Ad Area

दाङमा बिकराल बन्दै आत्महत्या, चार वर्षमा सात सय बढीले गरे आत्महत्या


घाेराही, २६ भदाै । दाङमा वर्षेनी आत्महत्याको संख्या बिकराल बन्दै गएको छ । पछिल्लो ४ वर्षमा हेर्ने हो भने जिल्लामा आत्महत्या गर्नेहरुको संख्या निकै डरलाग्दो गरी बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । पछिल्लो चार वर्षमा मात्रै जिल्लामा सात सय १० जनाले आत्महत्या गरेका छन् । यो संख्या पछिल्ला वर्षमा बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय दाङमा दर्ता भएको रेकर्डअनुसार हरेक वर्ष आत्महत्याको संख्या वृद्धि हुँदै गइरहेको पाईएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वलीका अनुसार आर्थिक वर्ष २०७८–०७९ मा मात्रै २ सय २१ जनाले आत्महत्या गरेको तथ्यांक छ । जसमा सबैभन्दा धेरै झुण्डिएर आत्महत्या गर्ने रहेका छन् । उहाँका अनुसार, १ सय ८१ जना झुन्डिएर, ३६ जना विष सेवन गरेर, ३ जना भीरबाट हामफालेर आत्महत्या गरेका छन् भने १ जनाले आगो लगाई आत्महत्या गरेका छन् ।
यसरी आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष बढी रहेका छन् । तीमध्ये ७७ जना महिला र १ सय ४४ जना पुरुष रहेका छन् । जिल्लामा हरेक वर्ष आत्महत्या दर बढ्दै गएको हुँदा समाजमा यसको रोकथाम चुनौतिपूर्ण  बन्दै गएको प्रहरीको भनाई छ ।
उसो, त आत्महत्यापछि पोस्टमार्टमको झमेलाका कारण कतिपय ठाउँमा गुपचुप दाहसंस्कार हुने गरेको र त्यस्ता घटनाको रेकर्ड नरहेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।
यस्तै, आर्थिक वर्ष २०७५–०७६ मा १ सय ३२ जना, २०७६–०७७ मा १ सय ७३ जना झुण्डिएर, हामफालेर २ जना र १ जना औजार प्रयोग गरेर आत्महत्या गरेको प्रहरी तथ्यांकमा उल्लेख छ ।
यस्तै, २०७७–०७८ मा यो संख्या बढेको छ । उक्त वर्ष १ सय ७७ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने ४ जनाले हामफालेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी उपरीक्षक राजन गौतमले आत्महत्याको चार वर्षे आँकडा हेर्दा दाङ जस्तो कम जनघनत्व भएको जिल्लामा यति धेरै आत्महत्या हुनु र वर्षेनी त्यो संख्या बढ्दै जानु निकै भयावह अवस्था रहेको बताउनुभयो ।

उहाँका अनुसार कुनै एउटा कारणले मात्र नभई थुप्रै कारण र समस्याले गर्दा मानिस आत्महत्या गर्ने मनस्थितिमा पुग्ने गरेको हुँदा आत्महत्या न्यूनीकरण गर्न सबैभन्दा पहिलो कुरा परिवारमा माया, आपसमा हेरचाह र सोधपुछ हुनुपर्ने बताउनुहुन्छ ।

आत्महत्या बढ्दै जानुको पछाडि धेरै कारण रहेपनि युवाहरु बढी मात्रामा यसको सिकार बन्ने गरेका छन् ।  डिप्रेसनले गाँज्दै जाँदा आत्महत्याको प्रयाससम्म पुगेका धेरै जना निरन्तरको उपचार र परामर्शपछि सामान्य जीवनमा फर्किएका छन् । निको भएपछि घर–परिवार र जागिर तथा व्यापार व्यावसयामा रमाइरहेका छन् । तर समस्याको पहिचान भएर पनि उपचारमा नजाने, उपचारमा गएर पनि बिचमै उपचार तथा परामर्शलाई छाड्ने र समस्याको पहिचान नै नभइ आत्महत्या गर्नेहरु पनि निकै छन् । जसले गर्दा घरपरिवार, समाजमा यसले निकै भयावह रुपमा जरा गाड्दै लगेको प्रहरीको तथ्यांकले देखाएको छ ।
उसो त, नेपाल प्रहरीको तथ्यांकले पनि आत्महत्याको संख्या बढ्दो क्रममा रहेको देखाउँछन् । मनोचिकित्सकहरु भने आत्महत्याको बढ्दो ग्राफलाई धेरै हदसम्म कम गर्न सकिने बताउँछन् । समस्या पहिचान गरेर उपचार तथा परामर्शपछि धेरै मानिसहरुले जीवन बचाउन सकिने मनोचिकत्सकहरु बताउँछन् ।

नेपालमा दैनिक रुपमा औसतमा १९ जनाले आत्महत्या गर्छन् । र, यो संख्या वर्षेनी बढ्दो क्रममा छ । गत पाँच वर्षमा मात्र २९ हजार २४६ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्यांक छ ।
अधिकांशले आत्महत्याका लागि पासो र विषको बाटो रोज्ने गरेका छन्। विष खाएर, हाम फालेर, डुबेर, आगो लगाएर, औजार हातहतियारबाट पनि आत्महत्या गर्नेहरुको संख्या उल्लेख्य देखिने गरेको छ ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार विश्वमा प्रत्येक वर्ष आठ लाख मानिसको मृत्यु आत्महत्याबाट हुने गरेको छ । जुन संख्या प्रत्येक ४० सेकेण्डमा एउटा आत्महत्या बराबर हुन्छ । प्रत्येक आत्महत्याले १ सय ३५ व्यक्तिहरुलाई प्रभाव पार्दछ ।
कुल आत्महत्यामध्ये ७७ प्रतिशत आत्महत्या न्यून तथा मध्यम आय भएका देशहरुमा हुने गरेको छ । १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको चौथो कारण आत्महत्या हो । एक व्यक्तिले आत्महत्याका लागि २० पटकभन्दा बढी प्रयास गर्ने गरेको डब्लुएचओले जनाएको छ ।

सामाजिक भेदभाव, जनचेतनाको अभाव, समयमै उपचारको उपलब्धतामा कमी र सहज पहुँच नहुनु, असुरक्षा, आर्थिक अभाव, लैङ्गिक हिंसा, बञ्चितीकरण तथा हिंसात्मक वातावरणका कारण अक्सर मानिसले आत्महत्याको बाटो रोज्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वलीले बताउनुभयो । उसो त, आत्महत्या गर्नेको तथ्यांक हुने गरेपनि कति व्यक्तिले आत्महत्याको प्रयास गर्छन् भन्ने यकिन तथ्यांक भने नरहेको उहाँले बताउनुभयो । ‘मृत्युभन्दा आत्महत्याको प्रयास धेरै पटक हुन्छ । यो सत्य हो,  झण्डै २५ गुणा बढी हुन्छ भनिन्छ,’ उहाँले भन्नुभयो, ‘एउटा व्यक्तिले आफ्नो जीवन अन्त्य गर्न औसतमा झण्डै २५ पटक आत्महत्याको प्रयास गरेको हुन सक्छ ।’

Blog Post Ad

विकसित मुलुकमा एक पटक आत्महत्या प्रयास गरेको व्यक्तिलाई बचाउन चिकित्सकले निरन्तर सम्पर्कमा राख्ने गरेको भएपनि नेपालमा यो हुन नसक्दा मानिसले गलत बाटो रोज्ने गरेको उहाँ बताउनुहुन्छ ।
एक चिकित्सकले तीन जना बिरामीलाई हेरे मात्र पुग्छ । तर नेपालमा भने एक जना चिकित्सकले धेरै बिरामी हेर्नुपर्ने भएकाले गुणस्तरीय मानसिक स्वास्थ्य कायम हुन नसकेको उहाँको भनाई छ । ‘प्रहरीले अपराध रोक्ने प्रयास गर्ने हो, समाजमा यस्ता घटना दैनिक रुपमा हुन्छन् यसका लागि समुदायस्तरबाट सहयोग चाहिन्छ,’ उहाँले भन्नुभयो, ‘मानिसले आफ्नो जीवन बर्बाद पार्नु भनेको देश नै दुर्घटनामा परे जस्तै हो ।’ यसका लागि आत्महत्याका सम्भावित लक्षण पहिचान गरी युवाहरुमा उत्साह र विश्वास जगाउनुपर्ने मनोचिकित्सक बताउँछन् ।

नेपालमा आत्महत्याको समस्या वर्षेनी बढ्दै गइरहेको हुँदा समुदायस्तरमा सचेतनासँगै अभिप्रेरणाका कार्यक्रम निकै आवश्यक रहेको मनोचिकित्सक बताउँछन् ।
नकारात्मक सोच आउनु, जीवनलाई अर्थहीन र मूल्यहीन देख्नु, निराश हुनु, दिक्क लाग्नु, रुन मन लाग्नु, दुखी भइरहनु, लागु औषधि र मादक पदार्थको सेवन बढ्नु, निद्रामा गडबडी र भावनात्मक उतारचढाव हुनु, सामाजिक सञ्जालहरुमा आत्महत्या गर्ने विचार, योजना तथा निराशाजनक अभिव्यक्तिहरु प्रकट गर्नु जस्ता आत्महत्याका प्रमुख कारक रहेकाले समाजका हरेक व्यक्ति, उनीहरुका अभिभावक निकै चनाखो बन्नुपर्ने मनोसामाजिक परामर्शदाता सुशीला आचार्यको भनाई छ ।
आत्महत्याको घटना घटिसकेको परिवारमा अन्य सदस्यहरु सधै जोखिममा रहने हुँदा उनीहरुलाई मनोपरामर्श चाहिने चिकित्सक बताउँछन् । धेरै महिलाहरु लैङ्गिक विभेदमा आधारित हिंसाका कारण आत्महत्या गर्न बाध्य हुने गरेको मनोसामाजिक परामर्शदाता आचार्य बताउनुहुन्छ । ‘आत्महत्या भनेको आत्म बचाउको गुहार हो,’ उहाँले भन्नुभयो, ‘समस्या निराकरणका लागि उसले आफैलाई दिएको कठोर यातना हो ।’

सामाजिक भेदभाव, लैङ्गिक तथा अन्य हिंसाका कारण महिलाहरुमा डिप्रेसनको बढी समस्या देखिएको छ । १५ देखि २९ र ७० वर्ष माथिका व्यक्तिहरु डिप्रेसनको जोखिममा पर्ने गरेका उहाँको भनाई छ । ‘परिवारको भूमिका निकै महत्वपूर्ण हुन्छ । तर परिवारलाई बुझाउन पनि बुझाउने र बुझेको मान्छे चाहिन्छ । समयमै समस्याको पहिचान र उपचार हुने हो भने आत्महत्याको दर एकदमै घटाउन सकिन्छ’ उहाँले भन्नुभयो ‘प्राथमिक स्वास्थ्य केन्द्रमा आधारभूत मानसिक स्वास्थ्य भित्र परामर्श, औषधि उपचार राख्ने र समुदायस्तरमा जनचेतना फैलाउने हो भने ८० प्रतिशत बढी डिप्रेसन, एन्जाइटी सम्बन्धी समस्या समाधान हुन्छ ।’

Blog Post Ad Blog Post Ad