Ad Area

बाढी पीडित भन्छन्, ‘धान राप्तीको बाढीले पु¥यो, के खाने ?


दाङ, ३० असोज । राजपुर गाउँपालिका–४ फोहोरा खल्वा टोल निवासी रामप्रताप यादव दशै मनाएर खेतमा पाकेको धान काट्ने सोचमा थिए । तर असोज १८ गतेदेखि परेको अबिरल बर्षातका कारण २१ गते राप्ती नदीमा आएको बाढी घरभित्र पस्नका साथै २२ कठ्ठा खेतमा रोपेको धान पागोले पुरिदिएपछि अहिले रामप्रताप घरभित्र पसेको पानी र हिलो हटाउँदैछन् ।

बाढीले घरमा भएको अन्नपात र लत्ताकपडासँगै खेतमा रोपेको धान समेत पुरिदिएपछि रामप्रतापलाई आफ्नो ८ जनाको परिवारको के गरी जीवन पाल्ने भन्ने चिन्ता थपिएको छ । ‘हामी खेती र भैसी पालेर गरी खाने परिवार हौ । राप्ती नदीमा आएको बाढीले घरमा भएको अन्नपातसँगै खेतमा पाकेको धान समेत पुरिदिएको छ’, रामप्रतापले भने– ‘गरिखाने मान्छेलाई नदीले नि ठगेको छ । अब के गरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ ?’ उनले भने– ‘आफ्नो घर बस्न लायक नभएपछि दाईको घरमा बसेका छौँ ।’

दाइको घरमा बस्दै आएको रमप्रतापको परिवारलाई तत्कालका लागि राहतस्वरूप वडा कार्यालयले २५ केजी चामलको बोरासँगै दुई केजी दाल, २÷२ पोका तेल र नूनलगायतका सामग्री सहयोग दिएको छ । त्यही राहतस्वरूप प्राप्त गरेको चामल, दाल, नून र तेलले जीविको चलाउँदै आएका यादव यस्तो विपत् कसैलाई नआओस् भन्ने गर्दछन् । ‘म अहिले ३९ बर्षको भए । राप्तीले यसरी यहाँसम्म आएर क्षेती गरेको अहिलेसम्म थाहा पाएको थिएन’, उनले भने– ‘तर यो पटक खल्वा टोलसम्मै राप्ती नदी आएर दुःख दिएर गयो ।’ उनका अनुसार बाढीबाट बचेको आफ्नो अब सम्पत्तिको नाममा सात वटा साना–ठूला भैसीहरू मात्रै छन् ।

उनीसँगै खल्वा टोलकै कल्लु यादवको अवस्था पनि उस्तै छ । बाढीले घरमा भएका लत्ताकपडासँगै ३२ कठ्ठा खेतमा रोपेको धान काट्नै नमिल्ने गरी राप्ती नदीको बाढीले पाँगो हालेर पुरिदिएको छ । घर बस्न लायक नभएपछि उनी पनि दश जना परिवारको साथ आफन्तको घरमा बस्दै आएका छन् । घरमा भएका लत्ता कपडासँगै पाकेको धान समेत नदीले पुरिदिएपछि कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको बताए ।

‘खेती गरेर परिवार पाल्नेदेखि बालबालिकाहरूलाई पढाउने गरेका थियौँ’, स्थानीय कल्लु यादवले भने– ‘घर कोठा र रोपेको धान राप्तीको बालुवाले पुरिएको छ । घर खेत हेर्दा मन दुःख छ ।’ रामप्रताप र कल्लु उदाहरणका पात्रहरू मात्रै हुन, असोजको १८ गतेदेखि करिव एक सातासम्म परेको अबिरल बर्षातसँगै राप्तीमा आएको बाढी कारण फोहोरा खल्वा टोलका मात्रै ३२ घर परिवार पीडित भएका छन् ।

बाढी तथा पहिरोबाट जिल्लामा ३ हजार बढी नागरिकहरूको घरमा क्षति पु¥याउनका साथै बिगौबिगाहा जमिनमा रोपेको धान बाली नष्ट गरेको जिल्ला आपतकालीन कार्यसञ्चलन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ३ हजार बढी घरहरूमध्ये २ सय ३ घर परिवार घरविहीन भएका छन् । आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार लमही नगरपालिकामा डुवानमा परेका १ हजार ४ सय ६१ मध्य ४३ घर पूर्णरूपमा क्षति भएका छन् । त्यसैगरी राजपुर गाउँपालिकामा डुवानमा परेका २ सय २१ घरमध्ये १५, राप्ती गाउँपालिकामा ६ सय १० घर मध्य ६५ घर र गढवा गाउँपालिकामा ६ सय ६० घरहरूमध्ये ८० घरहरू पूर्णरूपमा क्षति भएको केन्द्रले जनाएको छ ।

Blog Post Ad

देउखुरी उपत्यकामा बाढी पस्दा ३ हजार ५ सय ३७ घर डुवानमा परेका थिए । गढवाका गाउँपालिका–५ को बोधीपुर, धर्मपुर, लोखरपुर, लालपुर र गढवा–७ कान्छीगाउँलगायतका बस्ती डुवानमा परेका थिए । राप्ती गाउँपालिकाका कालापानी, पिपरखुट्टी, बगरापुर, सगरापुर, पहरूवा, लट्ठहवा, डोडही, सिसहनियाँसँगै राप्ती गाउँपालिकाको फोहोरालगायतका गाउँहरूमा बाढी पसेको थियो । लमही बाढीबाट गढवा गाउँपालिका र लमही नगरपालिका धेरै बस्तीहरू डुबानमा परेका थिए । घरहरू डुवानमा परेर घरवारविहीन भएका पीडित परिवारहरू आफन्तको घरमा आश्रय लिएका छन् । बर्षातका कारण जिल्लामा ९ जनाको मृत्युसमेत भएको छ ।

मौसममा सुधार

हिले दशै भएको यस बर्ष भने अब मौसममा सुधार आउने र भारी बर्षा नहुने भएको छ । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

मनसुनी गतिविधि सक्रिय रहनुका साथै नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा करिब दुई साता देशैभर वर्षा भयो । दसैं सुरू भएसँगै भएको लगातारको वर्षाले सर्वसाधारणलाई गन्तव्यमा पुग्न सास्ती समेत दिएको थियो । देशका कतिपय क्षेत्रमा पाकेको धानबालीमा क्षति समेत पुराएको छ । बाढीपहिरोजन्य घटना समेत बढेका छन् । धनजनको क्षति भएको छ ।

यतिखेर दशैं सकिएर तिहारको संघारमा केही दिनयता मौसम सुधारिएको छ । क्रमिकरूपमा मौसममा सुधार आई भारी वर्षा (ठूलो पानी) पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मञ्जु बासीले अहिले मनसुनी गतिविधि नरहेकाले देशैभरको मौसम सुधार हुँदै गएको बताइन् । उनका अनुसार देशका कतिपय स्थानमा क्षणिक बदली र हल्का वर्षा हुने सम्भावना रहे पनि भारी वर्षा हुने देखिँदैन ।

’मौसम सुधारिँदै गएको छ, अब मौसम सुख्खा हुँदै जाने भएकाले वर्षाको सम्भावना रहँदैन । केही दिनभित्र देशको पश्चिमी भूभाग भएर मनसुन पनि बाहिरिनेछ,’ उनले भनिन् । देशका विभिन्न स्थानका आकाशमा क्षणिक बादल देखिए पनि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ । शनिबार र आइबार देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Blog Post Ad Blog Post Ad