Ad Area

हाड बजारका लागि निर्माण भएको भवन अलपत्र


दाङ, ११ पुस । दाङको घोराहीमा करिब २७ लाख रुपैयाँको लागतमा निर्माण भएको तरकारी तथा फलफूल हाट बजार निर्माण भएको करिव ३ बर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन ।

बढ्दो सहरीकरणसँगै घोराही बजारमा तरकारी तथा फलफूल हाट बजारलाई व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि खुल्ला ठाउँमा भवन निर्माणको कामलाई अघि बढाए पनि सञ्चालन हुन नसकेको हो । लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको करिब २० लाख र घोराही नगर विकास समितिको करिब ७ लाख बढी रकमबाट घोराही उपमहानगरपालिका–१८ को नवलपुरमा भवन निर्माण भएको छ ।

तर व्यवसायीहरुले भने पूर्णरुपमा संरचनाहरु तयार नहुँदा तरकारी तथा फलफूल हाट बजार सञ्चालनमा आउन नसकेको बताएका छन् । तरकारी तथा फलफूलका लागि कम्तीमा पनि २०÷२५ वटा सटरहरुभन्दा माथि सटरहरु निर्माण हुनुपर्ने भए पनि अहिले ४÷५ वटा कोठाहरु भएको एउटा मात्रै भवन निर्माण हुँदा सञ्चालन गर्न समस्या भएको आयोजना सञ्चालक समिति तथा कृषि उपज बजार सञ्चालक समिति घोराहीका अध्यक्ष गुलाम रसुलले जानकारी दिएका छन् ।

‘नवलपुरमा तरकारी तथा फलफूल हाट बजारका लागि एउटा भवन त निर्माण भयो तर पूर्णरुपमा अन्य संरचनाहरु बन्न सकेनन्’, कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष रसुलले भने– ‘हाट बजार सञ्चालनका लागि पूर्णरुपमा संरचना तयार नहुँदा भवन अलपत्र पर्न पुगेको छ ।’ बजारको बीचमा रहेको हाट बजार सानो क्षेत्रमा रहेको र खुल्ला ठाउँमा सञ्चालन गरेर ठूला व्यवसायीहरुलाई त्यही लग्ने उद्देश्य रहे पनि पूर्ण संरचना नहुँदा लग्न नसकिएको उनले बताएका छन् । हाट बजालाई पूर्णता दिनका लागि थप बजेट आवश्यकता रहे पनि बजेट कतैबाट पनि नआएको उनले बताए ।

तरकारी तथा फलफूल हाट बजार निर्माणका लागि आर्थिक बर्ष २०७५÷०७६ मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको २० लाख र घोराही नगर विकास समितिको ७ लाख ८४ हजार रुपैयाँ गरी जम्मा २७ लाख ८४ हजार रुपैयाँ खर्च भएको छ । तर निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा समेत भवन सञ्चालनमा आउन सकेको छैन । भवन सञ्चालन हुन नसक्दा फोहोरसँगै तरकारी तथा फलफूल हाट बजार प्राङ्गणमा झार–जंगलले छोप्न थालेको स्थानीयको गुनासो रहेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad