Ad Area

दाङमा धान उत्पादन ५ प्रतिशत घट्यो


घोराही, १८ मंसीर । दाङमा यसवर्ष पाँच प्रतिशतले धान उत्पादनमा गिरावट आएको छ । कृषि ज्ञान केन्द्र दाङले यो वर्ष १ लाख ५३ हजार ४ सय ६३ मेट्रिक टन धान उत्पादन भएपनि यो गतवर्षको तुलनामा पाँच प्रतिशतले कम रहेको जनाएको छ ।

जिल्लामा यो पटक ढिलो वर्षा हुँदा ३७ हजार ४ सय ३० हेक्टर वर्षे धान लगाएकोमा ५ प्रतिशतले उत्पादकत्वमा कमि आएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो । अर्थविज्ञ लामिछानेले यो वर्ष प्रति हेक्टर ४ दशमलव १० मेट्रिक टन धान उत्पादन भएको बताउनुभयो । अघिल्लो वर्ष जिल्लामा ३९ हजार ४०० हेक्टर क्षेत्रफलमा धान रोपिएको भएपनि यो वर्ष १ हजार ३० हेक्टर क्षेत्रफलमा धान नरोपिएको उहाँले बताउनुभयो ।

दाङमा अघिल्लो वर्ष १ लाख ७३ हजार ३ सय ६० मेट्रिक टन धान उत्पादन भएको थियो । त्यो भन्दा अघिल्लो वर्ष १ लाख ६७ हजार ७ सय मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा ६५ प्रतिशत नागरिकहरु कृषि पेशामा आवद्ध रहेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

समयमा कृषकको लागि मल, बीउ र सिचाईको राम्रो व्यवस्था तथा उपलब्ध भएमा उत्पादन वढाउन मद्दत मिल्ने भएपनि अनेकन समस्याका कारण प्रमुख बालीका रुपमा रहेको धान उत्पादनमा ह्रास आएको उहाँले बताउनुभयो । ‘यस वर्ष समयमा वर्षा नहुनु, मलबीउको उचित व्यवस्थापन नहुनु जस्ता कारणले पनि उत्पादनमा कमी आएको हो,’ उहाँले भन्नुभयो, ‘जिल्लामा रोपिएको धान उत्पादकत्वका हिसावले सन्तोष गर्न भने सकिन्छ ।’ यो पटक जिल्लामा धान रोपाई हुन नसकेको १ हजार ३० हेक्टर क्षेत्रफलमा तरकारी खेती भएको ज्ञान केन्द्रको दावी छ । तर, कहाँ कसरी खेती गरिएको छ भन्ने यसको यकिन तथ्यांक भने छैन ।

ढिलो गरी बर्षाद हुँदा ब्याड राखेको दुई महिनासम्म पनि रोप्न नपाउँदा धानमा गाँज उत्पादन गिरावट आएको र यसले उत्पादनमा समेत असर गरेको कृषकहरु बताउँछन् । घोराही ७ का भुपेन्द्रप्रकाश घर्तीले पानी नपरेर ढिलो गरी धान रोप्नुपर्दा विगतभन्दा यो पटक धान उत्पादनमा गिरावट आएको बताउनुभयो । उसो त, अघिल्लो वर्ष दाङमा खेती गर्नेको संख्यामा पनि वृद्धि भएको थियो । त्यो बेलामा कोभिडका कारण धेरैले रोजगारी गुमाएको र धेरै नागरिक घरमा बसेको कारण पनि खेती गरेका थिए ।

बाँझा खेतमा खेती गरिएको थियो तर यो वर्ष परिस्थिती सामान्य बन्दै गएपछि धेरैले अरु विकल्प रोजेको हुँदा खेतमा किसानले धान नरोप्दा उत्पादकत्वमा ह्रास आएको हो । हाईब्रिड जातको बिउमा समस्या देखिनु, धानमा मरुवा, गवारो किरा लाग्नु जस्ता कारणले पनि यस वर्ष धान उत्पादनमा गिरावट आएको ज्ञान केन्द्रको भनाई छ । ‘यस बर्ष दाङमा ब्याड राखेको समयमै रोप्ने वातावरण बनेन’ घोराही, ९ का अस्परीका हरिप्रसाद चौधरीले भन्नुभयो, ‘ब्याड राखेको एक–दुई महिना पछि मात्रै रोप्दा धानमा गाँज हाल्ने संख्या घट्ने रहेछ । ढिला गरि रोपाई भएकाले चिसो हुने समयमा पसाउने हुँदा उत्पादन घटेको छ ।’

Blog Post Ad

विकासे धान रोप्न थालिएपछि अहिले रैथाने धान उत्पादनमा पनि गिरावट आएको छ । जिल्लामा रैथाने जातका धान सिमठारो, तिलकीलगायतका धान ५ हेक्टरमा रोपिएको ज्ञान केन्द्रले जनाएको छ । पछिल्लो समय थोरै लागतमा धेरै उत्पादन खोज्ने परिपाटीको विकास हुँदै गएपछि रैथाने जातको धान रोप्ने क्रम घट्दै गएको पाइएको छ । केहीले आफुलाई खान तथा सौखको रुपमा मात्रै रैथाने धान रोप्ने गरेका छन् ।

कृषकले धानको मुल्य पाएनन्

दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारी स्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुन सकेको छैन । जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुसी धान खरिद बिक्री भइरहेको छ । गत वर्ष मोटा धान प्रति क्विन्टल दुई हजार दुई सय रुपैयाँमा बिक्री गरेका थिए । यसपालि पनि सोही मूल्यमा २० क्विन्टल धान बिक्री गरेको उनले बताए ।

घरमा राख्दा भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बेच्न बाध्य भएको कृषकहरुको भनाई छ । समयमा प्रशस्त पानी नपरेको र समयमै मल उपलब्ध नभएका कारण यस वर्ष धान उत्पादन राम्रो नभए पनि बिक्री गर्दा मूल्य नै पाउन नसकेको उनीहरु बताउँछन् । उत्पादन अनुसारको मूल्य नपाउँदा लगानी त्यसैखेर गएको गुनासो कृषकहरुको गुनासो छ । गत कात्तिक १६ गते मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९–०८० का लागि धानको समर्थन मूल्य तोकेको थियो ।

मोटा धानको मूल्य प्रति क्विन्टल दुई हजार नौ सय ६७ रुपैयाँ तोकेको हो । यो मूल्य गत वर्षको तुलनामा दुई सय १५ रुपैयाँ बढी हो । त्यस्तै मध्यम धानको मूल्य प्रति क्विन्टल तीन हजार एक सय २८ रुपैयाँ तोकेको छ । यो मूल्य गत वर्षको तुलनामा दुई सय २६ रुपैयाँ भन्दा बढी हो । सरकारले किसानको सहुलियतका लागि धान स्याहार्ने बेलामा धानको समर्थन मूल्य तोकेको थियो । तर दाङका किसानले सरकारले तोकेको समर्थन मूल्य नपाएको गुनासो गर्दै आएका छन् ।

Blog Post Ad Blog Post Ad