Ad Area

प्रदेशस्तरीय महिला टि–२० क्रिकेट छनोट प्रतियोगिता सुरु


दाङ,२३ पुस । लुम्विनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट छनोट प्रतियोगिता शनिवारदेखि सुरु भएको छ । दाङ क्रिकेट संघको आयोजनामा प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डिसीले गरेकी हुन । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख डिसीले महिला खेलाडीहरुको लागि आयोजना गरेको प्रतियोगिताले जिल्लाको खेलकुद क्षेत्रसँगै प्रतिभा र क्षमतावान खेलाडीहरुलाई अघि बढ्न सहयोग पु¥याउने बताइन ।

प्रमुख अतिथि समेत रहेकी उपप्रमुख डिसीले जिल्लामा खेल क्षेत्रसँगै खेलाडीहरुको क्षमता विकासका लागि आफुले भौतिक पूर्वाधारसँगै क्षमता विकासका लागि पहल गर्ने समेत बताइन । ‘खेलकुद क्षेत्रको भौतिक पूर्वाधार र खेलाडीको क्षमता विकासका लागि पहल गर्ने छु’,उनले भनिन्,‘त्यसका कसरी अघि बढ्न सकिन्छ । योजना बनाउन आवश्यक छ ।’ उनले महिला क्रिकेट खेलको विकासका लागिका लागि जिल्लास्तरीय प्रतियोगिता गर्नका लागि सहयोग गर्ने समेत बताएकी थिइन ।

कार्यक्रममा नेपाल क्रिकेट संघका लुम्बिनी प्रदेश अध्यक्ष दुर्गा थापाले प्रदेशको क्रिकेट खेलको विकासका लागि महिला क्रिकेट खेलाडीहरुलाई बढाउन आवश्यक रहेको बताए । प्रदेशका १२ जिल्लाहरु मध्य अहिले चार जिल्लाका खेलाडीहरु मात्रै भएको भन्दै आगामी दिनमा थप जिल्लाहरुलाई समेर महिला खेलाडीहरु बढाउन आवश्यक रहेको बताए । त्यसका लागि नेपाल क्रिकेट एसोसियसन (क्यान)सँग कुरा भैरहेको भएपनि मान्यता नदिदा प्रदेशस्तरीय छनोट खेलमा चार जिल्लाका खेलाडी मात्रै सहभागी हुने अवस्था भएको बताए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले खेलकुद क्षेत्रको विकासका लागि राज्यका तीन तहकै सरकारहरुले भौतिक पूर्वाधारदेखि खेलाडीको क्षमता विकासका लागि ध्यानदिनुपर्ने बताएका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिका वडा १७ का वडा अध्यक्ष रामलौटन चौधरी, दाङ जिल्ला क्रिकेट संघका सल्लाहकार तथा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी,दाङ क्रिकेट संघका सल्लाहकार खडग बुढाथोकी,सिसा नेपाल सस्थाका अध्यक्ष साजिदा सिद्धिकीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेश सदस्य तथा खेलाडी छनोट समितिका संयोजक कैलाश रोकामगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दाङ जिल्ला क्रिकेट संघका सचिव सन्जु केसीले गरेका थिए । २६ गतेसम्म संचालन हुने प्रतियोगितामा दाङसहित बाँके, रुपन्देही र नवलपरासी जिल्लाका महिला खेलाडीहरुको सहभागिता रहेको थियो ।