Ad Area

मेयर कपको क्वाटर फाईनल पुग्ने सबै टीमको टुंगो लाग्यो


घोराही, २८ पुस । लिग चरणको अन्तिम तीन खेल अगावै घोराहीमा जारी पाँचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा क्वाटर फाईनल पुग्ने आठ वटै टीमको टुंगो लागेको छ । बिहीबार भएको खेलमा वडा नम्बर ६ ले उत्कृष्ट प्रदर्शन गरेपछि वडा नम्बर १७ को क्वाटर फाईनलको यात्रा रोकिएको छ भने समुह बी को उपविजेता बन्दै वडा नम्बर ६ क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर खेल मैदानमा बिहीबार नवौँ दिन ३ वटा खेल भएको हो । निकै चासोका साथ हेरिएको वडा नम्बर १७ र ६ बीचको खेलमा वडा नम्बर ६ ले वडा नम्बर १७ लाई २–० गोल अन्तरले हराउँदै समुह बी को उपविजेता बनेर क्वाटर फाईनलमा प्रवेश गरेको हो । वडा नम्बर ६ का लागि बिराज परियार र हर्षवर्धन आलेले गोल गर्दे जीत दिलाउनुभयो ।

यसैगरी जारी खेलमा अपराजित रहेको समुह सी को वडा नम्बर १३ ले वडा नम्बर ३ लाई ७–० फराकिलो गोल अन्तरले हराउँदै समुह विजेताका रुपमा ९ अंकका साथ एक खेल अगावै क्वाटर फाईनलमा प्रवेश गरेको छ । वडा नम्बर १३ लाई जित दिलाउन प्रमोद बुढाले २ गोल गर्दा रेवन बुढा, सरोज कुमाल, एरोन रोकाले १–१ गोल गर्नुभयो भने पेनाल्टीमार्फत भिम पुनले गोल गर्दा वडा नम्बर ३ का सन्दिप सुनारले आत्मघाती गोल गर्नुभयो ।

वडा नम्बर १३ ले अब शुक्रबारको खेलमा लिग चरणबाट बाहिरी सकेको वडा नम्बर १ सँग खेल्नेछ । यसैगरी, लिग चरणमा समुह ए को विजेताको रुपमा क्वाटर फाईनल प्रवेश गरिसकेको वडा नम्बर १० ले वडा नम्बर १६ सँग १–१ गोलको बराबरी खेलेको छ । बिहान भएको खेलमा वडा नम्बर १० का लागि बिनायक बिक र वडा नम्बर १६ का लागि अनिष मगरले गोल गर्नुभयो ।

कुल १९ वटा वडाको सहभागीता रहेको प्रतियोगितामा क्वाटर फाईनल पुग्ने ८ वटा टीममा समुह विजेताका रुपमा वडा नम्बर १०, १३, १५ र १८ प्रवेश गर्दा समुह उपविजेताका रुपमा वडा नम्बर २, ६, १२ र १४ प्रवेश गरेका छन् । यद्यपि, प्रतियोगितामा लिग चरणको अन्तिम खेलहरु शुक्रबार हुने भएको प्रतियोगिता आयोजक समिति संयोजक एवम् नगर प्रवक्ता राममणि पाण्डेले जानकारी दिनुभयो ।

लिग चरणको अन्तिम खेलमा क्वाटर फाईनल प्रवेश गरिसकेका टीम पराजित भएपनि कुनै असर गर्नेछैन । अब लिगको अन्तिम चरणका खेलमा समुह ए को वडा नम्बर १६ र वडा नम्बर ८ बीच बिहान खेल हुनेछ भने वडा नम्बर १३ र वडा नम्बर १ बीच खेल हुने भएको उहाँले बताउनुभयो । दिउँसो १ बजेपछि वडा नम्बर ७ र १८ बीच खेल हुनेछ ।

Blog Post Ad

चार समुहबाट क्वाटर फाईनल पुग्ने आठ टोलीको टुंगो लागि सकेकाले लिग चरणको अन्तिम खेल औपचारिकता लागि मात्रै हुनेछ । प्रतियोगिताको क्वाटर फाईनलका खेल ३० गते हुनेछ । प्रतियोगिताको फाईनल खेल माघ ५ गते हुने भएको छ ।

Blog Post Ad Blog Post Ad