Ad Area

राष्ट्रियसभा उपनिर्वाचन : उम्मेदवारी दर्ता आज


दाङ, ११ माघ । माघ २५ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेदारी दर्ता हुने भएको छ । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय दिइएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन् । उनकाअनुसार जिल्ला अदालतको पुरानो भवन अगाडि उम्मेदवारी दर्ता हुने र दिउँसो ३ देखि ४ बजेसम्म मनोनयन दर्ता भएका उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

लुम्बिनी प्रदेश राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमाले र नेपाली कांग्रेसले उम्मेदारी दर्ता गर्ने भएको छ । जसअनुसार दुवै पार्टी उम्मेदवारको छनोटमा लागेका छन् । राष्ट्रिय सभाका लागि मतदान घोराही स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान हुने भएको छ ।
प्रदेश निर्वाचन कार्यालय दाङकाअनुसार उपनिर्वाचनका लागि माघको १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने र माघको १४ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी माघको १५ गते उम्मेदवारले नामावली फिर्ता लिने, माघको १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कुँवरले जानकारी दिएका छन् । प्रदेशका १ सय ९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ भने एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २÷२ तथा राप्रपा र जनता प्रगतिशीलले १÷१ स्थानमा जितेका छन् ।

यसैगरी ८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा, नागरिक उन्मुक्तिले ४÷४, जसपा, लोसपा, जनमतले ३÷३, जनमोर्चा र नेकपा एसले १÷१ र स्वतन्त्रबाट २ जनाले जितेका छन् । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरूले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad