Ad Area

बसाइसराइले सुनसान बन्दै गाउँ


सल्यान, १४ पुस । सल्ला र सालका काठले बारेर चिटिक्कै पारिएका बार्दली (कौसी) । फराकिला आँगन र कठबार लगाइएका पिँढी । घर नजिकै पानीको धारा, वरिपरि खेतबारी । उत्तरतर्फ आँखा लगाउँदा मन लोभ्याउने हिमशृङ्खला । चारैतिर हरियाली ।

अजिङ्गरको भीर छिचोलेर गाउँमै पुगेको सडक र आवतजावत गरिरहने मोटर गाडी । आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको सल्यान पछिल्लो समय बसाइसराइका कारण उजाडिँदै जान थालेको छ ।

एक दशक अघिसम्म बाक्लो बस्ती भएका गाउँ बसाइसराइका कारण पातलिँदै गएका छन् । बितेको एक दशक यताको अवस्था भने फेरिएको छ । सल्यानको काप्रेचोर, काल्चे, रामपुर, निगालचुला, लक्ष्मीपुर, माझकाँडा, कुपिण्डे, फलाबाङ, लेखपोखरा, छाया क्षेत्र लगायतका क्षेत्रबाट सबैभन्दा बढी बसाइसराइ भएको छ ।

कतिपय स्थानमा त गाउँमा केही समस्या आइहाले हारगुहार गर्दा सुन्ने र सहयोग गर्ने छिमेकी समेत नपाइने अवस्था सिर्जना भएको छ । गाउँघरमा कसैको घरमा कुनै घटना भयो भने पनि थाहा पाउने मानिस छैन । एक दशक अघि ४२ घरधुरी भएको कालीमाटी गाउँपालिका –७ आमवासमा अहिले १९ घरधुरी मात्रै छन् ।

त्यस्तै काप्रेचौरका नैनसिंह रानाले चार सय घरधुरी भएको काप्रेचौर क्षेत्रबाट ८० परिवारले बसाइ सरेको बताए । कालीमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल बस्नेतले लक्ष्मीपुर क्षेत्रबाट पाँच वर्षको अवधिमा ४० बढी परिवारले बसाइ सरेको जानकारी दिए ।

गाउँमा विकासले बिस्तारै गति लिँदै गरे पनि बसाइ सर्नेको सङ्ख्यामा भने कमी आउन सकेको छैन । गाउँमा समस्या पर्दा सहयोग गर्ने छिमेकी समेत पाइन छोडेको काप्रेचौरका टेकबहादुर बिक बताउछन् । बसाइ सरेर जाने क्रमले गाउँमा विकास निर्माणको काम गर्न समेत समस्या हुने गरेको उनको भनाइ छ । सल्यानबाट प्रायः दाङ, बाँके, बर्दिया, सुर्खेतलगायत तराईका जिल्लामा बसाइ सर्ने गरेका छन् ।

Blog Post Ad

गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगारी, लगानी, उद्योग व्यवसाय, सुरक्षा, सामाजिक सम्बन्ध र समानता खोज्दै तराई झर्ने क्रम तीव्र बन्दै जाँदा ग्रामीण भेगका बस्ती शून्य बन्दै गएका छन् ।

सङ्घीयता कार्यान्वयनमा आएसँगै सेवा र सुविधा खोज्दै गाउँबाट शहर झर्ने क्रम रोकिने अपेक्षा गरिएको थियो । तर गाउँमा रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य आधारभूत सेवा समेत नपाइने भएपछि बसाइसराइ घट्नुको साटो बढिरहेको छ ।

स्वास्थ्य, शिक्षा, रोजगारलगायतको कारण बसाइ सर्ने क्रम बढेको लेख पोखराका नरेन्द्र पुनले बताए ।‘मौसम, हावापानीको हिसाबले बस्नलाई त यतै ठिक हो नि तर के गर्ने ?  बिरामी भयो दाङ झर्नु पर्ने, छोराछोरी पढाउन दाङ झर्नुपर्ने, सुविधा सम्पन्न अस्पताल छैन, राम्रो शिक्षा दिने स्कुल कलेज छैन ,अनि बसाइ नसरेर पनि त भएन– उनले भने ।

गाउँघरको बढ्दो बसाइसराइले गाउँघर खालि बन्दै गएका छन् । पातलो बस्तीले सुरक्षा चुनौती बढ्दै गएको छत्रेश्वरी २ का वडा अध्यक्ष प्रेम बहादुर खड्काले बताए ।

प्रायः छोराहरू वैदेशिक रोजगारीमा जाने र पैसा कमाएपछि सपरिवार शहर झर्ने गरेको उनको भनाइ छ । कतिपयले गाउँमा भएको घर, खेतबारी बेचेर शहर झरेका छन् भने केहीले खेतबारी बाँझै छोडेर शहर झरेका छन् । आमाबुवा पनि छोराछोरीकै साथ लागेर शहर झर्ने क्रम बढ्दा गाउँका खेतीयोग्य भू–भाग जङ्गलमा परिणत हुँदै गएका छन् ।

अहिले जिल्ला बाहिर मात्र नभई जिल्लाभित्रै पनि गाउँ छोडेर बजार क्षेत्रमा बसाइ सर्ने क्रम बढ्दो छ । जसका कारण जिल्लाका प्रमुख व्यापारिक केन्द्र श्रीनगर, सल्ली बजार, थारमारे, बागचौर, लान्ती, लुहाम, रामपुरलगायतका बजार क्षेत्रमा जनघनत्व बढ्दै गएको छ । द्वन्द्व, झैझगडा, जङ्गली जनावरको आतङ्कलगायतका कारण वर्षाै पहिलेदेखि शुरु भएको बसाइसराइ गाउँ–गाउँमा सडक, बत्ती, खानेपानी पुग्दा पनि रोकिएको छैन ।

२०७१ सालमा जिल्लाबाट चार हजार सात सय ७४ जनाले बसाइ सरेको एक तथ्याङ्कले देखाएको छ । तर पछिल्ला वर्षमा कति नागरिकले गाउँ छोडेर बसाइ सरे ?  किन बसाइ सरे भन्ने एकिन तथ्याङ्क भने कतै पनि छैन ।

त्यसैले स्थानीयको बसाइसराइ रोक्नेतर्फ पनि कसैको चासो देखिँदैन । काप्रेचौरका धनवीर बुढाले गाउँमा सम्भावना नदेखेर बसाइ सरेको बताए । “गाउँमा सोचेजस्तो विकास भएन, जङ्गली जनावरको आतङ्क रोक्न कसैले पहल गरेन”, उनले भने– “सहरको तुलनामा गाउँमा विकास हुन धेरै समय लाग्ने देखियो ।” भोगचलन गर्दै आएको जग्गाजमिन र बस्दै आएको घर नै छोडेर बसाइसराइको कागजात लगेर बर्दिया झरेको उनको भनाइ छ ।

Blog Post Ad Blog Post Ad