Ad Area

किन भए शंकर पोखरेल पराजय ?


दाङ, ११ मंसिर  । नेकपा एमालेका महासचिव शंकर पोखरेल नेकपा माओवादी केन्द्रकी रेखा शर्मासँग झिनो मत अन्तरले पराजित भएका छन् । दाङ–२ बाट उम्मेदवार बनेका पोखरेल गठबन्धनबाट माओवादीकी उम्मेदवार रेखा शर्मासँग १९६ मतअन्तरले पराजय भए ।

मंसिर ४ बिहिवार भएको मतपरिणामा गठबन्धनकी रेर्खा शर्माले २६ हजार ८ सय ७७ र एमालेका पोखरेलले २६ हजार ६८१ मत प्राप्त गरे ।
योसँगै पोखरेलको सांसदीय राजनीतिको यात्रामा ब्रेक लागेको छ । ०५१ सालपछिका प्रत्यक्ष चुनाव जितेर संघिय सांसद हुने पाएको अवसर उनले गुमाएका छन् । शंकरको राजनीतिक जीवनको यो तेस्रो हार हो ।

राष्ट्रिय राजनीतिमा बलियो प्रभाव पारेका महासचिव पोखरेल यो निर्वाचन जितेर पार्टीभित्र र संसदमा आफ्नो बलियो प्रभाव पार्न चाहन्थे । तर उनको चुनावी हारले यो अवसर गुमेको छ । बरु नेकपा एमालेभित्र ओलीको उत्तराधिकारीका रुपमा भावी पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा समेत हेरिएको पोखरेललाई आगामी राजनीतिक यात्रामा ठूलो क्षती पुग्ने देखिन्छ ।
पोखरेललाई गठबन्धन भारी

एमालेका महासचिव पोखरेल पराजय हुनुको प्रारम्भिव विश्लेषण गर्दा एमालेलाई गठबन्धन भारी परेको देखिन्छ । किनपनि भने पाँच दलिय गठबन्धन भएकाले यो क्षेत्रमा एमालेका महासचिव पोखरेललाई एक्लै जित निकाल्न सजिलो थिएन । स्थानीय तहको निर्वाचनको चुनावी अंकगणित हेर्दा एमाले भन्दा सत्ता गठबन्धन अगाडि थियो ।

वैशाख ३० को निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत हेर्दा सत्ता गठबन्धनका दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गरी ३६ हजार ७८० मत र नेकपा एमालेले ३३ हजार ५९३ मत ल्याएका थिए ।

स्थानीय तहको मत परिणामलाई हेर्दा पहिलो एमालेलाई आफ्नो पक्षमा जित निकाल्न कांग्रेस भर पर्नुपर्ने थियो । एक्लै चुनावमा जित्न निकाल्न सम्भव नदेखेपछि कांग्रेसको मत तानेर जित निकाल्ने रणनीतिमा महासचिव पोखरेल थिए । खास गरी विगतमा काग्रेस र माओवादीबीचको द्धन्द्ध देखाएर उनी कांग्रेसको मत आफ्नो पक्षमा पार्न चाहन्थे । जसको फाइदा उठाउँदै वैशाख ३० गतेको स्थानीय तहको चुनावमा एमालले घोराही उपमहानगरपालिको निर्वाचनमा गठबन्धनलाई पराजित गर्दै विजयी भएको थियो ।

Blog Post Ad

यसैलाई विश्लेष्ण गर्दै एमालेले गठबन्धनभित्रको अन्तरघातको फाइदा उठाएर मंसिर ४ गतेको चुनाव पनि जित्ने अनुमान गरेको थियो । यहीकारण पोखरेल सुरुवाती दिनदेखि नै कांग्रेसका नेता र कार्यकर्तासँग आन्तरीक भेटघाट तीब्र पारेका थिए ।

तर यसपटकको निर्वाचनमा गठबन्धनदलहरुबीच इमान्दारिता देखिए । गठबन्धनका दलहरुको दरिलो साथले एमालेका पोखरेलाई हराउँदै गठबन्धनकी शर्मा झिनो मतले जीत निकालिन् । ‘समग्रमा हेर्दा गठबन्धनभित्र इमानदारिता हुँदा नै हामीले चुनाव जित्औं’ कांग्रेसका एक नेता भन्छन्, ‘विगतको पराजय भोग्नु परेको अनुभवबाट पाठ सिकेर यो चुनावमा हामी एकवद्ध उभियौं ।’ उनले स्थानीय तहको चुनावमा भोगेको पराजयलाई समिक्षा गरेर गठबन्धनदलहरु बलियोसँग उभिएको र चुनावमा जित समेत निकाल्न सकेको बताए । अहिले गठबन्धनमा इमान्दार देखिनुनै चुनाव जित्न सम्भव भएको निश्कर्ष गठबन्धनका नेताहरुको छ ।
‘घण्टी भारी’
यता, दाङ–२ मा घण्टीकोे प्रवेशले पनि चुनावी गठबन्धन र एमालेको जित÷हारको अर्थ राखेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ईञ्जिनियर विशाल अधिकारीलेमात्रै १५ हजार ८ सय ८५ मत ल्याएका छन् । उनले ल्याएको यो मत संख्या धेरै हो ।

विगतका दलहरुप्रतिको असन्तुष्टी र वितृष्णाले यसपटक घण्टीले ठूला दलको मत पनि काटेको छ । घण्टीले पाएको मत परिणाम हेर्दा कांग्रेस र एमालेको मत हाराहारीमा काटेको देखिन्छ । यसको असर महासचिव पोखरेललाई पनि परेको छ ।

एमालेको सुरुवाती विश्लेषण घण्टीको प्रवेशले कांग्रेसभित्रको मत काटिने र गठबन्धनलाई अफ्ठयारो पर्छ भन्ने थियो । खास गरी रुख चिन्न नहुँदा कांग्रेसले घण्टी रोज्ने र गठबन्धनको मत काटिने र त्यसको फाइदा शंकरलाई हुने एमालेका आकलन गरेका थिए । तर यसपटक चुनावमा घण्टीले गठबन्धनको मात्र एमालेको पनि मत काटेको छ ।

घण्टीले पाएको मत हेर्दा दाङ–२ को ‘ख’ बाट बढी ‘घण्टी’ले मत काटेको छ । जहाँ एमाले र कांग्रेस दुवै बलियो प्रभाव भएको क्षेत्र हो । माओवादीले जित निकालेको बंगलाचुली गाउँपालिकामा भने घण्टीले मत काट्न सकेन । यो फाइदा रेखालाई हुन गयो ।
राप्रपाको तालमेलले जित्न सक्थे शंकर
मंसिर ४ गतेको निर्वाचनमा नेकपा एमाले केही निर्वाचन क्षेत्रमा जसपा र राप्रपासँग तालमेल गरेर सत्ता गठबन्धनसँग प्रतिस्पर्धामा होमिएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसहित २५ स्थानमा तालमेल गर्दा एमाले सुरक्षीत (अहिलेसम्मको प्रारम्भिक मतपरिणाम अनुसार) देखिएको छ ।
तर एमालेले महासचिव पोखरेल भने आफ्नो गृह जिल्ला दाङमा राप्रपासँग तालमेल नगरी एक्लै चुनावमा होमिए । यदि राप्रपा र जसपासँग तालमेल गरेको भएमा भने झिनो मतले परजाय भोगेका पोखरेललाई चुनाव जित्ने सम्भावना रहन्थ्यो । तर महासचिव पोखरेलको निर्वाचन क्षेत्रमा तालमेल नहुने भएपछि राप्रपा र जसपाले छुट्टा छुट्टै उम्मेदवार उठाए ।
पोखरेलसँग प्रतिनष्र्धा गरेका राप्रपाका उम्मेदवार बनेका भोलानाथ योगीले २ हजार २७३ मत ल्याएका छन् । यदि राप्रपासँग तालमेल गरेर यो मत महासचिव पोखरेलको पक्षमा जान्थ्यो चुनावमा जित निकाल्न सहज हुन्थ्यो । तर राप्रपासँगको तालमेलबारे एमालले नै चासो नदिएको राप्रपाकै जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेत बताउँछन् ।
‘चुनावी तालमेलबारे उहाँहरुले (एमाले) चासो देखाउनु भएन’ उनले भने, ‘हामी पनि उहाँहरुलाई खोज्दै गएनौं ।’

पोखरेलको लगातार हार
एमालेका महासचिव भएकाले पनि पोखरेललाई यो निर्वाचन जित्नैपर्ने दबाव थियो । त्यसमाथि आफ्नो राजनीति जीवनमा कमै चुनाव जितेका अनुभव भएकाल उनलाई यो पटक २८ वर्षपछि प्रत्यक्ष निर्वाचित भएर संघीय संसद हुने यो देस्रो अवसर थियो ।
उनी ०५१ सालपछि उनले प्रत्यक्ष लडेर कुनै पनि निर्वाचन जितेका छैनन् । ०६४ सालमा उनी समानुपातिकबाट सांसद बनेका थिए । त्यतीबेला उनी सञ्चारमन्त्री भएका थिए ।
उनी २०५१ सामला पहिलो पटक दाङ क्षेत्र नं. २ बाट कांग्रेसका दीपक गिरीलाई हराएर उनी प्रतिनिधिसभामा निर्वाचित भए । ०५६ सालको निर्वाचनमा क्षेत्र नं. २ बाट कांग्रेसका कृष्णकिशोर घिमिरेसँग पोखरेलको प्रतिस्पर्धा भयो । त्यतीबेला पार्टी विभाजनकारण एमाले कमजोर हुँदा पोखरेल पुनः पराजित भए । पोखरेल ०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक संसद भए । त्यतीबेला उनी माधव नेपाल नेतृत्व सरकारको सञ्चारमन्त्री समेत बने ।
२०७० सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा उनको प्रतिश्पर्धा दाङ जिल्लाको क्षेत्र नंवर ४ बाट कांग्रसका नेता बुद्धिराम भण्डारीसँग भयो । त्यतिबेला पनि उनले कांग्रेसका नेता भण्डारीसँग पराजय व्यहोरे ।
अनेरास्ववियुको अध्यक्ष हुँदादेखि नै केन्द्रीय राजनीति पहिचान बनाएका पोखरेलले ०७४ को निर्वाचनमा भने प्रदेशमा झरे । त्यतीबेला बाम गठबन्धनको नेकपा सरकार बनाउने भएपछि क्षेत्र नं. २ बाट कृष्णबहादुरmमहरलाई संघमा पठाएर उनी सोही क्षेत्र नं. २ ‘क’ बाट प्रदेश सभाको उम्मेदवार बने । पोखरेलले प्रतिस्पर्धी काँग्रेसका कमल किशोर घिमिरेमाथि विजयी हात पर्दाै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न पुगे ।
आफ्नो निर्वाचन क्षेत्रमा जित र हारको सरावरी अनुभव बटुलेका पोखरेल एमालेभित्रको राजनीतिमा प्रभावशाली छन् ।
पोखरेलको राजनीति जीवनको यो तेस्रो हारले भने जिल्लामा पनि एमालेभित्र सन्नाटा छाएको छ । महासचिव पोखरेलको हारपछि जिल्लामा केही कार्यकर्ताहरुले सामाजिक सञ्जालमा असन्तुष्टीहरु पोखि रहेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

Blog Post Ad Blog Post Ad