Ad Area

कैदीबन्दीलाई सीप सिकाउँदै घोराही कारागार


घोराही, ५ असोज । घोराही कारागारमा कसुर सजाय भुक्तान गर्दै आएका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले सीपमुलक तालिम शुरुभएको छ । कारागार कार्यालय घोराहीको आयोजना तथा समाज कल्याण केन्द्र दाङको समन्वय एवम् घोराही उपमहानगरपालिका वडा नम्बर १५ को आर्थिक सहयोगमा बुधबारबाट पाँच दिने सीपमुलक तालिम शुरु गरिएको छ । समाज कल्याण केन्द्रकि अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्यमा सीपमुलक तालिम शुरू भएको हो ।

कार्यक्रममा जेलर बासुदेव खनालले अनौपचारिकतालाई प्राथमिकता दिँदै कैदीबन्दीलाई असल र ईमान्दार मानिस बनाउने अभियानमा लागेको बताउनुभयो । गाँस, बास र कपासको व्यवस्थामा कैदीबन्दीको अधिकारको विषय भएकाले उनीहरुलाई कानुनले वर्जित गरेको विषय बाहेक अरु कुरामा स्वतन्त्रता दिनुपर्ने मान्यताका साथ अहिले काम भईरहेको बताउनुभयो ।

खासगरी कैदीबन्दीहरुलाई दण्डगृह, अपराध गृह नभई चेतना गृह, सुधार गृहका रुपमा स्थापित गर्दै मानिस बनाउन आचरण सुधारसँगै नैतिकवान बनाउने काम भईरहेको उहाँको भनाई छ । सो अवसरमा कारागारमा बस्दै आएका कैदीबन्दीलाई सिपले सम्मान दिने तथा आत्मनिर्भर बनाउँदै सभ्य नागरिकको पहिचान दिलाउने काम गर्ने हुँदा सकारात्मक बाटोमा अघि बढ्न हौसला दिने काम भईरहेको वक्ताहरुको भनाई थियो ।

३ सय २४ जना कैदीबन्दी मध्ये केहीले अहिले पनि आफुसँग भएको सीपलाई उत्पादनसँग जोडेर मासिक १० हजारदेखि ४० हजार रुपैयाँसम्म कमाउँदै आएको हुँदा सबै व्यक्ति कुनै न कुनै सीपमा जोडिन सके भोलिका दिनमा समाजमा सहज रुपमा बाँच्न सजिलो हुने अपेक्षाका साथ यो अभियान अघि बढाइएको वडाअध्यक्ष पाण्डेले बताउनुभयो । सीप सिकेर आगामी जीवन सफल बनाउन सकिने धारणा राख्दै उहाँले काराबास जीवनलाई सीपयुक्त बनाउँदै भोलि समाजमा जाँदा सक्षम व्यक्ति बनेर जान आग्रह गर्नुभयो ।

उहाँले व्यक्ति सक्षम भए समाजले पनि सहज रुपमा स्वीकार गर्ने वातावरण बन्ने हुँदा सीपबाट उत्पादन भएका बस्तुलाई बजारीकरणमा स्थानीय सरकारले भुमिका खेल्ने बताउनुभयो । उदघाटन समारोहमा जीवन उपयोगी सीपका बारेमा प्राध्यापक सुन्दर गौतमले धारणा राख्नुभएको थियो । मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपसभापति सुशील बस्नेतले सजाय भुक्तानपछि परिवार र समाजमा अन्तरघुलन हुने वातावरण बनाउन व्यक्ति सक्षम हुनुपर्ने बताउनुभयो ।

Blog Post Ad

कैदीबन्दीहरुले मैनवत्ती, अगरबत्ती, सरफ बनाउने तालिम लिनेछन् । तालिमको मुख्य प्रशिक्षकमा विष्णु थापा रहनुभएको छ । केन्द्रकी सदस्य पार्वता योगीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण विन्दु दाहालले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad