Ad Area

आमनिर्वाचन आज


काठमाडौँ, ४ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन मङ्सिर ४ गते आइतबार हुँदै छ । संविधान जारी भएपछि दुवै सभाका लागि हुन लागेको यो पहिलो आवधिक निर्वाचन होे । यसअघि २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा यी सभाको निर्वाचन भएको थियो ।

मन्त्रिपरिषद्को साउन १९ गतेको बैठकले मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको मिति घोषणा गरेबमोजिम आइतबार आमनिर्वाचन हुन लागेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ साल पुस ५ गते र २०७८ जेठ ८ गते गरी दुई पटक प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो । तर प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि मध्यावधि निर्वाचनको प्रयास असफल भएको थियो ।

पहिलो पटक प्रतिनिधि सभा विघटन हुँदा २०७८ साल वैशाख १७ र २७ गते गरी दुई चरणमा चुनाव हुने घोषणा गरिएको थियो । दोस्रो पटक विघटन हुँदा २०७८ कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन हुने घोषणा गरिएको थियो । निर्वाचन आयोगले आइतबार हुने निर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ । यसका लागि देशभरका मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री पठाइसकिएको छ । देशभर मतदान केन्द्र धमाधम निर्माण भइरहेका छन् ।

बिहान ७ देखि बेलुकी ५ बजेसम्म हुने मतदानबाट २७५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुनेछन् । १६५ जना पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

प्रदेश सभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । निर्वाचन सकिएर मतपेटिका सङ्कलन हुनेबित्तिकै मतगणना सुरु गर्ने र तीन दिनभित्र प्रत्यक्षतर्फको गणना सक्ने आयोगको कार्यतालिका छ ।

Blog Post Ad

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ६१ र समानुपातिकतर्फ ४७ राजनीतिक दल भाग लिँदै छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दुई हजार १८७ पुरुष र २२५ जना महिला गरी दुई हजार ४१२ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् ।

Blog Post Ad Blog Post Ad