Ad Area

पूर्वाधार थप्दै टरीगाउँ विमानस्थल, ईन्धन डिपो संचालनको तयारी


घोराही, १० असोज । २०१७ सालदेखि सञ्चालनमा आएको तुलसीपुर १२ स्थित टरीगाउँ विमान स्थलमा पूर्वाधार थप्ने कामले तीव्रता पाएको छ । लामो समयसम्म ईन्धन डिपोको कारण देखाउँदै नियमित उडान हुन नसकेको बेला अहिले ईन्धन डिपोको अन्तिम काम भईरहेको विमान स्थल प्रमुख गणेश अर्यालले बताउनुभयो ।

‘बाउजर संचालनका लागि ईन्धन र बाउजर राख्ने भवन बनी सकेको भएपनि तर हस्तान्तरण भएको छैन’ उहाँले भन्नुभयो ‘उपकरण परिक्षण गर्न र तेल जाँच गर्न भारत पठाउनु पर्ने हुन्छ, अहिले भारतबाटै प्राविधिक आएर परिक्षणको काम गरिराखेका छन् ।’

फ्युल चेक भएपछि जहाजका लागि योग्य छ छैन भनेर टुंगो लागेपछि काम हुने उहाँको भनाई छ । प्राविधिक नेत्रबहादुर भण्डारीका अनुसार अहिले ईन्धन परिक्षणका काम सफल भएको छ । मेसीनले सही ढंगले काम गर्नुका साथै ईन्धनको गुणस्तर पनि राम्रो रहेकाले आगामी दिनमा ईन्धन भर्नका लागि विमानलाई थप ईन्धन बोकेर उडान भर्नुपर्ने बाध्यता हट्ने भएको छ । विमान स्थल प्रमुख अर्यालका अनुसार, परिक्षणको काम तीव्र पारिएकाले सम्भवतः टरीगाउँ ईन्धन डिपो दशै अघिबाटै शुरू हुनेछ ।

‘भौतिक काम पूरा भएको छ, औपचारिक थालनी हुन मात्रै बाँकी छ’ उहाँले भन्नुभयो ‘सबै काम सफल हुँदै गएकाले दशै अगावै औपचारिक रुपमा शुरु हुनेछ ।’ मिलिपोर टेस्ट अनिवार्य गर्नुपर्ने हुँदा यसलाई विमान स्थलले गम्भीरताका साथ लिएको छ । ‘मिलिपोर टेस्ट अनिवार्य सँगै सफल भए मात्रै प्लेनमा फ्युलिङ गर्न मिल्छ,’ उहाँले भन्नुभयो ।

Blog Post Ad

प्राविधिक भण्डारीका अनुसार, ११ हजार लिटरको बाउजर भएकाले विमान स्थलका लागि केही ठूलो मानिएको छ । जसका कारण यसको ठाउँमा ९ हजार लिटर क्षमताको बाउजर भएपुग्ने उहाँले बताउनुभयो । ‘अर्को बाउजर ल्याउने तयारी भएको छ तर आएपछि मात्रै यो बाउजर अन्यत्र जान्छ,’ उहाँले भन्नुभयो, ‘यसका लागि प्रकृया अघि बढेको छ । केही दिन अघि यही बाउजर अन्यत्र लैजाने तयारी भएपनि सर्वत्र चर्चा चुलिएको थियो ।’

अहिले नेपाल आयल निगमले करीव ७ कट्ठा जमीन विमान स्थलसँग भाडामा लिएर ईन्धन डिपो स्थापना गरेको छ । सो डिपो राखेवापत विमान स्थललाई भाडा बुझाउनु पर्ने हुन्छ । त्यसैले अरु विमान कम्पनीले पनि उडान भरेमा ईन्धन डिपोलाई फाईदा हुनुका साथै यसको औचित्य हुने उहाँको भनाई छ । टरीगाउँको ईन्धन डिपो ३० हजार लिटर क्षमताको हो ।

यसका लागि नेपालगंजबाट २० वा २४ हजार लिटरका ट्यांकरबाट हवाई ईन्धन ल्याएर प्रयोगमा ल्याउन सकिन्छ । हाल उडान भर्दै आएको नेपाल एअर लाईन्सको ट्वीन एटर करीव ७ सय लिटर ट्यांकीको भएकाले दैनिक एक उडानले आगामी दिनमा यो सम्भव नहुने निगमको भनाई छ । त्यका लागि जति धेरै विमान कम्पनीले नियमित उडान भर्नेछन् त्यही अनुपातमा ईन्धन खपत हुनेछ ।

ईन्धन डिपो शुरु भए भाडा घट्ने हुँदा यस लाई प्राथमिकतामा राख्न स्थानीयले आग्रह गर्दे आएका छन् । तुलसीपुर १२ टरीगाउँका शिबबहादुर बुढाथोकीले लामो समयसम्म नियमित हुन नसकेको टरीगाउँ विमान स्थलमा ईन्धन डिपो संचालनमान आएपछि हवाई उडानमा आयाम थपिने आशा पलाएको बताउनुभयो । यसका लागि नीजि विमान पनि दाङबाट उडान भर्ने वातावरण बनाउन उहाँले आग्रह गर्नुभयो ।

यस्तै, विमान स्थलमा रहेको हालको नियन्त्रक कक्षको स्तरोन्नतिको काम पनि अघि बढाइएको छ । करीव १ करोड बढीको बजेटका चारतले विमान स्थल नियन्त्रक कक्षसहित उपकरण राख्ने आधुनिक भवन निर्माणको काम अघि बढाइएको छ । ‘कार्यालय भवन र टावर नयाँ बन्दैछ’ उहाँले भन्नुभयो ‘चारतलेको बन्नेछ, यसले यहाँको विमान स्थलमा थप आयाम ल्याउने छ ।’ भवन निर्माणको काममा अहिले कामदार लागि परेका छन् । पुरानो जीर्ण भवनबाट काम हुँदै आएकाले अहिलेको परिवेशमा नयाँ र आधुनिक उपकरण जडान गरेर विमान स्थल संचालन गर्ने तयारी भएको हुँदा यात्रु तथा विमान संचालकहरुलाई पनि सहज हुने उहाँले बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जिम्मा लिएको विमान स्थलको लम्बाई र धावन मार्गले ठूला जहाज बसाल्न नमिल्ने चुनौति रहेको छ । जसका कारण जिल्लाका यात्रु भैरहवा वा नेपालगंजबाट हवाई यात्रा गर्न बाध्य छन् । विमान स्थल प्रमुख अर्यालले धावन मार्गको लम्बाई थप्ने विषय पटक– पटक छलफल भएपनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । हालको धावन मार्ग सात सय पचास मिटरको मात्रै छ । जसका कारण ट्विन एटर, लेट फोर वन जिरो, ड्रोन एअर बाहेक ठूला विमान अवतरण र उडानमा समस्या छ । यहाँका राजनीतिक नेतृत्व तथा नीजि क्षेत्रले बारम्बार रन वे लम्ब्याउने विषयमा बोल्दै आएपनि काम अघि बढ्न नसकेको उहाँले बताउनुभयो । त्यसैले कुरा धेरै काम कम भएको बताउनुभयो ।

तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीका पालामा विमान स्थलको रन वे बढाउने भन्दै बनाइएको डिपीआरका आधारमा काम हुन सकेको छैन । अहिले फेरी नयाँ डिपीआर बनाउने चर्चा चुलिएको छ । उसो त, नीजि क्षेत्र, तुलसीपुर उपमहानगर आफैले पनि यो विषयमा चासो लिँदै आएको छ । विमान स्थल प्रमु्ख अर्यालले भने ठोस कुरा नआउदासम्म काम हुने नहुने भन्न नसकिने बताउहुन्छ । ‘काम गर्ने सबैले भन्नुहुन्छ, होला पनि’ उहाँले भन्नुभयो ‘प्राविधिक रुपमा काम सम्भव छ तर कसरी हुने भन्ने कुरा मुख्य हो ।’

प्राविधिकले रन वे लम्ब्याउदा हालको अवस्थालाई सिधै लम्ब्याउने वा ठाउँ परिवर्तन गरेर लम्ब्याउने भन्ने बारेमा बहस छ । करीव ३६ विगाहा क्षेत्रफलमा रहेको टरीगाउँ विमान स्थलको ३० मिटर पूर्वमा र पश्चिममा धेरै ठाउँ रहेकाले प्राविधिकले यो विषयमा स्थलगत अध्ययन गरी डिपीआर बनाउने छन् भन्नेमा विश्वास छ, डिटेल सर्भे गरेर चाँडो काम अघि बढाउनुपर्ने अवस्था छ ।’ उहाँले भन्नुभयो ।

आवश्यक पूर्वाधारको अरु काम पूरा भईसकेकाले अब रन वे को काममा सबैले ध्यान दिएर काम गरेमा दाङबाटै ठूला विमान संचालनमा ल्याउन सकिने र हवाई भाडा पनि सस्सो हुने उहाँले बताउनुभयो । अहिले नेपाल एअरलाईन्सले मात्रै उडान भर्दै आएको छ । साताको सोमबार र बुधबार बाहेक दिनमा एक उडान हुँदै आएको बताउँदै उहाँले बिहान साढे १० पछाडि काठमाडौँबाट सिधा उडान हुने गरेको जानकारी दिनुभयो । अहिले ईन्धन डिपो संचालनमा नआएका कारण विमानले थप ईन्धन बोकेर ल्याउँदा यात्रुलाई भाडा महंगो पर्ने गरेको छ । हाल दाङ–काठमाडौँ हवाई भाडा १२ हजार रहेको उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad