Ad Area

घोराहीमा फोहोर व्यवस्थापन : नगल्ने फोहोर खरिद, गल्ने फोहोरबाट ग्याँस उत्पादन


घोराही, १४ असोज । तत्कालिन घोराही नगरपालिकामा फोहोर व्यवस्थापनको बिषय मुख्य समस्या थियो । ‘बजारमा यत्रतत्र रुपमा फोहोर छरिएका हुन्थे, घोराही–१४ नयाँ बजारका बसन्त पुन मगर सम्झन्छन्, । जहाँ मन लाग्यो फोहोर फाल्दा बजार कुरुप देखिन्थ्यो, दुर्गन्धले सहिनसक्नु थियो । नगरपालिकाको फोहोर उठाउने गाडी नआउँदा सडकको छेउमा फोहोर थुपारेर राख्नु बजारवासीको बाध्यता थियो ।

घोराही उपमहानगरपालिका वडा नं. १६ करौतीडाडाँस्थित डम्पिङ साइडमा फोहोर फाल्न रोक लगाइएको थियो । जथाभावी फोहोर डम्प गर्दा दुर्गन्धले स्थानीयहरु आन्दोलन गर्न बाध्य थिए । जसले गर्दा कति पटक फोहोर फाल्न पुगेका गाडीलाई फर्किनु परेको थियो, स्थानीयको आन्दोलनका कारण । तर अहिले यो सबै समस्या छैन् । डम्पिङ साइडमा फोहोरको गन्ध आउदैँन् । करौंतीडाँडास्थित डम्पिङ साइड नजीकमा बसोवास गर्ने स्थानीयहरुलाई फोहोर फाल्ने ठाउँले असर गरेको छैन् । स्थानीय सीता चौधरीले डम्पिङ साइड हो भन्ने महसुश नभएको बताइन् । ‘डम्पिङ साइडमा बनाइएको फुलको बगैंचामा गाईबस्तुका लागि घाँस काट्ने गर्दछौँ पहिलेको जस्तो समस्या छैन’– उनले भनिन् ।

०७४ सालमा स्थानीय तहको निर्वाचनको समयमा फोहोर व्यवस्थापन सबै दलको चुनावी नारा थियो । निर्वाचित जनप्रतिनिधिहरुले यसलाई नीति कार्यक्रममा प्रमुख प्राथमिकता दिएका थिए । यसका लागि प्रयाप्त बजेट विनियोजन गरी खर्च गरिएको छ । ०७४ देखि हाल सम्म ८ करोड ५९ लाख ८० हजार बजेट खर्च गरिएको घोराही उपमहानगरपालिकाका सुचना अधिकारी भीमबहादुर चौधरीले जानकारी दिएका छन् ।

फोहोरको उचित तरिकाले व्यवस्थापन गर्ने, फोहोरलाई मोहर बनाउने, गल्ने फोहोर नगल्ने फोहोर छुट्टाउने, फोहोरबाट पनि आम्दानी गर्न सक्ने गरी योजना बनाएर काम गरिएको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी बताउछन् । फोहोर व्यवस्थापनका सवालमा निर्वाचित भैसकेपछि धेरै दुःख गर्नुपरेको बताए । ०७४ मा फोहोर मैला व्यवस्थापन कार्यविधि २०७४ बनाएर व्यवस्थापनको काम सुरु गरेको नगर प्रमुख चौधरीले बताए । गल्ने र नगल्ने फोहोर छुट्टाउनका लागि स्थानीयलाई धेरै पटक आग्रह गर्नुपरेको बताए । ‘पहिले नगरवासीलाई गल्ने र नगल्ने फोहोर छुट्यार गाडीमा फाल्न बानी लगाउन धेरै समस्या भयो’,नगर प्रमुख चौधरीले भने,‘तर विस्तारै बानी पर्न थालेपछि अहिले सहज भएको छ ।’ पटक पटक आग्रह गर्दापनि नटेर्नेलाई कार्यविधि बनाएर कारवाही गर्ने भनेपछि समस्या समाधान सहज बन्दै आउको उनले बताए ।

नगर प्रमुख चौधरीका अनुसार २०७५ साल भदौ २४ गतेदेखि ३० गतेसम्म घोराहीका सबै वडामा सरसफाई सम्बन्धि कार्यक्रम गरी सप्ताहव्यापी दिवस मनाइएको थियो । सरसफाई र फोहोर व्यवस्थापनका क्षेत्रमा उत्कृष्ट वडालाई पुरस्कृत, सबै वडालाई क्रियासिल वनाउन घोराही उपमहानगरपालिकास्तरीय बिषयगत सरसफाई अनुगमन उपसमिति गठन गरी फोहोर व्यवस्थापन गरिएको थियो ।

उपमहानगरको फोहोर उठाउन आवश्यक परेकाले ४ वटा कम्प्याक्टर, एउटा संक्सन ट्यांक र अर्काे एउटा पावरटेलर खरिद गरेको थियो । गल्ने र नगल्ने फोहोर उठाउनका लागि छुट्टाछुट्टै गाडी बनाएर फोहोर उठाउन थालियो । ती फोहोर उठाउने गाडीहरु विहान ६ बजे फोहोरमैला व्यवस्थापन सम्बन्धि सचेतनाका गीत बजाउदै फोहोर उठाउन जाने गर्दछन् ।

Blog Post Ad

गल्ने फोहोर उठाउने गाडीले नगल्ने फोहोर नलिने हुँदा बजारबासीहरु गल्ने र नगल्ने फोहोर छुट्याएर पठाउन थाले । आफ्नो घर तथा टोल सफा राख्ने गरी प्रत्येक सनिवार बजार बासीले सरसफाई गर्न थाले । फोहोरमैला व्यवस्थापन कार्यबिधि विपरितका कार्यलाई कारवाही तथा जरिवाना गर्ने नीति बनाइयो । जसले बजारवासीलाई सचेत रहन बाध्यता बनायो । घोराही उपमहानगरपालिकाले फोहोरलाई मोहरमा बदल्ने र पूर्ण सरसफाई युक्त नगर बनाउने योजना अनुसारको काम थालेको छ ।

स्थानीय पालिकामा जनप्रतिनिधि आइसकेपछि आगामी २० वर्षसम्म डम्पिङ गर्ने संरचना बनाइएको छ । पहिले खाल्डो खनेर फोहोर गाड्ने गरिएको थियो । तर अहिले सबै फोहोरलाई प्रयोगमा ल्याउन थालिएको छ । उपमहानगरले गल्ने फोहोरलाई बायो ग्याँस उद्योगमा पठाउछ भने नगल्ने फोहोरलाई खरिद गर्दछ । जसले बजारबाट संकलन हुने फोहोरलाई फेरी प्रयोग गर्न मिल्ने योजना अगाडी बढेको छ । हाल घोराहीमा दैनिक रुपमा १५ देखि २० टनसम्म फोहोर उठने गरेको उपमहानगरपालिकाले जनाएको छ ।

नगल्ने फोहोर खरिद

घोराही उपमहानगरपालिकाले नगल्ने फोहोर खरिद गरिरहेको छ । ०७८ बाट हालसम्म ४१ हजार रुपैँयाको नगल्ने फोहोर खरिद गरेको हो । फोहोर खरिद कार्यक्रम अन्तर्रगत आर्थिक वर्ष २०७७÷०७८ मा २१ हजार र २०७८÷०७९ मा २० हजारको नगल्ने फोहोर खरिद गरेको घोराही उपमहानगरपालिका सरसफाइ शाखा प्रमुख लक्ष्मण अधिकारीले बताएका छन् । उपमहानगरपालिकाले गएको आर्थिक वर्षमा चार लाख बजेट विनियोजन गरेको थियो ।

तर बजारमा नगल्ने फोहोर कम हुँदा विनियोजित बजेटको फोहोर खरिद गर्न नसकिएको बताए । ‘नगरपालिकाले मात्र नभई अन्य कवाडी व्यवसायीले पनि खरिद गर्ने भएकाले थोरैको मात्र खरिद भएको छ’,शाखा प्रमुख अधिकारीले भने,‘नगल्ने फोहोर घोराही उपमहानगरपालिकासँगै कवाड व्यवसायहरुले समेत खरिद गर्छन् ।’ उपमहानगरपालिकाले प्लास्टिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई १० रुपैयाँ, कपडा प्रतिकेजी पाँच रुपैयाँ, सूर्तिजन्य प्लास्टिकको फोहोर प्रतिकेजी दुई रुपैयाँ, गत्ता, कापीसहित वर्गीकरण अनुसारका फोहोरलाई १० देखि २० रुपैयाँ प्रतिकिलोमा खरिद गर्दछ । यसरी खरिद गरिएको नगल्ने फोहोलाई उद्योगसँंग समन्वय गरेर बिक्री गरिने अधिकारीले बताए ।

नगल्ने फोहोर प्लास्टिक र सिसाका वस्तुहरू उद्योगमा पठाइने छ । घोराहीले हाल खरिद गर्दै आएको फोहोर निजी क्षेत्रलाई दिने निर्णय गरेको छ । नगरपालिकाको मातहतमा राखेर फोहोर खरिद गर्नका लागि निजी क्षेत्रलाई दिनका लागि ठेक्का आह्वान गरिने उनले बताए । घोराहीलाई जसरी पनि फोहोर मुक्त उपमहानगरपालिका बनाउने तयारी भैरहेको बताए ।

गल्ने फोहोरलाई उपयोग गर्न बायो ग्याँस

घोराहीमा गल्ने फोहोरलाई उपयोग गर्न बायो ग्याँस प्लान्ट निर्माण गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं १६ करौतीडाँडामा स्थापना गरिएको बायो ग्याँस प्लान्ट गएको बैशाख महिना उद्घाटन गरिएको छ ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, नेपाल उर्जा विकास कम्पनी र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सहकार्यमा फोहरबाट ग्याँस उत्पादन गर्न थालिएको हो । त्रिपक्षीय सम्झौता ५ मंसिर २०७५ मा भएको थियो । नगरपालिकाले संरचना निर्माणका लागि करिव ३ बिगाहा जग्गा उपलब्ध गराएको छ । ग्याँस प्लान्ट २ हजार घन मिटरको निर्माण गरिएको छ । ग्याँस उत्पादन गर्नका लागि पहिले करिव २० करोड लगानी लाग्ने भनिएको थियो तर पाइपमार्फत घरघरसम्म ग्याँस पु¥याउनु पर्ने भएपछि थप दुई करोड बढेर लागत करिव २२ करोड बढी पुगेको छ ।

परीक्षणको रुपमा केही समय अघिदेखि फोहोरबाट ग्याँस उत्पादन सुरु गरिएको प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले जानकारी दिएकाछन् । अहिले दैनिक ३ सय घन मिटरसम्म ग्याँस उत्पादन भैरहेको म्यानेजर श्रेष्ठले बताए । ‘अहिले फोहोर कम राखिएको छ । जसले गर्दा ग्याँस समेत उत्पादन कम भएको हो’,म्यानेजर श्रेष्ठले भने,‘पछि ग्याँस उपभोक्ताको घर–घरमा पु¥याउन थालियो भने फोहोरको मात्र समेत बढाउनुपर्छ ।’ उपभोक्ताको घरघरमा ग्याँस पु¥याउनका लागि फोलो मिटर आएपछि फोहोर धेरै राखेर ग्याँस उत्पादन वृद्धि गरिने उनले बताए ।

पलान्टमा ग्याँस उत्पादन भएपनि उपभोक्ताको घरघरसम्म पु¥याउनका लागि फोलो मिटर आउन नसक्दा ग्याँस वितरण हुन नसकेको उनले बताए । घर–घरसम्म पु¥याउनका लागि पाइप आइसके पनि पाइप विस्तारसमेत नगरिएको श्रेष्ठले बताए । ‘पाइप मात्र विस्तार गरेर मात्र के गर्नु फोलो मिटर आएको छैन’, उनले भने,‘चीनबाट फोलो मिटर ल्याउनको लागि अर्डर भैसकेको छ । मिटर आएपछि ग्यास वितरण हुनेछ ।’

प्रिपेड सिममार्फत ग्याँस वितरण गरिने उनको भनाइ छ । ‘सिममा पैसा भएपछि ग्याँस पाइने छ, पैसा नभएमा ग्याँस पाइने छैन’, उनले भने,‘यसका लागि नेपाल टेलिकमसँग समेत सम्झौता गरिसकिएको छ ।’ ग्याँसको पैसा उठाउन समस्या हुने भएकाले यस प्रकारको व्यवस्था गर्न थालिएको म्यानेजर श्रेष्ठले बताएका छन् ।

पहिलो चरणमा ७ सय ५० घर घुरीमा पु¥याउने भनेर सर्भे गरिएको छ । थप पछि विस्तार गरिने छ । फोहोरबाट ग्याससँगै कम्पोष्ट मल उत्पादन गरिने उनले बताए । ग्याँस वितरणसंगै कम्पोष्ट मल वनाउने प्रक्रिया अगाडी बढ्छ, उनले बताए । कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता गरिएको छ । २० वर्षसम्मका लागि कम्पनीले नगरपालिकालाई नाफाको ५ प्रतिशत रकम दिने सहमति भएको छ । यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकेमा नगरपालिकाको आम्दानीको स्रोत हुने छ ।

ग्याससँगै कम्पोष्ट मल उत्पादन गरिने भएपछि अरु पालिका बाट उत्पादन हुने फोहर व्यवस्थापनमा समेत सहजता हुने अपेक्षा गरिएको छ । घोराहीमा फोहोर कम आउँदा अरु पालिकाहरुसंग नगल्ने फोहोर संकलनको लागि सहकार्य गरिने म्यानेजर श्रेष्ठले बताएका छन् । जिल्लामा नै फोहोरबाट ग्याँस उत्पादन भएपछि ग्याँसको मूल्य पनि कमी हुने नागरिकले अपेक्षा लिएका छन् । यो कामको अवलोकन गर्न जिल्ला बाहिरका पालिका तथा नीजि क्षेत्रका प्रतिनिधिहरु आउछन् ।

पुर्ण सरसफाई नगर घोषना गरिने

घोराही उपमहानगरपालिकालाई पूर्ण सरसफाई नगर घोषना गरिने भएको छ । हाल पूर्ण सरसफाईका सूचकहरु पुरा गर्न थालिएको छ । घोराही उपमहानगरपालिका बातावरण तथा सरसफाई शाखा प्रमुख लक्ष्मण अधिकारीले पूर्ण सरसफाई नगर घोषनाका लागि घोराहीका १९ वटै वडामा आर्थिक बर्ष २०७७÷०७८ बाट नागरिकहरुलाई सचेतना प्रदान गरिएको बताए ।

सरसफाई नगर घोषनाका लागि नागरिकहरुहरुलाई फोहोर नगर्ने, उत्पादन भएको फोहोरलाई उचित व्यवस्थापनका लागि पालिकासंग समन्वय गर्ने, नगल्ने फोहोरलाई संकलन गरि पालिकालाई विक्रि गर्ने, सरसफाईका आनिबानीमा सुधार गर्ने, नियमित साबुनपानीले हात धुने बानी बसाल्ने जस्ता सामान्य कुरामा सचेत गराएको अधिकारीले बताए ।

घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९ मा पूर्ण सरसफाई अभियान संचालन गर्ने, सार्वजनिक घुम्ती सौचालय बनाउने, छाडा पशु चौपायाको व्यवस्थापनका र आवश्यक सरसफाई व्यवस्थापनको कार्यक्रमका लागि ८७ लाख ६० हजार रुपैँया वजेट बिनियोजन गरेको छ ।

कार्यविधि विपरित गरे कारवाही

घोराहीमा फोहोर व्यवस्थापन कार्यविधि तयार गरिएको छ । फोहोरमैला व्यवस्थापन कार्यविधि २०७४ पहिलो संशोधन २०७५ को अनुसार कार्यविधि विपरितको काम गरे कारवाही हुनेछ ।

कार्यविधि अनुसार वडाले तोकेको स्थान बाहेक फोहोर निष्काशन गर्नेलाई ३ हजारदेखि ७ हजार रुपैँयासम्म जरिवाना, दोस्रो पटक दोहोरिएमा १० हजार रुपैँया जरिवाना गर्ने, कन्टेनर वा फोहोरमैला संकलन केन्द्रमा राखिएको फोहोरमैला अनाधिकृत रुपले प्रयोग गरेमा ५ सय देखि ३ हजार रुपैँयासम्म जरिवाना गरिने छ ।

फोहोरमैला व्यवस्थापनका लागि राखिएको कन्टेनर तोडफोड गर्ने, क्षती पु¥याउने, राखिएको स्थानबाट हटाउने गरेमा १५ सय रुपैँयादेखि ५० हजारसम्म जरिवाना, फोहोरमैला संकलन केन्द्रमा हानिकारक पदार्थ राख्नेलाई पाँच सयदेखि १५ हजार रुपैँयासम्म जरिवाना, सार्वजनिक स्थानमा फोहोरमैला थुपार्नेलाई पाँच हजारदेखि ५० हजार रुपैँयासम्म जरिवानाको व्यवस्था गरिएको छ ।

फोहोरमैला व्यवस्थापनमा अवरोध पु¥याउनेलाई १० हजारदेखि ५० हजार रुपैँयासम्म जरिवाना, पैदल तथा सार्वजनिक यातायातका यात्रुले जथाभावी फोहोर फालेमा एक सय रुपैँया जरिवाना,चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गरी जथाभावी फालेमा एक सय रुपैँया जरिवानाको व्यवस्था गरिएको छ । तर हालसम्म कार्यविधि उल्लङ्घन गरि कोही पनि कारवाहीमा परेका छैनन् । ‘हामीले फोहोर गर्ना साथ कारवाही गर्न मिल्दैन्, पहिले सचेत बनाउने हो, त्यसपछि पनि फोहोर गरेमा कारवाही गर्ने, तर अहिलेसम्म कारवाही गर्ने अवस्था आएको छैन्’,उहाँले भन्नुभयो । यहाँका नागरिकहरु फोहोर व्यवस्थापनको सवालमा सचेत हुँदा कारवाही गर्न नपरेको बताए । सचेतनाका लागि यहाँका सामुदायिक रेडियोबाट सचेतनामुलक जिंगल बजाउने गरिएको छ । टोल विकास संस्थामा स्वयंसेवकहरुले यी काम गरेका छन् ।

 

Blog Post Ad Blog Post Ad