका लागि केही गरेरै छाड्नेछु’ वडाअध्यक्ष बहकरीले भन्नुभयो, ‘जनताका लागि काम गर्न आएको हुँ, म कुनै पनि हालतमा पछि हट्दिन ।’ घाईते भएका सबैको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । उनीहरुको सबै खर्च घोराही उपमहानगरले व्यहोर्ने भएको छ । घाईतेहरु मानसिक र भौतिक रुपमा बढी प्रताडित भएकाले स्वास्थ्य उपचारसँगै परामर्शका काम भईरहेको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले ज्यान गुमाएकाहरुको परिवारलाई क्षतिपूर्ति स्वरुप विपद व्यवस्थापन समितिले राहत सम्बोधन गर्ने बताउनुभयो ।

चट्याङ लागेर घाईते हुनेमा वर्ष १५ की निरुता शाह, वर्ष १५ की जयन्ति घर्ती, वर्ष १६ की यामुसरी थापा, बर्ष ३८ की यम कुमारी शाह रहेका छन् । यस्तै, सामान्य घाइते हुनेहरुमा वर्ष १४ की अन्जना घर्ती, वर्ष ३८ की बेलकुमारी घर्ती, वर्ष १५ की साबित्रा वली, वर्ष ४२ की मनकुमारी वली, वर्ष ४ की जेनिशा शाह रहेका छन् ।

Blog Post Ad Blog Post Ad