Ad Area

क्षमताअनुसार सीप भए जीविकोपार्जन गर्न सहज


दाङ, १८ मंसिर । घोराही उपमहानगरपालिका–४ सिस्नेखोला असारे निवासी ४७ वर्षीय शारीरिक अपाङ्ग जुठे घर्तीका दुवै खुट्टाले काम गर्दैनन् । दुई वर्षको उमेरमा पोलियोका कारण दुवै खुट्टा गुमाएका घर्ती अहिले घोराही उपमहानगरपालिका–१८ को कटुवाखोला पुल नजिकै ढेब्ली (टहरो)मा जुत्ता सिलाउने काम गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

जुत्ता सिलाएर गरेको आम्दानीको पैसाले घर व्यवहार चलाउनेदेखि छोराछोरीलाई पढाउने काम गर्दै आएको घर्ती बताउँछन् । ‘पोलियोका कारण दुई वर्षको उमेरमा दुवै खुट्टा गुमाएँ, त्यसपछि पढ्न सकिएन र कमाउन जाने अवस्था रहेन’, उनले भने, ‘त्यसैले जुत्ता सिलाउने सीप सिकेर घोराहीको कटुवाखोलाको पुल छेउमा जुत्ता सिलाउने काम गर्दै आएको छु, त्यहीबाट आएको पैसाले परिवार पाल्ने गरेको छु ।’ अपाङ्ग मानवअधिकार एवम् सरोकार मञ्चको सहयोगमा जुत्ता सिलाउने तालिम लिएका उनलाई त्यही सीप जीविकोपार्जनको माध्यम बनेको हो ।

जुत्ता सिलाउने सीपले घरव्यवहार चलाउन सहज बनेको उनी बताउँछन् । यसलाई व्यवस्थित रूपमा ठूलो बनाएर बजारमै गर्नसके थप कमाइ हुने उनको आशा छ तर त्यसका लागि आपूmसँग पैसा नभएको उनी बताउँछन । जुुत्ता सिलाउने पसलसँगै करिब दुई वर्ष घोराही बजारमा विद्युतीय अटो सिक्सा समेत चलाएका घर्तीले अहिले अटो छोडेर जुत्ता सिलाउने काम मात्रै गर्दै आएका छन् । ‘क्षमताअनुसारको सीप भए अपाङ्गता भएका व्यक्तिहरूलाई जीविकोपार्जनका लागि सहज हुने थियो’, उनले भने, ‘त्यसअनुसार स्थानीय सरकार तथा संघसंस्थाले व्यवस्था गरिदिए राम्रो हुन्थ्यो ।’
उनीजस्तै सोच छ, घोराही उपमहानगरपालिका–१५ काठेकोहल निवासी शारीरिक अपाङ्ग महावीर रोकाको पनि ।

बजारमा मजदुरीको काम गर्दैगर्दा करिब दश वर्ष अघि ट्रकबाट टिन, छड अनलोड गर्ने क्रममा फलामले च्यापेर शारीरिक महावीर अपाङ्ग बने । रोका अहिले ह्वीलचिअरमा हिड्डुल गर्छन् । काम गरेर जीविकोपार्जन गरिरहेको आफ्ना लागि अहिले काम नहुँदा दाताको सहयोगमा परिवार पाल्नुपरेको उनी बताउँछन् । ‘पहिले बजारमा लेवर काम गरेर परिवार पाल्ने गरेको थिएँ, अपाङ्ग भएपछि ह्वीलचिअरमा हिड्ने भएको छु, ‘रोकाले भने, ‘बसेर केही गर्नसक्ने क्षमता अनुसारको सीप छैन, ठूला र भारी बोक्ने काम गर्न सकिँदैन, त्यसैले क्षमताअनुसार सीपको व्यवस्था भैदिए आपूmहरूका लागि सहज हुन्थ्यो ।’ आपूm शारीरिक अपाङ्ग बनेपछि घरव्यवहार चलाउनसँगै छोराछोरीलाई पढाउन समेत समस्या भएको उनी बताउँछन् । घोराहीको काठेकोहलमा भाडामा बस्दै आएका रोका आर्थिक रूपमा विपन्न परिवारमा पर्ने गर्दछन् ।

अपाङ्गमैत्री संरचना नहुँदा समस्या

जिल्लामा अपाङ्गमैत्री सार्वजनिक संरचना नहुँदा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूले हिडडुलदेखि कामका लागि सरकारी कार्यालयहरू पुग्दा समस्या भोग्नुपरेको शारीरिक अपाङ्ग घोराही उपमहानगरपालिका–१८ अम्बिकेश्वरी निवासी चुडामणि पुरी बताउँछन् । अपाङ्गमैत्री सडक बन्न नसक्दा आपूmहरूजस्ता अपाङ्गता भएका व्यक्तिहरूलाई हिडडुल गर्न समस्या भएको उनी बताउँछन् । अपाङ्गमैत्री सडक नबनेकै कारण अपाङ्ग दिवसको कार्यक्रम मनाउन सिधै जाने बाटो भए पनि घुमाउरो बाटो भएर पुग्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।

Blog Post Ad

‘अपाङ्गमैत्री सडक बन्न नसक्दा घोराही उपमहानगरपालिकाको सभाहलमा हुने अपाङ्ग दिवससम्बन्धी कार्यक्रममा सहभागिताका लागि घुमाउरो बाटो भएर जानुपर्ने बाध्यता छ’, शारीरिक अपाङ्ग पुरीले भने, ‘बजारको मुख्य सडक निर्माण गर्दा अपाङ्गमैत्री सडक बनाउन ध्यान दिएको भए आपूmहरूजस्ता अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज हुने थियो ।’ सडकसँगै सरकारी कार्यालयहरू समेत अपाङ्गमैत्री हुन नसकेको गुनासो छ ।

मुख्य सडकअन्तर्गत डिभिजन सडक कार्यालय नजिकैको उकालो लामो भएकाले ह्वीलचिअरमा एक्लै हिड्न नसक्ने भएपछि हस्पिटल रोड, रझेना चोक हँुदै घुमाउरो बाटो भएर कार्यक्रमस्थल घोराही उपमहानगरपालिकाको सभाहल पुगेको उनी बताउँछन् । २०७४ सालमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सरकारले ऐन जारी गरेर अपाङ्गहरूलाई दश वर्गीकरणमा विभाजन गरेको छ । त्यसलाई गम्भीरताका आधारमा ४ प्रकारमा विभाजन गरेर सरकारले परिचयपत्र तथा सामाजिक सुरक्षा सत्ता समेत उपलब्ध गराउँदै आएको छ । दाङ जिल्लामा विभिन्न प्रकारका १२ हजार ८ सय बढी अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् ।

दिवस मनाइयो

यसैबीच ३१औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइएको छ । ‘समावेशी विकासका लागि रूपान्तरिक समाधान पहुँचयुक्त र समातामूलक विश्वका उर्जावान् सिर्जनशीलताको प्रावधान’ भन्ने मूल नाराका साथ घोराही उपमहानगरपालिका महिला तथा सामाविक विकास शाखालगायत नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र, अपाङ्ग मानवअधिकार एवम् सरोकार मञ्च र सुस्तमनिस्थिति अभिभावक संघको आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको क्षमताअनुसार सीपको व्यवस्था गर्नसके राम्रो हुने सहभागीहरूले जोड दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले आत्मबल बढाएर अवसरको खोजीभन्दा पनि सहयोगको मात्रै अपेक्षा गर्ने प्रवृत्तिका कारण पछाडि परेको बताएका थिए । उनीहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई सीपका माध्यमबाट आत्मनिर्भर बनाउने कार्यमा सहयोग गर्न तयार रहेको बताएका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, घोराही उपमहानगरपालिका महिला तथा सामाविक विकास शाखा प्रमुख मोती विश्वकर्मा, अपाङ्ग मानवअधिकार एवम् सरोकार मञ्च चिन्तामणि पौडेललगायतले बोलेका थिए । घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डिसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शिव घर्तीले गरेका थिए ।

अपाङ्गता भएका व्यक्तिलाई स्वेटर सहयोग

३१औँ अपाङ्ग दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूलाई स्वेटर सहयोग गरिएको छ । घोराही उपमहनागरपलिका–१४ स्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष चित्रकान्त आचार्यले नेपाल अपाङ्ग संघ खगेन्द्र नव जीवन केन्द्रद्वारा सञ्चालित अपाङ्ग पुनःस्थापना केद्रमा बस्ने ८ जना अपाङ्गता भएका व्यक्तिहरूलाई ८ थान स्वेटर सहयोग गरेका हुन् । यसैगरेर आचार्यले १ दर्जन बिस्कुट र नगद १ हजार एक सय रूपैयाँ सहयोग गरेको अपाङ्गत पुनःस्थापना केन्द्रले जनाएको छ ।

Blog Post Ad Blog Post Ad