Ad Area

राजपुरमा स्थानीय पाठ्यक्रम पढ्दै विद्यार्थी


घोराही, १३ पुस । राजपुर गाउँपालिका–५ गंगदीस्थित साधारण माध्यामिक विद्यालय कक्षा ८ मा सुनिता चौधरी अध्ययनरत हुनुहुन्छ । कक्षा ७ सम्म अध्ययनरत गर्दा उहाँले राजपुर गाउँपालिकासम्बन्धी विषयवस्तुहरू कक्षामा कहिल्यै पढ्नु भएन् तर गाउँपालिकाले यस वर्षको नयाँ शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेपछि कक्षा ८ मा सुनिताले प्रत्येक हप्ताको एक दिन राजपुर गाउँपालिकाको संक्षिप्त चिनारीअन्तर्गत भौगोलिक अवस्थादेखि धार्मिकस्थल, कृषि, सामाजिक विषयवस्तुसँगै जीवनोपयोगी शिक्षाका बारेमा अध्ययन गर्न थालेको बताउनुहुन्छ ।

अध्ययन गर्दा अन्य कक्षाहरूको तुलनामा स्थानीय पाठ्यक्रम सिकाइको कक्षा फरकसँगै बुझ्नलाई सजिलो हुने गरेको चौधरी बताउनुहुन्छ । ‘पढ्नलाई सबै विषयहरू एकै हुन्छन् । ज्ञान बढाउनका लागि सरहरूले पुस्तकहरू पढाउनेदेखि आपूmहरूले पनि पुस्तक पढ्ने र होमवर्क गर्नुपर्छ’, सुनिताले भन्नुभयो, ‘तर स्थानीय पाठ्यक्रमको विषय पढ्नलाई सजिलो लाग्छ, गाउँपालिकाको चिनारीसँगै धार्मिक स्थल, कृषिसँगै जीवनोपयोगी शिक्षाका बारेमा अध्ययन गर्दा बुझ्न सहज हुने गर्दछ ।’

सुनिताको जस्तै भनाइ छ, विद्यालयकै कक्षा ८ मा अध्ययनरत अर्का विद्यार्थी संकल्प केसीको । सधैँ किताबमा लेखिएका विषयवस्तु मात्र पढिरहने आपूmहरूका लागि स्थानीय पाठ्क्रमअन्तर्गत् गाउँपालिकाको भौगोलिक अवस्था, खेतीपाती, धार्मिक स्थलसँगै सामाजिक समस्या र सवालका बारेमा समेत अध्ययन खुसी लाग्ने गरेको बताउनुहुन्छ । उहाँले पहिले देखेका र सुन्ने गरेका आफ्नै स्थानीय तहभित्रका कुराहरू विद्यालयको कक्षा कोठामा साथीहरुसँग बसेर पढ्न पाउँदा खुसी लाग्ने गरेको बताउनुभयो ।

‘व्यवहारिक जीवनसँग जोडिएका विषयवस्तुसँगै गाउँपालिकाभित्रका धार्मिक, कृषि तथा सामाजिक समस्याका बारेमा पढ्न पाउँदा खुसी लाग्ने गरेको छ, गाउँपालिका भित्रको धेरै विषयवस्तुको हामीलाई जानकारी भएको छ’, विद्यार्थी केसीले भन्नुभयोे,‘तर अध्ययनका लागि पुस्तकसँगै कृषि प्राक्टिकलका लागि ठाउँ नहुँदा समस्या भएको छ ।’

उहाँले स्थानीय पाठ्क्रम अध्ययनका लागि अन्य विषयजस्तै पुस्तक, सरहरूले पढाउने गरेका कृषिलगायतका खेतीबारेमा व्यवहारमै प्रयोगात्मक अभ्यास गर्ने ठाउँ हुनसके थप प्रभावकारी हुने बताउनुहुन्छ । त्यसका साथै विद्यालयले गीतसंगीतप्रति रुचि हुने विद्यार्थीहरूका लागि बाद्यवादनका सामग्री समेत उपलब्ध गराएको छ । संगीतप्रति रुचि हुने विद्यार्थीहरूले प्रत्येक हप्ताको एक दिन सिक्ने गरेका छन् ।

गाउँपालिकाले स्थानीय पाठ्क्रम लागू गरेपनि पुस्तक र प्रयोगात्मक अभ्यासका लागि ठाउँ नहुँदा विद्यार्थीलाई बुझाउन केही समस्या भएपनि स्थानीय पाठ्क्रमको पढाईका लागि विद्यार्थी उत्साहित हुने गरेको साधारण माध्यमिक विद्यालयका स्थानीय विषय शिक्षक इन्द्रबहादुर भण्डारी बताउनुहुन्छ । ‘स्थानीय पाठ्यक्रमको अध्ययनका लागि विद्यार्थी उत्साहितदेखि जिज्ञाशु बन्ने गरेका छन’, शिक्षक भण्डारीले भन्नुभयोे,‘तर पुस्तक तयार नुहँदा केही समस्या भएको छ ।’

Blog Post Ad

शिक्षक भण्डारीकाअनुसार स्थानीय पाठ्क्रमअन्तर्गत वडा, स्थानीय सामाजिक संस्था र गाउँपालिकाको सामान्य जानकारी, राजपुर गाउँपालिकाको भौगोलिक, सामाजिक र सांस्कृतिक अवस्थाको बारेमा जानकारी, असल आनीबानी, व्यवहार र आचरणको पहिचान गरी अनुशरण गर्ने बानीको अभ्यास, आफ्नो वरपरका वातावरणमा भएका वस्तुहरूको पहिचान, महत्वबोध तथा बालबगैँचा निर्माण र सरसफाईमा सहयोग, स्थानीय प्रविधि, अन्य बाली, फलपूmल र पशुपंक्षी पालनको पहिचान र उपयोग, विपद्को परिचयका साथै प्राकृतिक र मानव सिर्जित विपदका जोखिमका लागि सावधानीसँगै राजपुर गाउँपालिकामा भएका स्थानीय पेसा, व्यवसाय र प्रविधिको पहिचान, उपयोग र संरक्षणका बारेमा विद्यार्थीहरू पढाउने गरेको शिक्षक भण्डारीले बताउनुभएको छ ।

विद्यालयमा स्थानीय पाठ्यक्रम कक्षा १ देखि ८ कक्षासम्म करिब ७ सय बढी विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । गाउँपालिकाले नयाँ शैक्षिकसत्रदेखि गाउँपालिकाका ३२ वटा विद्यालयमा लागू गरेको राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले बताउनुभएको छ । स्थानीय पाठ्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि गाउँपालिकाले हिउँदे अधिवेशनबाट विद्यार्थीहरूका लागि ‘पढ्दै कमाउँदै कार्यक्रम’ लागू गर्न थालेको भन्दै यसले विद्यार्थीहरूसँगै अभिभावकलाई सहज हुने अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

‘पुस्तकको ज्ञानसँगै व्यवहारिक ज्ञान सिकाएर विद्यार्थीहरूलाई बौद्धिक र आर्थिक रुपमा सक्षम बनाउनका लागि ‘पढ्दै कमाउँदै कार्यक्रम’ लागू गर्न थालेका छौँ’, अध्यक्ष बुढाथोकीले भन्नुभयोे,‘हिउँदे अधिवेशनबाट पास गराएर यो कार्यक्रम लागु हुन्छ । यसले स्थानीय पाठ्यक्रम सञ्चालनको कक्षालाई सहयोग पु¥याउनुका साथै विद्यार्थीलाई आयआर्जनमा जोड्न सहयोग पु¥याउनेछ ।’

Blog Post Ad Blog Post Ad