Ad Area

सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन अंग्रेजी माध्यममा पढाइ


दाङ, १९ पुस । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएपछि पछिल्लो समय विद्यालयमा विद्यार्थी बढाउन जिल्लाका केही विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन थालेका छन् ।

जिल्लाका करिब ४ सय २३ विद्यालयमध्ये ४३ बढी विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएका छन् । अंग्रेजी माध्यमबाट पठनपाठनका लागि विद्यार्थी निजी स्कूलतिर जानथालेपछि पछिल्ला वर्षहरूमा जिल्लाका सामुदायिक विद्यालयले विद्यार्थी तथा अभिभावकको रोजाइलाई ध्यानमा राखेर अंग्रेजी माध्यममा पठनपाठन गर्न लागेका हुन् । विशेष गरी सहरी क्षेत्रका विद्यालयले अंग्रेजी माध्यमको पठनपाठनलाई तीव्रता दिएका छन् ।

अंग्रेजीमा अभिभावकको पनि चासो भएकाले आधारभूत तहदेखि माध्यमिक तहसम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिराज अधिकारीले बताए । विद्यार्थी र अभिभाकको चाहनाअनुसार विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको प्रधानाध्यापक अधिकारीले बताए ।

‘विद्यार्थी र अभिभावकको चाहनाअनुसार आधुनिक युग सुहाउँदो शिक्षा करिब दश वर्ष अघिदेखि पढाउँदै आएका छौं’, विद्यालयका प्रधानाध्यापक अधिकारीले भने, ‘अंज्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि विद्यार्थीको संख्या पनि राम्रै छ ।’ अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु भएपछि बोर्डिङमा भर्ना भएका बालबालिका पनि सामुदायिक विद्यालयमा भर्ना हुने गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका ८३ वटा सामुदायिक विद्यालयमध्ये १२ वटा विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुने गरेको तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए । प्रमुख भण्डारीकाअनुसार विद्यार्थीका रुचि र अभिभावकका चाहनाअनुसार उपमहानगरपालिकाका ७ वटा माध्यामिक तहका विद्यालय र ५ वटा आधारभूत तहका विद्यालयमा अग्रेजी माध्यमबाट पठनपाठन भइरहेको छ ।

नेपाली माध्यममा पठनपाठन गर्दा विद्यार्थी पाउनै मुस्किल भएका विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि एउटा कोठामा विद्यार्थी नअटेपछि कतिपय विद्यालयले एउटै कक्षामा दुईभन्दा बढी सेक्शन चलाएर पठनपाठन गराउँदै आएको शाखा प्रमुख भण्डारीले बताए । उनकाअनुसार अंग्रेजी माध्यममा पठनपाठन गर्दै आएका विद्यालयहरूमा माध्यमिक विद्यालय तुलसीपुर सेण्टर, गुरू जजुर माध्यमिक विद्यालय रक्षाचौर, माध्यमिक विद्यालय अश्वारा, जनकल्याण माध्यमिक विद्यालय दुधरास, महेन्द्र माध्यमिक विद्यालय जसपुर, अमर माध्यमिक विद्यालय उरहरी, जनश्रम माध्यमिक विद्यालय खाद्रे रहेका छन् ।

Blog Post Ad

यसैगरी आधारभूत विद्यालयतर्फ आधारभूत विद्यालय सुन्दर, आधारभूत विद्यालय नवलपुर, आधारभूत विद्यालय रानागाउँ, आधारभूत विद्यालय कटाह र आधारभूत विद्यालय छोटे रहेका छन् । शिक्षा शाखा प्रमुख भण्डारीकाअनुसार विद्यालयले अभिभावक भेलाबाट वार्षिक शुल्क निर्धारण गरेर विद्यार्थीहरूसँग उठाउने गरेका छन् । घोराही उपमहानगरपालिकाभित्र रहेका ९६ सामुदायिक विद्यालयमध्ये १० वटा विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन गराउने गरेका छन् ।

जिल्लाकै सबैभन्दा पुरानो विद्यालय पद्मोपदय पब्लिक नमुना माध्यमिक विद्यालयसँगै माध्यमिक विद्यालय रझेना, बालविकास माध्यमिक विद्यालय नयाँ बजार, महेन्द्र माध्यमिक विद्यालय धर्ना, सरस्वती माध्यमिक विद्यालय काठेकोहल, माध्यमिक विद्यालय हापुर निघुवार, सिद्धरत्ननाथ नमुना माध्यमिक विद्यालय नारायणपुरलगायतका विद्यालयहरू रहेका छन् ।

नर्सरीदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेसँगै घोराही–१८ स्थित माध्यमिक विद्यालय रझेनामा विद्यार्थी संख्या बढेका छ । कुनै समय विद्यार्थी पाउन मुस्किल पर्ने विद्यालयमा पछिल्लो बढ्दै गएको विद्यालयले जनाएको छ । घोराही उपमहानगरपालिका विभिन्न स्थानमा रहेका १९ बढी विद्यालयले पछिल्लो समय अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएको सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमले बताए ।

यसैगरी बंगलाचुली गाउँपालिकामा रहेका ४१ वटा समुदायिक विद्यालयमध्ये सुधा माध्यमिक विद्यालय झुल्नेटामा मात्रै अंग्रेजी माध्यमबाट पठनपाठन हुने गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएपछि अंग्रेजी माध्यमबाट पठन–पाठनका लागि छलफल भए पनि पठनपाठन अघि बढ्न नसकेको शिक्षा शाखा डेमराज पुनले जानकारी दिए । राप्ती गाउँपालिकामा रहेका ३१ वटा विद्यालयमध्ये ३ वटा सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेका छन् ।

आदर्श माध्यमिक विद्यालय लालमटिया, माध्यमिक विद्यालय मौरीघाट र सर्वोदय माध्यमिक विद्यालय सिसहनिया रहेका छन् । तीनवटै सामुदायिक विद्यालयले केही वर्षदेखि सामुदायिक विद्यालयमा विद्यार्थी बढाउनेसँगै गुणस्तरीय शिक्षा विद्यार्थीलाई उपलब्ध गराउने उद्देश्यअनुसार अंग्रेजी माध्यमबाट पढाउन थालेका शिक्षा शाखा प्रमुख विश्वास विकले बताए । यसैगरी लमही नगरपालिकाका २७ वटा विद्यालयमध्य आदर्श माध्यमिक विद्यालय देउपुरमा अंग्रजी माध्यमबाट पठनपाठन हुने गरेको छ ।

साना कक्षाका बालबालिकालाई अंग्रेजी सिकाइका लागि अंग्रेजी माध्यमका किताबहरू पढाउने गरे पनि अंग्रेजी माध्यममै पढाउने विद्यालय एउटा मात्रै रहेको छ । यसैगरी दंगीशरण गाउँपालिकामा ५ वटा, शान्तिनगर गाउँपालिकामा ६ वटा, गढवा गाउँपालिकामा ३ वटा, राजपुर गाउँपालिका र बबई गाउँपालिकामा १÷१ वटा सामुदायिक विद्यालयले अंज्रेजी माध्यमबाट पठन–पाठन गर्दै आएका छन् ।

Blog Post Ad Blog Post Ad