Ad Area

महिलाहरु व्यावसायिक क्षेत्रमा अगाडी आउनुपर्छ- बञ्जाडे


एक दशक अघिसम्म अधिकांश महिला घरभित्र मात्र सिमित हुन्थे । केही महिलाहरु राजनीति तथा सामाजिक काममा अग्रसर भएपनि अधिकांश महिलाहरुको दैनिकी घरको काम गर्दैमा बित्ने गरेको थियो । तर, अहिले समय फेरिँदै गएको छ । हरेक जसो महिलाहरु घर बाहिरका काममा पनि सरिक हुन थालेका छन् । आयआर्जनको बाटोमा सामेल हुन थालेका छन् । विभिन्न पेशा व्यवसाय र रोजगारमा महिलाहरुको सहभागिता प्रशंसा गर्न लायक छ ।

व्यवसाय गर्दा धेरै समस्या हुन्छन् । महिलाहरुलाई अझ थप असहज मानिन्छ । घर सम्हाल्नेदेखि व्यवसाय सम्हाल्नु पक्कै पनि सजिलो छैन । तर, घोराही उपमहानगरपालिका वडा नं १५ की आरबी ट्रेर्डसकी सञ्चालक राधा बञ्जाडेका लागि यी सबै कुरा सामन्य बनेका छन् । जो विगत १६ वर्षेखि श्रृङ्गार पसल संचालन गर्दै आएकी छिन् । उनले महिला श्रृंङगारका सामग्रीहरु साविक राप्ती अञ्चलका दाङ, रोल्पा, प्युठान, रुकुम र सल्यान जिल्लामा १८ वटा डिलरमा पुर्याउँछिन् । आफ्नो व्यवसाय मार्फत ६ जना महिला तथा २ जना पुरुषलाई रोजगार दिदै आएकी छिन् । व्यवसायका दैरान पाएका सफलता र चुनौतीको विषयका बारेमा उनै बन्जाडेसँग समानान्तर डटकमका आर्थिक विट संयोजक अमरराज आचार्य ले कुरा गरेका छन् । -सम्पादक

कसरी व्यवसायिक क्षेत्रमा प्रवेश गर्नुभयो ?

मेरो सानैदेखिको रुचि नै व्यवसाय क्षेत्र थियो । त्यसैले म व्यवसायमा लागेको हुँ । व्यवसायमा आफु स्वतन्त्र भएर काम गर्र्न पाइने हुँदा पनि यो क्षेत्र मेरो रोजाईमा परेको हो । अरुको काम गर्नुभन्दा आफ्नै केही गर्नु पर्दछ भन्ने थियो । त्यसैले व्यवसाय क्षेत्रमा प्रवेश गरेको हुँ । बेरोजगार भएर बस्नु भन्दा केही गर्नु उद्देश्यले व्यवसाय शुुरु गरेँ । विशेष गरि महिलासँग जोडिएको काम नै शुुरु गरेँ ।

व्यवसाय गर्दा के कस्ता समस्या भोग्नु परेको छ ?

महिलाहरुलाई व्यवसाय गर्न अझै पनि सजिलो छैन । अहिले पनि धेरै महिलाहरु बाहिर आउनु हुदैन् । अधिकांश महिलाहरु घरभित्र नै सिमित हुने गर्नुभएको छ । तर, महिलाहरु केही गर्नुपर्छ भनेर अगाडि आउन आवश्यक छ । जसले गर्दा आत्मनिर्भर बन्न सकिन्छ । हरेक क्षेत्रमा समस्याहरु छन् । ती समस्यालाई समाधान गर्दै अगाडि बढ्न आवश्यक छ । महिलाहरुलाई सहज रुपमा विश्वास समेत गरेको पाइँदैन । घरपरिवार हेर्नुपर्ने भएकाले पनि थप समस्या हुने गरेको छ । महिलाले गरेको व्यवसाय भनेर सामग्री बिक्री गरेको पैसा उठाउने समया रहेको छ । शुरुका दिनमा व्यवसाय गर्दा मैले पनि धेरै समस्या भोग्नु परेको थियो । घरपरिवारबाट समेत व्यवसाय गर्न उति सहयोग थिएन । श्रीमानको सहयोग भएपनि अन्य सदस्यको सहयोग भएको थिएन । त्यही पनि सङघर्ष गर्दै अगाडि बढेको हो । अहिले त घर परिवार सबैको सहयोग छ । सबैको सहयोगले नै म यहाँसम्म आएको हुँ ।

Blog Post Ad

समाजमा श्रृङगारिक व्यवसायलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ?

समाजमा श्रृङगारिक व्यवसायलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन हुन सकेको छैन । श्रृङगारिक व्यवसाय गर्नेलाई अहिले पनि नकारात्मक रुपमा कहीँ न कहीँ हेरेको पाइन्छ । जसले गर्दा यो व्यवसाय गर्ने महिलाहरुलाई समेत राम्रो दृष्टिले हेर्ने गरेको पाइँदैन । तर, यसलाई परिवर्तन गर्न आवश्यक छ । महिलामा पनि इमान्दारीता, लगनशिलता हुनुपर्दछ । अरुको कुराको पछि नलागेर अगाडि बढ्न सक्नुपर्दछ । नियत सफा भएमा तथा धैर्यताका साथ अगाडि बढेमा समाजले हेर्ने नजर समेत परिवर्तन हुँदै जान्छ । समस्या आयो भन्दैमा समस्याबाट नभागेर समस्यालाई समाधान गर्दै अगाडि बढ्न सक्नुपर्दछ ।

व्यवसायमा सफल बन्न के कुरामा ध्यान दिन आवश्यक छ ?

हरेक क्षेत्रमा सफल बन्न आफनो इच्छा शक्ति, मेहनत र धैर्यता हुन आवश्यक छ । हरेक क्षेत्रमा चुनौती आउँछन्, चुनौतीलाई समाधान गर्दै अगाडि बढ्न सक्नुपर्दछ । समस्यामा पनि समधानको पहिचान गर्न सक्नु पर्दछ । जसले गर्दा सफल बन्न सहयोग पुग्छ जस्तो लाग्छ । समस्या आयो भने पछाडि हट्न हुदैन त्यसको सामना गर्ने सामथ्र्य राख्नुपर्छ ।

कोभिडले गर्दा व्यवसायमा के कस्तो असर पुर्यायो ?

हरेक क्षेत्रमा कोभिडले असर पुर्याएको छ । व्यवसाय क्षेत्रमा पनि धेरै असर पुगेको छ । श्रृङगारिक व्यवसाय अति आवश्यक व्यवसाय नभएकाले पनि कोभिडको समयमा बन्द भयो । यसको प्रत्यक्ष असर व्यवसायीको आर्थिक पक्षमा पर्यो ।

व्यवसाय क्षेत्रलाई अगाडि बढाउन राज्यले के गर्न आवश्यक छ ?

वास्तवमा व्यवसाय क्षेत्रलाई अगाडि बढाउन राज्यले कुनै पनि व्यवसाय गर्न चाहनेहरुलाई सही वातावरण सृजना गर्नुपर्दछ । जसले गर्दा सहज रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बन्छ । राज्यले व्यवसायीहरुको सुरक्षामा पनि ध्यान दिनुपर्छ । वातावरण राम्रो भएन भने व्यवसायमा समस्या पनि हुन्छ । त्यसैगरेर व्यवसाय गर्नका लागि सहुलियतमा ऋण प्रदान गरिएमा लगानी गर्न समेत सहज पुग्ने छ । तर अहिलेसम्म त्यो हुन सकेको छैन । व्यवसायीहरुलाई आवश्यक पर्ने तालिम, सिप प्रदान गर्नु पर्दछ । तालिम, सीप लिएपछि व्यवसाय सम्बन्धी जानकारी हुने भएकाले सहजता हुनेछ । यसतर्फ सोँच्न जरुरी छ । राज्यको तर्फबाट त्यस प्रकारको कार्य हुन सकेको छैन । व्यवसायीहरुबाट कर उठाउने दृष्टिले मात्र हेर्ने गरिएको छ । यसलाई परिवर्तन गर्न जरुरी देखिन्छ ।

अन्त्यमा, केही भन्नु छ कि ?

मलाई मेरा कुरा राख्ने अवसर दिनु भएकोमा तपाइलाई र समानान्तर डटकम परिवारलाई धेरै धन्यवाद दिन चाहन्छु । जुनसुकै स्थानमा काम गर्दा पनि आफ्नो लगनशिलता, मेहनत र इमान्दारीता हुन आवश्यक छ । अनिमात्रै काममा सफलता पाउन सकिन्छ । महिलाहरु घरभित्र मात्रै सिमित नभएर आत्मनिर्भर बन्नका लागि अगाडी बढ्न आवश्यक छ ।

घरभित्र सिमित नभएर आफैले केही गर्नुपर्दछ भन्ने सोँचका साथ अगाडि बढ्नु पर्दछ । सबैले महिलालाई हर्ने दृष्टि कोणमा समेत परिवर्तन ल्याउन जरुरी देख्छु । हरेक क्षेत्रमा काम गर्दा चुनौतीहरु आउन सक्छन्, ती चुनौतीहरुलाई समाधान गर्दै अगाडि बढ्न सक्नु पर्दछ । चुनौतीले नै वास्तविक सिकाइ हुने हो ।

व्यवसायमा आउन चाहने महिलाहरुलाई मेरो तर्फबाट हुन सक्ने सहयोग रहने छ । यस क्षेत्रमा आउनु भन्दा पहिले यस क्षेत्रको बारेमा राम्ररी जानकारी लिएर आउनसमेत अनुरोध गर्दछु । जसले गर्दा काम गर्नको लागि समेत सहजता हुनेछ । आउनुहोस् सबै मिलेर व्यावसायिक क्षेत्रमा अगाडि बढौँ भन्न चाहन्छु । धन्यवाद !

Blog Post Ad Blog Post Ad