Ad Area

तेक्वान्दो खेलाडी सुनितालाई मलेसियामा दोहोरो पदक


दाङ, २५ मंसिर । तेक्वान्दो खेलाडी सुनिता विष्टले मलेसियामा एक स्वर्णसहित दुई पटक जित्न सफल भएकी छिन् । डिसेम्बर ९ र १० गते मलेसियामा भएको ‘मलेसिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन–२०२२’ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी दाङ जिल्ला घोराही उपमहानगरपालिका–१७ निवासी तेक्वान्दो खेलाडी बिष्टले एक स्वर्ण र एक काश्य गरी दुई पदक जित्न सफल भएकी हुन ।

विभिन्न १३ देशका खेलाडीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा खेलाडी विष्टले जोडी प्रतिस्पर्धा पुम्सेमा स्वर्ण जितेकी हुन । प्रतियोगितामा नेपालबाट जोडी पुम्सेमा सहभागी बनेकी विष्टसँगै चितवनका उमर खानले स्वर्ण जित्न सफल भएका हुन । उनीहरुले फाइनल खेलमा इन्डोनेसिया देशका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएका हुन ।

त्यसैगरी खेलाडी विष्टले प्रतियोगितामा सिनियर महिला इन्डिभिजवल पुम्सेतर्फ काश्य पदक जित्न सफल भएकी छिन् । १८ बर्षमाथि सिनियर महिला इन्डिभिजवल पुम्सेमा प्रतिस्पर्धा गरेकी विष्टले रजत पदकमा चित्त बुझाउन बाध्य भएकी हुन । आफ्नो देशको प्रतिनिधित्व गर्दै विदेशी भुमीमा स्वर्ण पदक जित्दा खुशीको महुशुस भएको खेलाडी विष्टले बताइन ।

‘खेलमा प्रतिस्पर्धा गरेपछि खेलाडीहरुका लागि जित हासिल गर्नु खुशीको कुरा हो’,तेक्वान्दो खेलाडी विष्टले भनिन्,‘त्यो खुशी मैले अन्तराष्ट्रिय भूमिमा प्राप्त गरेकी छु, जुन मेरो लागि महत्वपूर्ण हो ।’
तेक्वान्दो खेलमा छोटो समयमा राम्रा प्रदर्शन गरिरहेकी विष्ट घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङकी प्रशिक्षक समेत हुन । उनले यसअघि पनि राष्ट्रिय तथा अन्तर्राष्टिय प्रतियोगिताहरुमा पदक जित्ने गरेकी छिन ।

Blog Post Ad Blog Post Ad