Ad Area

देउखुरीमा बाढीले अर्बौँको क्षति गरेको नागरिक समाजको प्रारम्भिक ठहर


घोराही, २५ असोज । वर्षाका कारण आएको बाढीले देउखुरीका चार पालिकामा ठूलो मात्रामा भौतिक क्षति गरेको नागरिक समाज दाङले ठहर गरेको छ । वर्षाका कारण घर र खेतबारीमा बाढी पस्दा क्षति भएको ५ दिन बितिसक्दा पनि स्थानीय पालिकाले अहिलेसम्म पीडितको लगत संकलन गर्न नसकेको हुँदा उद्धारपछिको राहत सहयोगमा पनि ढिलाई भएको पाईएको समाजले जनाएको छ ।

बाढीका कारण भएको क्षति बारे स्थलगत रुपमा पीडितका आवाज सुन्न र यथार्थ बस्तुस्थिती बारे जानकारी लिन मंगलबार समाजका जिल्ला संयोजक केबी मसालको नेतृत्वमा देउखुरीका चार वटै पालिकामा पुगेको टोलीले ठूलो मात्रामा भौतिक क्षति व्यहोरे ठहर गरेको हो । समाजका अनुसार, देउखुरीमा मात्रै १० हजारभन्दा बढी नागरिक प्रभावित हुनुका साथै अर्बौको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।

जिल्लाको लमही, राजपुर, गढवा र राप्ती गाउँपालिकाका विभिन्न वडामा पुगेर स्थलगत जानकारी लिनुका साथै पालिका स्तरबाट भईरहेको पछिल्लो प्रयासका बारेमा पनि समाजले चासो लिएको थियो । सो अवसरमा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपति यादवले पालिका स्तरमा लगत संकलनका काम भईरहेको बताउनुभयो ।

उहाँले केही सामाजिक संघसंस्थाको पहलमा अति आवश्यक भएकाहरुलाई केही सहयोग गर्नु बाहेक थप सहयोग गर्न नसकेको हुँदा माथिल्लो तहबाट सहयोगको अपेक्षा गर्नुभयो । उहाँका अनुसार, बाढीबाट बढी मात्रा प्रभावित भएकाहरु पालिकाको पहलमा सामुदायिक विद्यालयमा स्थानान्तरण गरिएका छन् । तत्काल खाने बस्ने व्यवस्था पालिकाले मिलाएको बताउँदै उहाँले गंगदी र जंग्रहवा स्कुलमा बाढी पीडितलाई बसालिएको बताउनुभयो । राजपुरमा ६ सय घरपरिवार प्रत्यक्ष प्रभावित भएको जानकारी गराउँदै उहाँले उद्धारपछिको राहत वितरण गर्ने श्रोतको समस्या भएको बताउनुभयो ।

यस्तै, गढवा गाउँपालिकाको वडा नम्बर २ र ५ का स्थानीय पनि बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन् । सो वडाका नागरिकको बस्ने खाने समेत समस्या भएपछि तत्कालका लागि सामुहिक मेस चलाएको गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले बताउनुभयो । उहाँका अनुसार लोखरपुरुवाका ९५ जना, महदेवा र डाँडागाउँमा २ सय जनालाई मेस चलाएर खाने व्यवस्था मिलाएको बताउनुभयो । यस्तै, बाढीका कारण नमुना प्रावि पचहिया र प्रावि महदेवाको भौतिक संरचना पूर्ण रुपमा क्षतिभएकाले पठनपाठन कसरी संचालन गर्ने भन्ने समस्या थपिएको बताउनुभयो ।

Blog Post Ad

सबै वडा बाढीबाट प्रभावित भएपनि कति घरपरिवार प्रभावित भएका छन् भन्ने बारे यकिन विवरण संकलन भई नसकेको भएपनि ठूलो मात्रामा सहयोग आवश्यक पर्ने हुँदा पालिका एक्लैले धान्न नसक्ने उहाँले बताउनुभयो । धान बालीमा भएको नोक्सानी बारे लगत लिन कृषि शाखाले काम अघि बढाएको तथा पशुपंक्षीको क्षति बारे पशु शाखाले काम अघि बढाएको हुँदा क्षतिको यकिन विवरण संकलनमा ढिलाई भएको बताउनुभयो । प्रारम्भिक जानकारी अनुसार ठूला क्षतिको अुनमान गरिएकाले प्रदेश र संघ सरकार, सहयोगी दाताको अपेक्षा गरेको बताउनुभयो ।

लमही नगरपालिकाको विभिन्न वडामा पुगेर बाढीले पारेको प्रभाव बारे जानकारी लिनुका साथै उद्धार र राहतमा अहिलेसम्म भएका प्रगतिका बारेमा जानकारी लिईएको थियो । सो अवसरमा, लमही नगरपालिका वडा नम्बर ७ हसनापुरका सत्यनारायण चौधरीले गाउँमा बाढी पस्दा ठुलो क्षति भएको बताउनुभयो । उहाँले काट्नका लागि तयार भएको करीव २० विगाहाभन्दा बढी धान काट्न नमिल्ने भएको छ । सो गाउँका गणेशराम चौधरी, लिला श्रेष्ठ, जयप्रकाश चौधरी, हरिप्रसाद चौधरी, रामबीर चौधरीलगायतको घरमा बाढी पस्दा भत्किएको छ । सो पालिकाको वडा नम्बर ८ सतबरीयाका छेदिराम चौधरीको घर डुब्दा सबै क्षति भएको छ । वर्षापछि आएको बाढीले घरमा रहेका सबै बगाएको लग्नुका साथै खानेकुरा पनि नभएपछि छिमेकीले दिएको चाउचाउ, बिस्कुट खाएर बस्नु परेको उहाँले बताउनुभयो ।

गंगाराम चौधरीले २०१८ सालपछिको ठूलो बाढी आएको बताउनुभयो । आफ्नो जीवन कालमा यति ठूलो बाढी पहिलो पटक देखेको बताउनुभयो । राजपुर गाउँपालिका वडा नम्बर ६ गंगदीकी रानु चौधरीले पनि आफ्नो कच्ची घरमा बाढी पसेपछि केही बचाउन नसकेको बताउनुभयो । धानले भरिएको डेहरी फुटेर धान बगाईदिएको, खानेकुरा लगायत केही नबचेपछि अहिले विद्यालयमा आएर पालिकाको शरण लिएको बताउनुभयो ।

यस्तै, गढवा गाउँपालिका वडा नम्बर २ महदेवाका रामगोपाल चौधरीले घरमा भएको अन्न लत्ता कपडा मात्रै नभई खोरमा बाँधिएका चौपाया समेत बगाएर लगिदिएको बताउनुभयो । अहिले उहाँको खोर रित्तै छ । पाकिसकेको धान बाढीले धेरै जसो ठाउँमा पुरेको छ भने केही स्थानमा ढालिदिएका कारण बोटमै उम्रिन थालेको छ । यस्तै, भटमास, मास, अडहरलगायतका बालीमा पनि बाढीले क्षति गरेको छ ।

बाढीले पुर्याएको क्षतिको अवस्था बारे जानकारी लिँदै नागरिक समाजले स्थानीय सरकारलाई पीडितहरुको पीडामा मलम लगाउने काममा ढिलाई नगर्न सचेत गराएको छ । यस्तै, स्थानीय पालिकालाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर व्यवस्थित बस्ती विकासको काममा जुट्न अपिल पनि गरेको छ ।

स्थगलगत अनुगमनमा नागरिक समाजका देउखुरी संयोजक निमबहादुर थापा, देउखुरी सचिव बालमुकुन्द शर्मा यस्तै, जिल्लाका सदस्यहरु हरिप्रसाद पाण्डेय, पद्मप्रसाद शर्मा, छबिलाल कोपिला, दामोदर भण्डारीलगायतको टोलीले बाढी पीडितको समस्या सम्बोधनमा बिलम्ब नगर्न ध्यानाकर्षण पनि गराएको छ । अहिलेसम्म दाङमा बाढी पहिरोका कारण भएको क्षतिको यकिन विवरण कुनै पनि पालिकाले संकलन गर्न सकेका छैनन् ।

Blog Post Ad Blog Post Ad