Ad Area

डेंगु नियन्त्रण गर्न ‘बासस्थान खोज र नष्ट गर’ अभियान जरुरी


घोराही, १४ असोज । डेंगु नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान सबैभन्दा प्रभावकारी हुने स्वास्थ्य विज्ञहरुले बताएका छन् । लामखुट्टेका धेरै प्रजातिमध्ये डेंगु सार्ने एडिस एजिप्टाई निकै चलाख र विशेष खालको लामखुट्टे भएकाले मानिस बस्ने घर, कार्यालयका पानी जम्ने साना साना ठाउँलाई बासस्थानका रुपमा विकास गर्ने हुँदा घरबाटै त्यसको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानमा लाग्न कीटविज्ञ मुरारी दासले सुझाव दिनुभयो ।

डेंगु रोगको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय जनप्रतिनिधिहरुसँग घोराहीमा आयोजित अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग ईपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखा र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय, दाङका सबै पालिकाका जनप्रतिनिधि, चिकित्सक, स्वास्थ्य शाखा प्रमुखलगायत सहभागी हुनुभएको थियो ।

सो अवसरमा कीटविज्ञ दासले डेंगु नियन्त्रण गर्न मनसुन सुरु हुनु अगावै अबका वर्षहरुमा सचेतना बढाउन अपिल गर्नुभयो । यसका लागि स्थानीय पालिकाले डेंगु नियन्त्रणको एजेन्डा बनाउनुपर्ने उहाँको सुझाव थियो । ‘स्वास्थ्यका बारेमा नागरिकबाटै लापरबाही छ, प्लास्टिकका चिया गिलास, पानीका बोटल, चाउचाउका खोल डेंगुका लागि पर्याप्त भेटिन्छ,’ उहाँले भन्नुभयो ।

खोज र मार अभियाननै सबैभन्दा प्रभावकारी कदम भएको उहाँले बताउनुभयो । यो एक पटकले पनि नहुने बताउँदै निरन्तर गरिरहनु पर्ने बताउनुभयो । ‘लामखुट्टेले पारेको अण्डाको आयु एक वर्ष हुन्छ । त्यसैले अण्डा पार्नै नदिने अभियानमा लाग्नुपर्छ,’ उहाँले भन्नुभयो ‘समस्याको बिचमा उपाय निकालेर ल्याउनु पर्ने बेला छ । कम लागतमा बढि प्रभावकारी कदम चाल्नु पर्ने अवस्था छ ।’

ठूला ताल तलैया, पोखरी डेंगु सार्ने लामखुट्टेको बासस्थान नभई साना साना खाडल, गमला, खाली टायर, बाल्टिन, कप जस्ता स्थानलाई विशेष रुपमा निगरानी गर्न र पानी जम्न नदिन घरबाटै अभियान चलाउनु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य विज्ञ गुणराज लोहनीले बताउनुभयो । ब्रिडिङ नियन्त्रण गर्ने बारेमा चेतना जगाउन र स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

स्वास्थ्य निर्देशनालयका प्रमुख विनोदकुमार गिरीले लामखुट्टेको बासस्थान र त्यसको फुल पार्ने ठाउँ प्रजाति अनुसार फरक फरक हुने भएकाले साना साना पानी जमेका ठाउँलाई टार्गेट बनाएर खोज र नष्ट गर अभियान चलाउन अपिल गर्नुभयो । यो लामखुट्टे औषधी छर्केर तत्काललाई मेरपनि त्यसका लार्भा नमर्ने हुँदा यो अझ जोखिम हुने भन्दै बासस्थान खोज्दै नगट गर्ने तर्फ लाग्नु नै वैज्ञानिक रहेको उहाँले बताउनुभयो ।

‘लामखुट्टेको बासस्थान र गुड प्रजाति अनुसार फरक फरक हुने भएकाले अवस्था अनुसार उपचार खोज्नुपर्छ । ठूला पोखरी, तालमा अण्डा पार्दैन । यसले साना साना पानी जमेका ठाउँलाई टार्गेट बनाउँछ,’ उहाँले भन्नुभयो ‘अण्डा पार्ने स्थान पत्ता लगाउने काममा जुट्न पालिकाहरुलाई अपिल छ, ब्रिडिङ साईट खोज्नुस् । यो अफिस, घर, कारखाना, बसपार्कलगायतका ठाउँमा भेटिने गरेको छ जसका लागि हप्ताको दुई चोटी निरन्तर अभियान चलाउनुस् ।’

प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा। विकास देवकोटाले अहिले पनि वर्षा हुने क्रम नरोकिएकाले थप सतर्क हुनुपर्ने बताउनुभयो । डेंगु नियन्त्रण गर्न व्यक्ति, परिवार समुदायबाट थालनी गर्नुको विकल्प नरहेको बताउँदै पालिकाले यो अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन समन्वय गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘वर्षा हुने क्रम नरोकिएकाले थप सतर्क हुनुपर्ने छ,’ उहाँले भन्नुभयो ‘डेंगु नियन्त्रण गर्न व्यक्ति, परिवार समुदायबाट थालनी गर्नुको विकल्प छैन । पालिकाले यो अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन समन्वय गर्नुपर्ने आवश्यकता छ ।’

उहाँले मलेरिया, कालाजार, ईन्सेफ्लाईटिस सार्ने लामखुट्टे भन्दा डेंगु सार्ने लामखुट्टे निकै चलाख हुने बताउनुभयो । ‘मलेरिया, कालाजार, ईन्सेफ्लाईटिस सार्ने लामखुट्टे भन्दा डेंगु सार्ने लामखुट्टे निकै चलाख हुने हुँदा त्यो भन्दा चलाखीपूर्ण कदम चाल्नुपर्छ’ उहाँले भन्नुभयो ‘यसका लागि दशै अगावै घरघरमा पुगेर अभियान चलाउन जरुरी छ ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. रमेश कँडेलले महामारीका रुपमा कोरोनापछि डेंगु भए पनि स्क्रवटाईफस पनि बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले अहिलेका बिरामीले डेंगुको उपचार गर्दा सावधानी अपनाउन नसकेको बताउनुभयो । ‘वरिपरि घुमेर अन्तिममा आउँदा अरु रोगले असर गरिसकेको हुन्छ । विभिन्न निजि स्वास्थ्य संस्थाले अनावश्यक परिक्षण गरेर बिरामीमा थप तनाव दिने गरेको पाईएको छ,’ उहाँले भन्नुभयो, ‘यो बिरामी ठग्ने काम हो । आर्थिक भार थप्ने तथा एन्टीवायोटिक औषधी खान लगाएर स्वास्थ्य जटिलता थप्ने काम भईरहेको छ ।’ उहाँले आगामी दिनमा मौसमी रुपमा देखा पर्ने निमोनिया, पखाला, जस्ता रोगको बारेमा योजना बनाउन अपिल गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा पालिकाहरुले हालसम्म अपनाउँदै आएका विधि र अभियानका बारेमा जानकार गराएका थिए । जिल्लाको घोराही डेंगुको उच्च जोखिममा रहेको छ । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्का, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्रा घर्ती मगर, शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि पुनलगायतले पालिका स्तरमा भएका काम र चुनौतिका बारेमा जानकारी गराउनुभएको थियो ।

प्लास्टिकका चिया गिलास, पानीका बोटल, चाउचाउका खोल डेंगुका लागि पर्याप्त भएकाले समस्याको बिचमा उपाय निकालेर कम लागतमा बढि प्रभावकारी कदम चाल्नु पर्ने अवस्था रहेकोमा जोड दिईएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार हाल जिल्लामा १ हजार ४ सय ७३ जनामा डेंगु पुष्टि भएको छ । जसमा केही पालिकाको तथ्यांक नसमेटिएको बताइएको छ । स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले विषय प्रवेश गराउनुभएको कार्यक्रमको सहजीकरण फोकल पर्सन कमल चन्दले गर्नुभएको थियो ।