Ad Area

बंगलाचुलीले चुनढुंगा उत्खनन गरी ढुवानी कार्यमा रोक लगाउँदा अर्बौको सिमेन्ट उद्योग संकटमा


घोराही, १८ कार्तिक । नेपाल सरकारसँगको सबै प्रकारको कागजी र कानूनी प्रकृया पूरा गरी सिमेन्ट उद्योग संचालन गरिएपनि स्थानीय सरकारले विभिन्न कारण देखाउँदै उत्खनन गरी ढुवानी कार्यमा रोक लगाउँदा अर्बौको लगानी रहेको सिमेन्ट उद्योग नै बन्द हुने खतरा बढेर गएको छ ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको घोराही सिमेन्ट ईन्डष्ट्रिजले सिमेन्ट उत्पादनका लागि २०६६ सालबाट खानी तथा भूगर्भ विभाग, वन तथा वातावरण मन्त्रालयको अनुमति तथा नेपाल सरकारको मापदण्ड अनुसार बंगलाचुली गाउँपालिका वडा नम्बर ३ र ४ मा रहेको तापा क्षेत्रबाट कच्चा पदार्थको रुपमा चुनढुंगा उत्खनन गर्दै आएकोमा गत वर्षको पुष १ गतेबाट स्थानीय सरकारले उत्खनन गरी ढुवानी कार्यमा रोक लगाएपछि उद्योग नै बन्द हुने अवस्थामा पुगेको हो ।

खानी क्षेत्रबाट मदन भण्डारी मार्गसम्मको सडक मर्मत गरेर मात्रै चलाउनु पर्ने मागलाई सम्बोधन गर्दा पनि बंगलाचुली गाउँपालिकाले अनेकन बहानाबाजी गर्दै उत्खनन गरी ढुवानी कार्यमा रोक लगाउँदा करीव १ वर्षयता घोराही सिमेन्ट उद्योगकै विश्वकर्मा माईन्स एण्ड मिनरल्स प्रालिको तापा चुनढुंगा खानी उत्खनन् बन्द भएपछि त्यहाँ कार्यरत कामदार तथा तिनमा आश्रित परिवार पनि संकटमा परेका छन् । सोही ठाउँका भोजराज पन्तले गाउँपालिकाले टिप्पर सञ्चालनमा रोक लगाएपछि खानी उत्खनन् बन्द हुँदा आफुलगायत थुप्रै युवा बेरोजगार भएर बस्नु परेको बताउनुभयो ।

‘२०६६ सालदेखि म लगायत गाउँका थुप्रै युवाहरुले काम पाएका थियोँ, तर गत वर्षको पुस महिनाबाट पालिकाले अनेकन बहाना देखाउँदै उत्खनन्मै रोक लगाई दिएपछि अहिले बेरोजगार भएर वस्नु परेको छ’ उहाँले भन्नुभयो, ‘यसले हामी मात्रै होईन, अर्बौको लगानी गरिएको सिमेन्ट उद्योग पनि धरापमा पर्ने अवस्था सिर्जना भएको छ ।’ खानी क्षेत्रमा उत्खनन्को काम हुँदा दैनिक ८–१० वटा डोजरले काम गर्दा त्यहाँ स्थानीय ७० जनाभन्दा बढी युवाहरुले प्रत्यक्ष रोजगारी पाएका थिए ।

Blog Post Ad

वातावरणीय प्रभाव मुल्यांकन गरी सबै सावधान अपनाएर काम गर्दै गर्दा पनि पालिकाले बिना कारण उत्खनन्मा रोक लगाएपछि देशमै काम गर्दै आएका युवाहरुको रोजीरोटी खोसिएको छ भने त्यससँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएका हजारौँको पेशा व्यवसाय पनि संकटमा परेको छ । ‘वास्तव मै समस्या हुने ठानिएको थियो भने पहिले स्वीकृती नदिनु पर्ने हो तर, दिइ सकेपछि दुवै पक्षले सहमती गरेर सञ्चालनमा ल्याउनु पर्दछ’ पन्तले भन्नुभयो, ‘के कति कारणले खानी उत्खनन्मा रोक लगाएको हो स्पष्ट कारण पनि खुलेको छैन ।’ खानी सञ्चालन हुँदाका बखत दैनिक २ सय देखि २ सय ५० सम्म टिप्पर सो क्षेत्रमा सञ्चालन हुने गरेको थियो । तर, अहिले सबै सुनसान छ । रित्तो पहाडमा हावाको सिरेटो बाहेक केही छैन । उत्खनन् गरेर छाडिएको केही चुनढुंगाको थुप्रो छ तर त्यहाँ टिप्पर पुग्न सकेको छैन ।

जसले गर्दा खानी कहिलेदेखि सञ्चालनमा आउला र काममा फर्किने दिन आउला भनेर स्थानीय युवाहरु पर्खेर बसेका छन् । उसो त, खानी उद्योगले पालिकाले शर्त राखेको काम पूरा गर्दै अघि बढेको बारेमा गाउँपालिकामा पटक–पटक जानकारी गराउँदा समेत कुनै सुनुवाई हुन नसकेको उनीहरु बताउँछन् । अहिले पनि खानी क्षेत्रमा टिप्पर चलाउने तयारी गरेका बेलामा फेरी गाउँपालिकाले आवश्यक सरसल्लाह र छलफल नै नगरी गाउँपालिका अध्यक्षको एकलौटी निर्णयमा वर्षाको समयमा सडकमा क्षति पुगेको कारण देखाउँदै ठूला मालवाहक सवारी संचालनमा रोक लगाईएको छ ।

तर, पालिका अध्यक्ष तुलसीराम पुनले कार्यपालिका सदस्यहरुसँग छलफल नै नगरी आफु खुशी एकलौटी रुपमा कोठे निर्णय गर्दै टिप्पर संचालनमा रोक लगाएको वडा नम्बर ४ का एक सदस्यले बताउनुभयो । उहाँले पालिका अध्यक्षले पछिल्लो समय आफु खुशी निर्णय गर्ने र कार्यपालिका सदस्यहरुलाई पनि जानकारी नगराउँदा समस्या हुने गरेको बताउनुभयो । यद्यपि, उहाँले गाउँपालिकाले उद्योगसँग तत्काल छलफल गरी खानी उद्योग संचालन गर्न दिँदै सडक मर्मतको कामलाई पनि निरन्तरता दिनेगरी काम सुचारु गर्न दिए राम्रो हुने बताउनुभयो ।

बंगलाचुली कै खानीमा काम गदै आएका यज्ञवहादुर थापाले खानी वन्द हुँदा धेरै समस्या भएको बताउनुभयो । काम गरेर खानेहरुको घरमा चुलो बल्न समेत समस्या हुँदै गएका बेलामा पालिकाले यो विषयमा नसोचि दिँदा आफुहरु मार परेको बताउनुभयो । थापाले भन्नुभयो, ‘आज खुल्ला भोली खुल्ला भन्दा भन्दै एक वर्ष वित्न थालेको छ, खै कहिले खुल्ने हो, अब त खुल्छ की भन्यो फेरी पालिकाले रोकिदिन्छ, वास्तवमा के कति कारणले रोकेको हो त्यो पनि थाहा भएन ।’

लामो समयसम्म खानी बन्द हुँदा अहिले त्यहाँ काम गर्नेहरु रोजगारीका लागि भारत हिँडेका छन् । ‘काम गर्ने खानी नै बन्द भएपछि के गर्नु वाध्य भएर भारत जानु परेको छ’ थापाले भन्नुभयो, ‘विकल्प त खोज्नै पर्यो ।’ गाउँका स्थानीय युवाहरुले समस्याको समाधान गरि छिट्टै आफुहरुले काम गर्ने वातावरण भएमा आफुहरुलाई सहज हुने उनीको भनाइ रहेको छ । लामो समयदेखि खानी उत्खनन् बन्द भएपछि सिमेन्ट उद्योगको उत्पादनमा पनि भारी गिरावट आएको छ ।

घोराही सिमेन्ट उद्योगले ७० प्रतिशत उत्पादन कटौती गरेको छ । उद्योगले आफनो कच्चा पदार्थ चुनढुङ्गा उत्खनन् स्थलबाट उद्योगसम्म ल्याउन नपाउँदा उत्पादनमा कटौती गरेको उद्योगका जन सम्पर्क अधिकारी अमर सुवेदीले बताउनुभयो ।

घोराही सिमेन्ट उद्योगको क्षमता दैनिक ५ हजार टन क्लिीङकर र ८० हजार बोरा सिमेन्ट उत्पादन गर्ने रहेको छ । तर, उद्योगले अहिले ३० प्रतिशत मात्र उत्पादन गर्दै आएको उहाँले बताउनुभयो । ‘हामीले कच्चा पदार्थ ल्याउन नपाउँदा उत्पादन घटाउन बाध्य भएका छौँ’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय महत्वका उद्योगको अवस्था यस्तो छ अनि कसरी सम्भव छ देशमा औद्योगिक क्रान्ति ? राज्यलाई तिर्ने गरिएको ठूलो रकमको कर पनि खुम्चिएको छ, जसले गर्दा सबै क्षेत्रमा असर गरेको छ भन्ने बुझ्नु पर्ने हो ।’

उद्योगमा करिव १ हजार र खानी क्षेत्रमा करिव ७० जनाले अहिले प्रत्यक्ष रुपमा रोजगारी गुमाएका छन् । ‘हामीले कामदारहरुलाई बाध्य भएर घर वस्नुस् भन्नु परेको छ’ उहाँले भन्नुभयो ‘यसको असर धेरै क्षेत्रमा देखिएको छ । राजस्व, रोजगारी क्षेत्रमा, टिप्पर व्यवसाय तथा अन्य व्यावसायमा समेत यसले असर गरेको छ ।’

टिप्पर सञ्चालनका लागि पटक–पटक पहल गरे पनि पालिकासँग निकास निस्कन नसकेको उहाँले बताउनुभयो । खासमा गाउँपालिकाले अदालतले दिएको स्टेअर्डर समेत नमानेको सुवेदीले बताउनुभयो । अदालतले तापा चोकदेखि खानी क्षेत्रसम्मको बाटो बनाएर सञ्चालन हुन दिनु भनेकोमा उद्योगले ९० प्रतिशत काम सम्पन्न गरेको र अरु कामका लागि आवश्यक सामग्री, उपकरण कार्यस्थलमा राखि सकेको अवस्थामा पनि पालिकाले रोक लगाउनुमा नियत मै समस्या हुन सक्ने उहाँको तर्क छ ।

‘हामीले करिव ९० प्रतिशत वाटोको काम सकिसक्दा समेत गाउँपालिकाले रोक लगाइ रहेको छ’ उहाँले भन्नुभयो ‘तापा चोकदेखि खानीसम्म करिव ३ किलोमिटर बाटोको बेसको काम सम्पन्न भएको छ अब पिचको लागि तयारी गरिएको छ, सबै काम भईसक्दा पनि बहानाबाजी गरेर उद्योग संचालनमै समस्या सिर्जना गर्नु भनेको सही काम होईन ।’

उद्योगमा करिव ३२ अर्वको लगानी छ । तर उद्योग पूर्ण रुपमा संचालन हुन नसक्दा यसको असर सबै ठाउँमा परिरहेको उद्योगको भनाई छ । उद्योग सञ्चालनका लागि राज्यले उचित वातावरण सृजना गर्नुपर्ने भएपनि अहिलेका राज्य संंचालक तथा सत्ता गठबन्धनका नेताहरुको नीहित स्वार्थका कारण उद्योग नै धरापमा पार्ने काम भईरहेको उद्योगले गुनासो गर्दै आएको छ ।

‘राज्यले उद्योग सञ्चालनका लागि सहयोग गर्नुपर्ने हो तर त्यसो हुन नसकेको छैन’ जनसम्पर्क अधिकारी सुवेदीले भन्नुभयोे ‘यसरी सञ्चालनमा रहेका उद्योगलाई यस्तो समस्यामा पारिन्छ अनि देशमा कसरी नयाँ उद्योग कसरी स्थापना हुन्छन् ?’ उता, बंगलाचुली गाउँपालिकाले स्थानीय सरकारको अधिकार क्षेत्रमा रहेको खानी उद्योगका विषयमा निर्णय गर्ने अधिकार रहेको बताउँदै खानी क्षेत्रको सडक मर्मत प्राथमिकतामा पर्नुपर्ने बताउने गरेको छ । तर, उद्योग बन्द गराउने अधिकार आफुसँग नरहेको पालिकाको भनाई छ ।

जिल्लामा रहेका सम्राट सिमेन्ट र सोना सिमेन्ट उद्योगका लागि खानी क्षेत्रबाट टिप्परहरु संचालनमा रहेका छन् । जसले गर्दा आफुहरु विभेदमा परेको घोराही सिमेन्ट उद्योगको भनाई छ । बंगलाचुलीको बोजपोखरा, तापा, तिमिले र थाराबाट चुनढुंगा उत्खनन् हुने गरेको छ ।

Blog Post Ad Blog Post Ad