Ad Area

निर्वाचनको समयमा व्यावसायी आन्दोलित


दाङ, २१ कार्तिक । मंसिर ४ गते संघ र प्रदेश सभाको निर्वाचनका लागि यतिबेला उम्मेदवारहरु तथा राजनीतिक दलका नेतृत्व, कार्यकर्ता चुनाव प्रचारमा व्यस्त छन् । उम्मेदवारहरु मतदाता भेट्नका लागि शहरदेखि गाउँ–गाउँसम्म पुग्ने गरेका छन् । तर निर्वानमा उम्मेदवारलाई मत दिने तथा आर्थिकरुपमा सहयोग गर्ने उद्योगी तथा व्यवसायीहरु भने– ‘यतिबेला सडकमा आन्दोलनमा रहेका छन् ।

अहिले देशभरका उद्योगी तथा व्यवसायीहरु आन्दोलन गरिरहेका छन् । राष्ट्र बैंकले वृद्धि गरेको बैंक व्याजको विरुद्ध आन्दोलनमा गरेका हुन् । जिल्लामा पनि दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वमा उद्योगी तथा व्यवसायीहरु आन्दोलित छन् । निजी क्षेत्रलाई धरासायी बनाउने गरी बैंक तथा वित्तीय संस्थाहरुले महिनैपिच्छे बढाइरहेको कर्जा व्याजदरको विषयलाई लिएर निजी क्षेत्र आन्दोलित बनेको हुन् ।

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी मार्ग–निर्देशन २०७५ र त्यही मार्ग निर्देशनका आडमा आर्थिक मन्दीको अवसर छोपेर नेपालको निजी क्षेत्रलाई धरासायी बनाउने गरी बैंकहरुले गरेको व्याजदर वृद्धिप्रति दाङ जिल्ला उद्योग वाणिज्य संघले आपत्ति प्रकट गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

चर्को व्याजदरको विषयमा प्रधानमन्त्री, अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर लगायतका सरोकारवाला पक्षहरुलाई ज्ञापन–पत्रमार्फत बढाएको व्याजदर फिर्ता र बढाउँदै गरेको व्याजदर तत्काल रोक्न अनुरोध गर्दै आए पनि संघको अनुरोधलाई बेवास्ता गर्दै बैंकहरुबाट निरन्तर महिनैपिच्छे मनपरी ढंगले ब्याज बढाउने, सेवा शुल्कको नाममा अनेकौँ शुल्क लिई थप आर्थिक भार थप्ने, ब्याज किस्ताको लागि तारन्तार मानसिक दबाव दिनेलगायत कार्यहरु बैंकिङ क्षेत्रबाट भइरहेकोले यस प्रकारको कार्यविरुद्ध आन्दोलन गर्दै आएका छन् ।

संघले एक अंकको व्याजदर कायम हुनुपर्ने, बैंकहरुले विभिन्न शीर्षकमार्फत लिने सेवा शुल्कलगायतका कुनै पनि शुल्क लिन नपाउने माग राखिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए । पुरानो चालु पूँजी कर्जा निर्देशिकालाई यथावत राखी नयाँ निर्देशिका क्रमिकरुपले लागू पर्ने, कर्जाको व्याजदर पुनः संरचना गर्न दिनुपर्ने, बैंकहरुले अगाडि बढाएका लिलामी प्रक्रियाहरु तत्काल स्थगित गर्नुपर्नेलगायत माग रहेको अध्यक्ष बुढाथोकीले बताए ।

आगामी कार्तिक २३ गतेसम्म गरिएको चरणबद्ध आन्दोलनलाई बेवास्ता गरी मागहरु सम्बोधन नभएमा बैठक बसी २४ गतेबाट आन्दोलनका थप कार्यक्रम निर्धारण गर्ने समेत उनले बताए । ‘पहिलो चरणको आन्दोलनबाट माग पूरा नभए थप कडा आन्दोलन गरिनेछ’, उनले भने । सुरु भएको आन्दोलन नरोकिने समेत उनले बताए । ‘निर्वाचनको समयमा आन्दोलन गर्नु हाम्रो रहर होइन बाध्यता हो’, उनले भने । बैंकको व्याजविरुद्धको आन्दोलन जिल्लामा मात्र नभई देशभर सञ्चालन भएको उनको भनाइ थियो ।

Blog Post Ad

आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने उनी बताउँछन् । गएको असोज ९ गते दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वमा तुलसीपुर उद्योग वाणिज्य संघ, देउखुरी उद्योग वाणिज्य संघ, राप्ती उद्योग वाणिज्य संघ, गढवा उद्योग वाणिज्य संघ, नारायणपुर उद्योग वाणिज्य संघ हापुरे उद्योग वाणिज्य संघ, शान्तिनगर उद्योग वाणिज्य संघ, बिजौरी उद्योग वाणिज्य संघ, बंगलाचुली उद्योग वाणिज्य संघको सहभागितामा घोराहीमा ¥यालीसहित जिल्ला प्रशासन कार्यालय दाङमार्फत राष्ट्र बैंक तथा अर्थ मन्त्रालयमा ज्ञापन–पत्र बुझाइएको थियो ।

ज्ञापन–पत्र बुझाउँदा पनि आफूहरुको माग सुनुवाई नभएपछि उद्योगी तथा व्यवसायीहरु बाध्य भएर आन्दोलनमा जानुपरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए । संघले कार्तिक १६ गते पत्रकार सम्मेलनमार्फत आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

आन्दोलनको कार्यक्रमअनुसार घोराही क्षेत्रमा रहेका बैंकका शाखा प्रमुखहरुसँग छलफल, वस्तुगत समितिहरुसँग छलफल, जिल्लामा रहेका उद्योग बाणिज्य संघका पदाधिकारीहरु तथा व्यावसायिक संघसंस्थाहरुसँग छलफल गरिसकेको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ भने कार्तिक २१ गते जिल्लाका शहरी क्षेत्रमा ¥यालीसहित कोणसभा गर्ने भएका छन् ।

विहान साढे ११ बजेदेखि सबै शहरी क्षेत्रमा ¥यालीसहित कोणसभा गरिने अध्यक्ष बुढाथोकीले जानकारी दिए । जिल्लामा रहेका सबै उद्योग वाणिज्य संघको संयोजनामा सबै शहरी क्षेत्रमा उद्योगी, व्यवसायी तथा सम्पूर्ण पीडितहरुको सहभागितामा ¥याली तथा कोणसभा गरिने, कार्तिक २३ गते सरकारी बैंकहरुमा प्लेकार्ड सहित धर्ना दिइने पनि उनले बताए ।

Blog Post Ad Blog Post Ad